रामदिन तेली
नेपालगन्ज, २२ असार । नेपालगन्जको संजिवनी अस्पताल अर्थात नर्सिंग होम अगाडी वडा नं. ११ स्थित पवनदुत फार्मेसीमा औषधी व्यवस्था विभागको भोटे ताल्चा लाग्ने निश्चित भएको छ ।
औषधी बिक्री गर्न अनुमति पाएका मधुसुदन चौधरी लाइन्स नं. डि फार्मेसी ९ब्डठछढ० औषधी व्यवस्था विभाग नेपालगन्जमा लाइसेन्स झिक्नको अनुरोध गरी लिखित निवेदन दिएपछि औषधी बिक्री गर्न अब अर्को लाइसेन्स वाहकले आफ्नो सहमती सहितको लाइसेन्स नबुझाएसम्म पवनदुत फार्मेसी बन्द हुने निश्चित भएको छ ।
औषधी व्यवस्था विभागले भर्खरै छापा मारेपछि मासिक रुपमा तलब दिई लाइसेन्स लिई अधिकांश फार्मेसी लाइसेन्स वाहक बिना नै औषधी बिक्री वितरण गरेको स्रोतले बतायो । औषधी व्यवस्था विभागले भर्खरै छापा मार्ने क्रममा पवनदुत फार्मेसीबाट शंकास्पद ४ प्रकारको औषधी भेटिएको र अनुसन्धान भइरहेको बताएको छ ।
विभागमा दर्ता नभएका औषधी फार्मेसीले बिक्री गर्ने क्रम अत्यधिक बढेपछि फार्मेसी र लाइसेन्स वाहक समेत दोषी हुने र दुबैलाई कारवाही हुन सक्ने कानुनी प्रावधान रहेको बताइएको छ । यसैबिच नेपालगन्जको फार्मेसीमा यस्ता गतिविधि बढेकोले औषधी व्यवस्था विभाग र जिल्ला प्रहरी कार्यालयको संयुक्त टिमले अनुसन्धान गरी कानुनी दायरामा ल्याउने बताएको छ ।
यसैगरी एउटा व्यक्तिको लाइसेन्सबाट २४सैं घण्टा फार्मेसीमा निगरानी बढाउने विभागले बताउँदै २४सैं घण्टा फार्मेसी संचालन गर्ने हो भने ३ जनाको लाइसेन्सको आवश्यकता पर्नुको साथै लाइसेन्स वाहकको उपस्थितीमा औषधी बिक्री गर्नु पर्ने समेत विभागले बताएको छ ।
पवनदुत फार्मेसीको विषयमा औषधी व्यवस्था विभाग नेपालगन्ज प्रमुख निलु श्रेष्ठ भन्नुहुन्छ–‘लाइसेन्स वाहक मधु सुदन चौधरीको निवेदन आएको छ । फार्मेसीलाई पत्र लेख्ने कार्य हुँदैछ । लाइसेन्स वाहकबिना पवनदुत फार्मेसीले पसल खोली औषधी बिक्री गर्न पाउँदैन । अटेर गरे पवनदुत फार्मेसीलाई विभागबाट टोली पठाएर बन्द गराउँछौं ।’