नेकाँ सभापति शेर बहादुर देउवाको आरोप (भिडियो सहित)

नेकाँ सभापति शेर बहादुर देउवाको आरोप (भिडियो सहित)

काठमाडौं, ०४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड १९ ले पुर्याएको क्षति र भविश्यमा पार्न सक्ने असरको आकलन गर्न नसकेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक बर्ष २०७७÷७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले कोरोनाले पुर्याएको क्षतिको “ज्ञान” नै नभएको टिप्पणी गर्नुभएको हो । उहाँले सरकार जनताको दुखप्रति संवदेनशीलन नभएको तथा उनीहरुको पीडा बुझ्न सक्ने हृदय नै नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञानै छैन । सरकारलाई जनताको दुखप्रति कुनै संवेदना छैन । जनताको पीडा बुझ्न सक्ने कुनै हृदय छैन । सरकारसंग यो अप्ठ्यारो बेलामा भविश्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । ”
उहाँले महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको तथा महामारीको नियन्त्रणको तयारी गर्न सरकार पुर्ण रुपमा चुकेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “एक बर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुबर्षिय योजनाको कोरा कल्पना देखिन्छ । एक बर्षको नीति तथा कार्यक्रममा १० बर्षको योजना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा जगाउन पुर्ण असफल भएको छ । यो सरकार महामारी नियन्त्रण गर्न व्यापक तयारी गर्न पुर्णरुपले चुकेको छ । ”
नेपालमा पहिलो संक्रमित व्यक्ति भेटिएको ४ महिना पुग्दै गर्दा, लकडाउनको पनि ५५ दिन पुग्दै गर्दा परीक्षण बढाउन नसकिएको, स्वास्थ्य उपकरण लगायतका आवश्यक सामाग्रीको उपलब्धताको प्रत्याभुति नहुनु, अस्पतालमा भ्यान्टीलेटर लगायतका आवश्यक उपकरण नहुनु, कोरोना प्रभावितबाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नुहुनु, सिमा बाहिर रहेका नेपालीहरुलाई सुरक्षित घरमा पुर्याउने कुनै योजना नभएकाले जनताले सरकार भएको अनुभति गर्न नसकेको तर्क उहाँले गर्नुभयो ।
“लक डाउनको यो अवधिमा सरकारले के तयारी गर्यो ?” भनी उहाँले प्रश्न गर्नुभयो ।
उहाँले स्वास्थ्य सामाग्रीको प्रबन्ध गर्न, पिसिआर परीक्षणको दायरा बढाउन, मर्कामा परेकालाई राहत दिन र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काएर क्वारेन्टाईनमा व्यवस्थित रुपले राखेर घर पुर्याउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले खाडी मुलुक लगायत विभिन्न मुलुकमा रहेका नेपालीलाई व्यवस्थित रुपमा स्वदेश फर्काई सरकारको कर्तव्य पुरा गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचि उपाय खोजी गर्न र बहुआयामिक प्रभाव सम्बोधन तर्फ गम्भीर बन्न सरकारलाई सुझाउनुभयो ।
उहाँले भन्नुभयो “अहिलेको महामारीले पार्ने बहुआयामिक प्रभावबारे नीति तथा कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन । म सरकारलाई बजेट बनाउदा यी सबै विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्माण गर्न सुझाव दिन्छु । ”
अत्यावश्य सामाग्री औषधी समेतमा भ्रष्टाचार गरिएको भने प्रश्न उठ्दा छानविन गर्नुको सट्टा प्रधानमन्त्री आफैले भ्रष्टाचारजन्य घटनाको बचाउ गर्दै उन्मुक्ति दिने जस्ता घटनाले शुसासन र सदाचारको विषयमा सरकार पुर्ण रुपमा असफल भएको पुष्टि हुन्छ ।
नीति तथा कार्यक्रममा सरकारले आफ्नो प्रसंम्सा गरेको, निकै काम गरेको दाबी गरिएको भन्दै उहाँले प्रधानमन्त्रीले दुई बर्षका नीति तथा कार्यक्रम पुन एकपटक पढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । दुई बर्षको नीति तथा कार्यक्रममा उल्लेखित गरिएका योजना पुरा नभएको तथा कतिपय योजना दोहोर्याईएको भन्दै उहाँले वर्तमान सरकारले समस्यालाई ठिक संगले हेर्न नसकेको दाबी गर्नुभयो । महामारी संगै सरकारले अबलम्बन गरेको लकडाउने उत्पन्न गराएको समस्याको समाधान तर्फ सरकारको नीति तथा कार्यक्रम उन्मुख नभएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “पुराना योजना पनि दोहोर्याउने र महामारी नियन्त्रणका लागि पनि खर्च गर्ने हो भने ती सबैका लागि स्रोत कहाँबाट आउछ ?”
उहाँले कृषि तथा पशुपालन, मत्स्यपालन व्यवसाय लगायतमा परेको असरलाई सम्बोधन गर्ने, उद्योगीलाई राहत दिने, रोजगारी श्रृजना गर्ने तथा स्रोत परिचालन लगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो । सरकारसंग निर्यात बढाउने विश्वसनिय र नया योजना नभएको भन्दै उहाँले सरकारले संचालन गरेका रोजगारका योजनाहरुको गुणस्तर र स्रोत परिचालनको तरिकामा गम्भीर प्रश्न उठेको बताउनुभयो । सबै भन्दा बढी राहत आवश्यक रहेको पर्यटन क्षेत्रलाई पुराना सामान्य किसिमका विषयको पुनराबृत्ति बाहेक कुनै नविन सोच र योजना नभएको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई मुलुकमा अस्थिरता फैलाएको आरोप लगाउनु दुखद एवं प्रेसको स्वतन्त्र भूमिकालाई कुण्ठित गर्ने नियत देखिएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले नेपाली भूमि अतिक्रमण खास गरि लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे नीति तथा कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक घए पनि अपुर्ण भएको टिप्पणी गर्नुभयो । उहाँले दुई छिमेकी मुलुकबीच भएको सहमतिको नेपाली कांग्रेसले तात्कालिन समयमा नै विरोध गरेको र भारतलाई प्रोटेस्ट नोट पठाएको स्मरण गर्दे उहाँले नेपाली भूमीमा बनाईएको सडक बारे चीनसंग पनि उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरि समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

नेकाँ सभापति शेर बहादुर देउवाको आरोप