सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद

सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद

नेपालगञ्ज, जेठ २ गते – कोरोना (कोभिड– १९) को संक्रमण देखीएसँगै बाँकेमा अनेकन चुनौतीहरु थपीदै गएपछि समन्वयतात्मक भूमिकालाई पनि बढाउदै लैजानुपर्ने आवश्यक्ता औल्याइएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि आपसमा प्रभावकारी समन्वयको अभाव भएपछि पछिल्लो चरण सम्वाद समूह बाँकेले सरोकार पक्षसँग नियमित सम्वाद सहजीकरण गर्दै आएको छ । सरोकार पक्षसँग नियमित समन्वय र सम्वाद गर्दै आएको सम्वाद समूह बाँकेको अगुवाईमा आज बाँकेमा उपलव्ध सांसदहरुले प्रमुख जिल्ला अधिकारीलाई भेट गरि कोरोना रोकथाम र नियन्त्रणका लागि सम्वाद गर्नुका साथै आवश्यक ध्यानाकर्षण गराउनु भएको छ । कोरोना संक्रमीत बढ्दै गइरहेका बेला भारतका विभिन्न स्थानबाट सयांैको संख्यामा नेपालीहरु सीमा नाकाबाट प्रवेश गरेपछि सन्त्राससँगै जोखीम र चुनौतीहरु पनि थपीएका छन् । बाँकेमा हालसम्म ३३ जनामा कोरोना पोजेटीभ देखीएको छ तर आम समुदायले लक डाउनको पूर्ण पालना नगरेर अटेर गरेको पाइएपछि थप जोखीम बढेको हो । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकासँग बाँकेका चार सांसदले समसामयिक सार्वजनिक सवालमा करिव एक घन्टा छलफल गरेका थिए । सांसदको सामुहिक भेटमा नेपाल भारत सीमा नाकामा भीत्रीने नेपाली, उद्धार र पुनस्थापना, कोरोना परिक्षणको दायरा र थप प्रभावकारिता, क्वारेन्टाइन व्यवस्थापन र आपसी समन्वयात्मक सहकार्यका विषयमा अन्तरक्रियात्मक सम्वाद गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । सांसदहरुले स्थानीय प्रशासनले सरोकार पक्षसँग प्रभावकारी समन्वय र आवश्यक निर्देशन दिन नसकेका कारण लक डाउन कार्यान्वयन लगायतमा समस्या देखीएको अवस्था दर्शाएका थिए भने प्रमुख जिल्ला अधिकारी खड्काले आवश्यक्ताअनुसार निर्देशन दिइएपनि कतीपय पक्ष सम्वेदनशिल र जिम्मेवार नदेखीएको तर्क पेश गर्नु भएको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि आफुहरुले हर सम्भाव प्रयास गरेको भन्दै सांसदहरुले आवश्यक समन्वय र सहकार्यका लागि थप प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।