रामदिन तेली
नेपालगन्ज, ३० जेठ । दैलेख निवासी भ्रष्टाचार विरुद्धको अभियान्त बताउने तथा जमुनाहा नाकामा रकम असुलीमा आतंक मच्चाउने भनी चर्चित सूर्यप्रसाद रिजाल सहित ५ जनालाई कोहलपुर इलाका प्रहरी कार्यालयले पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।
पत्रकार बताउने सूर्य रिजालले जमुनाहा नाकामा बसेर प्रहरी लगायत भन्सार कर्मचारीमाथी दबाब दिई चिया नास्ता खानेदेखि रकम असुली गर्ने गरेको गुनासो आईरहेको क्रममा बाँके कोहलपुरस्थित एक मोवाइल पसल संचालकलाई डर धम्की दिई ५ लाख नगद असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको मौखिक आदेशमा घुमुवामा खटिएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी र आफुलाई पत्रकार समेत भन्ने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेमा अध्यक्ष गोविन्द भण्डारीलाई कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई म्याद गराई अनुसन्धान शुरु गरेको छ ।
पक्राउ परेका ५ जना विरुद्ध मोबाइल पसल संचालकले विभिन्न मुद्दामा फसाई दिने धम्की देखाएर पाँच लाख नगद जबरजस्ती असुलेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी लक्ष्मी खनालले जानकारी दिनु भयो । यहाँले भन्नुभयो–‘किटानी जाहेरी परेलगत्तै बाँकेको विभिन्न स्थानमा प्रहरी सक्रिय भई उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरियो ।’
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न रहेका गोबिन्द भण्डारीलाई कोहलपुर–११ गोलपार्कबाट बुधबार साँझ साढे सात बजे पक्राउ गर्रिको, सोही दिन रातीको समयमा आफुलाई पत्रकार बताउने सूर्य प्रसाद रिजाललाई नेपालगन्जको पुष्पलाल चोकबाट पक्राउ गरिएको छ । यसैगरी प्रहरी सहायक हवलदार खान र बर्मालाई पनि सोही दिन पक्राउ गरिएको थियो भने सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरीलाई बिहीबार साँझ मात्र पक्राउ गरिएको जानकारी गराइएको छ ।