काठमाडौं, १४ असोज्र । नेपालगन्जस्थित जमुनाहा वडा नं. १५ सडक विभागको स्वामित्वमा रहेको जग्गामा नेपालगन्ज उपमहानगरपालिकाले नियम मिच्दै लगाएको पार्किंग ठेक्काको समय सिधिएपनि मेयरको ठाडो आदेशमा आज सोमबार पनि अवैध रुपमा असुली कायमै रहेको पाइएको छ ।

सडक विभागको स्वामित्वमा रहेको जग्गामा कुनै पनि तहका सरकारले उपभोग गर्न नपाउने तथा ठेक्कामा लिनदिन नपाउने मापदण्ड भएपनि नेपालगन्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरी वडा नं. १५ जमुनाहा क्षेत्रमा ई–रिक्सा पार्किंगको ठेक्का दिएकोमा २०७९ असोज १४ गतेदेखि २०८१ असोज १३ सम्म अर्थात दुई वर्षको लागि ठेक्का सहमती गरेकोमा आजपनि अवैध रुपमा असुली कायम राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारीले सडक विभागको स्वामित्वमा रहेको जग्गामा ठेक्का लगाई वा उपभोग गर्न तत्काल बन्द गर्नु पर्ने भनी आदेश दिएलगत्तै सरुवा हुँदा आदेशको पालना नभएको बताइएको छ । यसैगरी सडक विभागको स्वामित्वमा रहेको जग्गामा ठेक्काको विषयमा हेलो सरकारले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई ध्यानाकर्षण पत्र पठाउँदा पनि अवैध रुपमा असुली कार्य भने नरोकिएको ई–रिक्सा व्यवसायीले बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको ठाडो आदेश –‘असोज १४ गते सम्झौता भएकोमा १४ गतेसम्म पार्किंग शुल्क उठाउन दिनु’ जारी भएपछि स्थानिय प्रहरी प्रशासन भने मौन रहेको देखिएको छ ।
यसैगरी यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले अनुसन्धान थालिएको जनाएको छ ।



नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षको सम्झौता गरी स्नेहा मानव कोल्ड स्टोरको नाममा ठेक्का दिएको थियो भने संचालक कुमार सिंह ठकुरी र सकिल अन्सारी लगायत १५–२० जनाको समूहले २०८० साउन ९ गते करिब ३ बजे ३७ वर्षकी महिला कौशिला बस्नेतमाथि कुटपिट र लुटपाट गरेको बिषयमा उजुरी पर्दा ती व्यक्तिहरुको नाममा पक्राउ पुर्जी जारी भई फरार समेत भएका थिए ।