काठमाडौं, १७ फागुन । नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाबाट नेपालगन्ज नगरलाई ‘क्यासिनो हब’ बनाउने भनी पारित गरेपछि नेपालगन्जमा विभिन्न बुद्दिजीवि वर्गले तितो शब्दमा टिकाटिप्पणी गरेको पाइएको छ ।
बाँकेका बुद्धिजीवि एवम् बाँके एमालेका बरिष्ठ नेता मधुसुदन शर्माले नेपालगन्ज सहरलाई ‘क्यासिनो हब’ भनेर गर्व गर्ने नेपालगन्ज उपमहानगरपालिकालाई कटाक्ष मार्दै क्यासिनो भनेको बेश्यावृत्ति तथा यौन धन्दाको केन्द्र भन्दै कटाक्ष हान्दै सामाजिक संजालमा टिकाटिप्पणी गरेका छन् ।

एमाले बरिष्ठ नेता शर्माको टिकाटिप्पणी आएपछि नेपालगन्ज नगरमा बसोबास गर्ने सभ्य समाजलाई बदनामी महसुस भएको जानकारी आएको छ । एमाले बरिष्ठ नेता शर्माको टिकाटिप्पणी आएको २४ घण्टा नबित्दै क्यासिनोको लागि होटल भाडामा दिएको मालिक परिवारप्रति पनि नकारात्मक टिकाटिप्पणी गर्नु साथै त्यस्तै नजरले हेर्न थालिएको स्थानियबीच चर्चा चल्न थालिएको छ । यौन धन्दा गराई कमाई खाने परिवारप्रति नेपालगन्ज नगरमा नमात्रै नभएर विश्वमैं नकारात्मक दृष्टि हेर्ने गरेको पाइएको पनि छ ।
नेपालगन्जमा संचालित क्यासिनोबाट नेपाल सरकारले प्रतिबन्धित लगाएको भारतीय नोटको खुलेआम कारोबार र गुण्डाशैलीमा प्रहरी प्रशासनलाई मोटो रकम दिई अवैध लाइभ गेमिंग खेलाउने विषयमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुँदासम्म बाँके प्रहरी प्रशासनले कुनै वास्ता नगरेपछि गैर कानुनी रुपमा क्यासिनो संचालन गर्नमा क्यासिनो मालिकको मनोबल बढेको स्थानिय बृद्धिजीविको भनाई रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाबाट नेपालगन्ज नगरलाई ‘क्यासिनो हब’ बनाउने निर्णय : नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको केही क्यासिनोमा शेयर रहेको अपुष्ट खबरको साथै उहाँकै ससुरा धम्बोझीस्थित सिटी प्यालेस होटलमा संचालित क्यासिनो जागिर (नोकरी) गरेको कारण क्यासिनोका मालिकको दबावमा नगरसभाबाट जबरजस्ती नेपालगन्ज नगरलाई क्यासिनो हब बनाउने निर्णय गराइएको अधिकांश नगर सभा सदस्यले कानेखुशी गरेको समेत पाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले जिल्ला प्रशासन कार्यालय बाँकेको मुद्दा फाँटलाई नगर प्रहरीबाट घेराउमा राखी प्रमुख जिल्ला अधिकारीमाथि दबाव सृजना गरी लुटपाटमा आरोपितहरुको रु. ५० हजार बिगो रकम घटाएको खबर पीडितबाट सार्वजनिक भएपछि क्यासिनोमा मेयरको आशिर्वाद भएका कारण स्थानिय प्रहरी प्रशासनले हात हाल्न नसकेको विषयमा स्थानियले टिकाटिप्पणी गरेको पाइएको छ ।
नेपालगन्जमा संचालित क्यासिनोमा दैनिक नेपाली जुवा खेल्न जाने तथा अवैध रुपमा प्रतिबन्धित भारु नोटको कारोबार तथा लाइभ गेमिंग हुँदा पनि प्रहरीले छापा मार्न सकेको छैन । नेपालगन्ज नगरका बृद्धिजीवि भन्छन्–‘स्थानिय प्रहरी प्रशासनले साच्चिकै इमानदारिता देखाउने हो भने सर्वप्रथम भारतबाट क्यासिनोमा जुवा खेल्न आउने जुवाडीको खानतलासीमा सशस्त्र प्रहरी बल जमुनाहा विओपीले कडाईका साथ प्रतिबन्धित भारुको खानतलासी गर्नु पर्छ तथा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा कार्यरत नभई नेपाल तथा सशस्त्र प्रहरी बलको गणमा बसेका प्रहरीको सहयोगमा स्थानिय प्रशासनको इमानदार टिम निर्माण गरी क्यासिनोमा दैनिक छापा मार्नु पर्छ ।’