काठमाडौं, ०४ मार्ग । भारत सरकारको अधिनमा रहेका भारतीय भूमिमा गुढ्ने सार्वजनिक सवारी साधनको अवैध रुपमा नेपाल–भारत बोर्डरका जिल्लाहरुमा खुलेआम टिकट काउण्टर संचालनमा हुँदा स्थानिय प्रहरी प्रशासनले कारवाहीको लागि अहिलेसम्म कुनै ठोस कदम चालेको भने देखिएको छैन ।भारतीय सवारी साधनको हकमा नेपालमा खोलिएका अवैध टिकट काउण्टरको विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक गोकर्ण हमाल भन्नुहुन्छ–‘नेपाल–भारतबिच संचालनमा रहेका मैत्री बसको टिकट नेपाल र भारतमा टिकट काउण्टर खोल्न पाइन्छ । तर भारतमा गुढ्ने सार्वजनिक सवारी साधनको हकमा नेपालमा टिकट काउण्टर संचालनमा आउनु अवैध मानिन्छ । यस्ता टिकट काउण्टरहरुलाई कारवाहीको लागि नेपाल प्रहरीले चासो लिई कानुनी दायरामा ल्याउनु पर्छ । यस्ता टिकट काउण्टर पूर्ण रुपमा अवैध हो ।’
नेपाल सरकारको कानुनमा यस्ता कार्यहरु अवैध मानिएको भएपनि नेपालगन्ज क्षेत्रमा भने बोर्डरमा तैनाथ रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुलाई मासिक रकम दिई संचालनमा आएको व्यापक रुपमा चर्चाको विषय बन्न थालेको छ ।
नेपाल–भारत बोर्डर अन्तरगत नेपालगन्जको बोर्डर बजार रुपैडिहाबाट गुजरात जाने लगायत अन्य बस समितिले जमुनाहा, बसपार्क, होटल सिद्धार्थ कटेजको अगाडि खुलेआम अवैध रुपमा टिकट काउण्टर खोली संचालनमा रहेको स्रोतले दाबी गरेको छ । कम्पनी रजिष्टारबाट यातायात व्यवसायको फर्म दर्ता गराई र दर्ता नगराई नै खुलेआम टिकट काउण्टर संचालनमा हुँदा पनि प्रहरीलाई खबर हुँदाहुँदै पनि बेखबर जस्तै देखाई कारवाही र छानबिन गर्न भने पछि हट्ने गरेको पाइएको छ ।
अवैध रुपमा टिकट काउण्टर संचालनमा रहनुका साथै पुष्पलाल चोकमा रहेका केही होटलहरुले पहाडी क्षेत्रबाट भारतका काम गर्न जाने नेपालीहरुलाई डाइरेक्ट बोर्डर पारीबाट बसका दलाललाई बोलाई जिम्मा लगाई पठाउने गरेको समेत पाइएको छ । यसरी डाइरेक्ट यात्रुहरुलाई भारतीय बसका दलाललाई जिम्मा लगाएवापत प्रति यात्रुबाट रु. पाँच सयका दरले कमिशन लिने गरेको समेत स्रोतले दाबी गरेको छ ।
नेपाल–भारत बोर्डर मध्ये जिल्ला मध्ये नेपालगन्जमा करिब एक दर्जन त्यस्ता टिकट काउण्टरहरु संचालनमा रहेको पाइएको छ भने करिब एक महिना अघि नेपालगन्जको पुष्पलाल चोकमा ड्युटीमा रहेका प्रहरीले त्यस्ता टिकट काउण्टरलाई बन्द गर्न खोज्दा दुई घण्टामै दबाव आएपछि प्रहरी मौन बसेको चर्चा भने अहिलेसम्म सेलाएको छैन ।

नेपालगन्जमा अवैध रुपमा स्वर्गद्वारी यातायात प्रालि, सिस्ने हिमाल यातायात, अम्बिकेश्वरी यातायात, पशुपति पञ्चकुला यातायात लगायत एक दर्जनको हाराहारीमा भारतीय सार्वजनिक सवारी साधनको टिकट काउण्टरहरु संचालनमा हुँदा पनि बाँके प्रहरी प्रशासनले अहिलेसम्म कुनै पनि किसिमको ठोस कदम भने चालेको छैन ।