रामदिन तेली
नेपालगन्ज, १३ मार्ग । संघिय सरकार अर्थात नेपाल सरकारको मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले मार्ग १ गते जारी गरेको सूचना जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडियो) ले निर्देशिका विपरित सूचना जारी भएको भन्दै लागु गर्न नसिकिने बताउनु भएको छ ।
बाँके जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले शुक्रबार राखेको आपतकालिन बैठकपश्चात बाँके सिडियो दिल कुमार तामांग र ध्वनिखबर मिडियाका सम्पादक उदय सिंह श्रेष्ठ बिच भएको छलफलमा बाँके सिडियो तामांगले भन्नु भयो–‘निर्देशिकाको २२ नं. बुँदामा मापदण्ड पालना नगरेको एम्बुलेन्सलाई ५ वर्षको समय दिई बिरामी बोक्ने गाडीको हैसियतले चलाउनु पर्ने उल्लेख गरिएको छ । मापदण्ड पालना नगर्ने एम्बुलेन्सलाई भारत जान रोक लगाउने उल्लेख नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले सूचना जारी गरी रोक्नु निर्देशिका विपरित भएको छ ।’

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ–‘नेपाल बाहिर जुन सुकै देशको लागि संघिय मन्त्रालयले निर्णय लिन्छ । संघिय मन्त्रालयले सूचना जारी गरी कार्यान्वयन गराउन सक्छ । मापदण्ड पालना नगर्ने जुन सुकै एम्बुलेन्सलाई भारत मात्रै नभई चिन देश जान पनि रोक्नु पर्छ । संघिय मन्त्रालयले जारी गरेको सूचना अनुसार सबै प्रदेशका स्वास्थ्य मन्त्रालय र मातहतका स्वास्थ्य कार्यालय र सबै जिल्लाका प्रहरी प्रशासन र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले पालना गर्नु सबैको दायित्व र कर्तब्य भित्र पर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले जारी गरेको सूचना र बाँके सिडियोले निर्देशिका विपरित सूचना भनिएपछि अहिले बाँकेमा रहेका प्रहरी र पत्रकार अन्यौलमा पर्दै कसको सूचना र दाबीलाई स्वीकार गर्ने विषयमा टिकाटिप्पणी शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले जारी गरेको सूचना अनुसार नेपाल प्रहरी आईजिपी सचिवालयबाट जिल्ला प्रहरी कार्यालय, बाँकेमा मापदण्ड पालना नगरेका एम्बुलेन्सलाई भारत जानबाट रोक्ने आदेश जारी भएपछि बाँके एसपी अंगुर जिसीले जमुनाहा इलाका प्रहरी कार्यालयमा आदेश पालना गर्न आदेश जारी समेत गरेका थिए ।
बाँके जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले शुक्रबार राखेको आपतकालिन बैठकमा जुन संस्थाको एम्बुलेन्स हो सोही संस्थामा एम्बुलेन्स राखी संचालन अर्थात विरामीलाई अस्पताल छाडी पुनः आप्mनै संस्थामा फर्किनु पर्ने निर्णय गरिएको बताउँदै बाँके सिडियो तामांगले ‘१० वर्ष पुरानो एम्बुलेन्सको डाटा लिन स्वास्थ्य कार्यालय, बाँकेलाई आदेश दिइएको छ । साथै मापदण्ड पालना नभएको एम्बुलेन्सलाई निर्देशिका २२ नं. को अनुसार बिरामी बोक्ने गाडीको रुपमा राखिने बताइएको निर्णय गरिएको छ’ बताउनु भयो । शुक्रबार समितिले गरेको निर्णय अनुसार मापदण्ड पालना नगर्ने एम्बुलेन्सलाई बिरामी बोक्ने गाडीको रुपमा लिने र एम्बुलेन्स लेखिएको मेटाउनु पर्ने तथा साइरन समेत हटाई चलाउनु पर्नेमा स्वास्थ्य कार्यालयले तर्क अगाडी सारेको छ ।