काठमाडौं, २८ जेठ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन र आईजीपी सचिवालयले दिएको आदेशको ठाडो उल्लंघन गर्दै लुम्बिनी प्रदेश अन्तरगत जिल्लाहरुमा अघोषित घुमुवा प्रहरीलाई बर्दीमा खटाइरहेको अवस्थामा बाँके प्रहरीमा ५ र बाँके प्रहरी मातहतका कोहलपुर इलाका प्रहरी कार्यालयमा ४ जना गरी ९ जनालाई सादा पोशाक अर्थात घुमुवामा खटाइएकोमा अहिलेसम्म ती घुमुवाहरुलाई हटाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डिआईजी कुबेर कठायतले कुनै पनि कडा आदेश दिनु भएको छैन ।
ध्वनिखबर डटकम लगायत नेपालगन्ज स्थित स्थानिय मिडियाले बाँके जिल्लामा रहेका घुमुवा प्रहरी नहटाएको विषयमा पटक पटक समाचार सम्प्रेषण गर्दा पनि लुम्बिनी प्रदेश डिआईजी कठायतले भने अहिलेसम्म अघोषित रुपमा राखिएको घुमुवा प्रहरीलाई बर्दीमा ड्युटी गराउन कुनै पनि आदेश नदिएको प्रहरी स्रोतले जनाएको छ ।
उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन र आईजीपी सचिवालयले दिएको आदेश पश्चात लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेश अन्तरगतका १२ जिल्ला प्रहरी कार्यालयहरुलाई सम्बोधन गरी सादा पोशाक अर्थात घुमुवा प्रहरीमा प्रहरीलाई नखटाउने भनी संचार पठाएको थियो भने उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन, आईजीपी सचिवालयको आदेश र प्रदेश कार्यालयको संचारको ठाडो उल्लंघन गरी बाँके प्रहरी र बाँकेस्थित कोहलपुर इप्रकाले घुमुवा राख्ने कार्य यथावत नै राखिएको पाइएको छ ।
घुमुवा प्रहरीहरु नाका र बजारमा गई सामानको खानतलासी गर्ने, जनता र व्यापारीहरुलाई अनावश्यक दुख दिने लगायत घुमुवा प्रहरीबाट आंतक नै सृजना गरेको गुनासो र दुखेसोसँगै घुमुवा प्रहरीबाट मोटो रकम आम्दानी हुने चर्चासँगै लुम्बिनी प्रदेश डिआईजी कठायतले ‘तै चुप मैं चुप’ को नीति अपनाउँदै जिल्लाहरुमा अघोषित घुमुवा खटाउँदा पनि केही चाल नगरेको बुद्धिजीविहरुले बताएका छन् ।