काठमाडौं, २३ चैत्र । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको नीति लक्ष्य अनुसार बाँकेका प्रहरी उपरिक्षकले काम गर्दा अवैध धन्दामा संलग्न समूहहरु एक भई सामाजिक संजालमा एकोहोरो प्रहार गरेको देखिएको छ ।
उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको नीति अनुसार बाँके जिल्लामा अवैध कार्य तस्करी, अवैध तरिकाले राजस्व ठग्नेदेखि गैर कानुनी रुपमा क्यासिनो संचालनमा रहेका समूह, खोला दोहन गर्ने समूहको एक झुण्ड मिलेर कसरी हुन्छ बाँकेका एसपी सुबास चन्द्र बोहरालाई सामाजिक संजालमा बदनाम गराई बाँकेबाट सरुवा गराउने रणनीतिमा लागेको स्रोतले बताएको छ । स्रोत भन्छ–‘नेपालगन्जमा संचालित एक क्यासिनोले रु. १७ करोड राजस्व ठगी गरेको विषयमा राजस्व अनुसन्धान विभागमा सुक्ष्म अध्ययन भई रहेको छ ।’
अवैध कार्य गर्ने समूहले शुरुमा निहुँ खोज्दै दर्ता नभएको अवैध केही अनलाइनबाट एसपी बोहराको बदनाम गराउने प्रयास असफल भएपछि राजनीति मोड दिँदै सामाजिक संजालमा बदनाम गराउने चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको पाइएको छ ।
यस विषयमा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष विपुल पोखरेल भन्नुहुन्छ–‘दर्ता भएका वा नभएका कुनै पनि मिडियाले कसैको पनि चरित्र हत्या गर्न मिल्दैन । यदि कोही कसैले गर्छ भने प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाउन सक्छ ।’
गृह मन्त्रीको कडा आदेश निर्देशनबाट बाँकेमा मात्रै करोडौंको अवैध सामान बरामद गरेको छ । बाँकेमा अवैध कार्र्य रोक्न अहिले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी, सशस्त्र प्रहरी बल ३० नं. का एसपी र राष्ट्रिय अनुसन्धान कार्यालयका एसपी एक भएर लागेको बाँकेबासीले समेत महसुस गरेका छन् ।
गृह मन्त्रीको नीति अनुसार जुन रुपमा कडाई हुनु पर्नेमा पूर्ण रुपमा नभएको बृद्धिजीविले बताएका छन् । बाँके जिल्लाका बुद्धिजीविको समूह भन्छन–‘सरकारले भारतीय रु. ५०० र रु. २०० को नोटमा पूर्ण प्रतिबन्ध लगाएकोमा क्यासिनो लगायत विभिन्न स्थानमा खुलेआम कारोबार हुँदा प्रहरीले सक्रियताका साथ रोक्न नसकेको र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको साथमा रहेको प्रतिबन्धित नोट खानतलासी गर्न नसकेको । यसैगरी क्यासिनोमा जुवा खेल्न जाने अधिकांश नेपाली नागरिकले भारतमा चालक अनुमति पत्र र आधार कार्ड देखाएर जुवा खेल्न जाने गरेको विषयमा सुक्ष्म अनुसन्धान गरेको छैन ।’
बाँके प्रहरीले नाकादेखि भित्रसम्म सबै तर्फ कडाई गरेपछि अवैध रुपमा आम्दानी गर्न नसकेका समूहले झुण्ड बनाई सामाजिक संजालमा एसपी बोहरालाई बदनाम गराउनेमा सक्रिय देखिएका छन् । यसका साथै अनुसन्धानको क्रममा एक चौकीका इन्चार्जलाई हटाई दरबन्दी भएको स्थानमा पठाउन खोज्दा प्रहरी प्रधान कार्यालयले त्यस्ता प्रहरीलाई पुनः बाँके जिल्लामा काज सरुवा गरेकोले अवैध कार्यमा प्रहरी प्रधान कार्यालयका केही अधिकारीको समेत संलग्नता हुन सक्ने प्रहरी अधिकारीले आशंका ब्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयका केही प्रहरी अधिकारी भन्छन् –‘गृह मन्त्री ज्यूले कडा निर्देशन दिई जुन प्रहरीको जहाँ दरबन्दी छ, काज सरुवा गर्ने सिस्टमलाई खारेज गरी त्यही नै पठाउनु पर्छ । यसो गर्दा अवैध रुपमा अवैध धन्दाबाट असुली गर्ने प्रहरीको आम्दानी सुक्छ र माथिल्लो अधिकारीलाई दिइने उपहारमा पनि ह्रास आउन सक्छ ।’