काठमाडौं, ०५ भाद्र । बाँके जिल्लामा सिलसिलेवार तरिकाले अपराधिक घटना भइरहँदा पनि जिल्ला प्रहरी कार्यालय, बाँकेले शान्ति सुरक्षामा ध्यान नदिँदा जनता नै नेपाल प्रहरीबाट असुरक्षित महसुस गर्न थालेको जनगुनासोमा बृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा सरुवा भई हाजिर गरे लगत्तै बाँके सिडियो खगेन्द्र रिजाल जनताहरुमाझ भिजेर शान्ति सुरक्षा कायम गरी भाइचारा भावनाको विकासमा तल्लिन भएता पनि शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरी नै गम्भिर नहुँदा अहिले जिल्लाको स्थिती भयावह रहेको जनताले गुनासो गर्न थालेका छन् ।

नेपालगन्ज जमुनाहामा बरामद लाखौं नगर लुटपाट लगायत विभिन्न हत्या काण्डमा बाँके प्रहरीले अनुसन्धान गर्न असक्षम भएलगत्तै गुण्डाहरुको मनोबल बढी भर्खर ज्यान जाने गरी दुई युवकमाथि गरिएको आक्रमणले बाँके प्रहरी सत प्रतिशत असक्षम भएको पुष्टि भएको भन्दै जनताले आक्रोश समेत पोखेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा काजमा सरुवा भई गएका एसपी तुल बहादुर कार्की र डिएसपी नारायण डाँगी पूर्ण रुपमा असक्षम भएको गुनासो गृह मन्त्री, गृह सचिव र आईजीपीलाई गुनासो गर्दा पनि कुनै ठोस कदम भने नचालिएको जनताको गुनासो यथावत नै रहेको बताइएको छ ।
आक्रोशित बाँके जनता भन्छन्–‘बाँके एसपी र डिएसपीद्वयले गुण्डाहरुको मनोबल बढाउन गरेको आन्तरिक सहयोगको कारण जिल्लामा गुण्डाराज मौलाएको छ । यी दुई जना अधिकारीलाई कारवाही गरी जिल्लाबाट नहटाएसम्म जिल्लामा शान्ति हुँदैन ।’
भर्खरै भएको युवकमाथि गरिएको आक्रमणमा परी घाइतेका परिवारले बाँके प्रशासनमा ध्यानाकर्षण पत्र बुझाइन । ज्यान मार्ने गरी गरिएको घटना भएकोले सरकारी वकिल कार्यालय र सम्मानित अदालतबाट नै कारवाही हुने भएकोले बाँके सिडियो रिजालले चाहेर पनि केही गर्न नसक्ने अवस्थामा देखिएका छन् । जिल्लामा शान्ति सुरक्षाको लागि बाँके प्रहरीले कुनै कदम नचालेकोले प्रहरीप्रति रुष्ट नै देखिएको बताइएको छ ।