नेपालगन्ज, १२ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा (साँसद) पदका उम्मेदवार डा. धवल सम्शेर राणाले निर्वाचन आयोगको आचारसंहितालाई बेवास्ता गरी नगद रकम वितरण गरी आचारसंहिताको ठाडो उल्लंखन गरेका छन् भने यस विषयमा बाँके स्थित निर्वाचन कार्यालयले अहिलेसम्म कुनै ठोस कदम भने चाल्न सकेको छैन ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता ‘परिच्छेद–४ (१२) को झ अनुसार कुनै क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने’ उल्लेख भएतापनि बाँके क्षेत्र नं. २ बाट राप्रपाको तर्फबाट सांसदका उम्मेदवार डा. राणाले नेपालगन्ज उपहानगरपालिका वडा नं. २० मा घरदैलो गर्ने क्रममा खुलेआम नगद वितरण गरेका छन् ।
डा. राणाले नगद वितरण गरेको भिडियो सार्वजनिक भई भाइरल समेत हुँदा पनि बाँकेस्थित निर्वाचन कार्यालयले भने कुनै एक्शन भने लिएको छैन ।