रामेश्वर गौतम
नेपालगन्ज, १५ जेठ । जिल्ला प्रहरी कार्यालय, बाँके सिभिल (घुमुवा) प्रहरी नराख्दा नेपाल–भारत सिमा नाकाबाट विगत २ महिनादेखि अत्यधिक मात्रामा तस्करी बढेको छ । नाकामा नेपाल प्रहरी एक्शनमा आउन नसक्दा अहिले नाकामा रहेका सशस्त्र प्रहरीको रजाई जस्तै भएको छ ।
विगतमा जमुनाहा नाकाबाट तस्करी ब्याप्त हुने गरेकोमा अहिले करिब १० महिनादेखि साईगाउँ पचपोखरा, कालाबन्जर र खढैचाबाट अत्यधिक मात्रामा तस्करी हुन लागेको बताइएको छ । जमुनाहा नाका आसपास क्षेत्रबाट तस्करी गर्दा ५ स्थानमा मोटो रकम बुझाउने भएकोले तस्करहरु साईगाउँ पचपोखरा, कालाबन्जर र खढैचाको नाका प्रयोग गर्ने गरेको बताइएको छ ।
नेपालगन्ज भन्सार आईसिपीमा रहेको सशस्त्र प्रहरी बलको गुल्मले विभिन्न नाकामा कडाई गर्नु पर्नेमा उनीहरुको संरक्षणमा ठुलो तस्करी हुने गरेको पाइएको छ । बाँकेमा अहिले साईगाउँको पचपोखराबाट अत्यधिक मात्रामा तस्करी हुने गरेको पाइएको भएपनि साईगाउँस्थित नेपाल प्रहरीको चौकीले पनि खासै तस्करी रोक्ने प्रयास समेत नगरेको पाइएको छ ।
पचपोखरा नाकाबाट नेपालबाट कबाड लगायत विभिन्न सामानहरु अवैध रुपमा खुलेआम निर्यात हुँदा सशस्त्र प्रहरी गुल्मले एक्शन नलिएको देखिएको छ भने यसरी खुलेआम भारतबाट विभिन्न सामानहरु सशस्त्र प्रहरी गुल्मको संरक्षणमा तस्करी भइरहेको स्थानियको भनाई रहेको छ ।
नेपालगन्जमा दैनिक एक लाखको हाराहारीमा ब्वाइलर चल्लाको डिमाण्ड रहेको तथा नेपालगन्जमा त्यत्तिको संख्यामा उत्पादन हुन नसक्ने भएकोले भारत तर्फबाट पचपोखरा र कालाबन्जर नाकाबाट ठुलो मात्रामा ब्वाइलर चल्ला तस्करी हुने गरेको स्थानियले बताएपनि कहिलेकाही सुरक्षाकर्मीले ४–५ हजार चल्ला बरामद गरेको नाटक मात्रै गरेको पाइएको छ ।
बुधबार दिउँसो भारतबाट ४ थान एसी मोटरसाइकलमा नेपाल भित्रियो भने नेपालबाट लाखौं रकमको कबाड भारततर्फ जाँदा पनि नेपालगन्ज भन्सार आईसिपीमा रहेको सशस्त्र प्रहरी बलको गुल्मले खासै एक्शनमा आएको छैन ।
सशस्त्र प्रहरी स्रोतका अनुसार तस्करबाट मासिक लाखौं रकम उठाउनेसँगै आपसी चिया गफमा ‘आफु मात्रैले खाएको छैन, सबैले खाएका छन्, आफु फसे सबैको नाम भन्छु’ भन्ने खालको धम्की दिने गरेकोले सबै जना तै चुप मैं चुप भएका हुन भन्ने जानकारी आएको छ ।
सशस्त्र प्रहरी स्रोतले दाबी गर्दै भन्यो– ‘सशस्त्र प्रहरी बल ३० नं. गणका एसपी शोभाकान्त खनाल अनुगमनमा हिड्दा पुर्व नेपालगन्ज भन्सार आईसिपीमा रहेको सशस्त्र प्रहरी बलको गुल्मको सेटिंगमा रहेका सशस्त्र प्रहरीले जानकारी दिने गरेको तस्करी रोकिने कार्य भएको छैन ।’
यता जिल्ला प्रहरी कार्यालय बाँकेले विगत लामो समयदेखि सिभिलमा प्रहरी टोली नराख्दा नाकामा अत्यधिक रुपमा तस्करी बढेको पाइएको छ भने नेपाल प्रहरीको विभिन्न स्थानमा रहेको चौकीले पनि तस्करी रोक्न कुनै पहल भने गरेको देखिदैन ।