काठमाडौं, २७ कात्तिक । बाँके जिल्लामा रहेको अधिकांश खोलाहरुबाट हाई कमाण्डको सेटिंगमा बालुवा गिट्टी अर्थात खोला दोहन हुने कार्य सुचारु भएको प्रमाणसहित जानकारी आएको छ ।
बाँकेको कम्दीबाट करिब ४ किलोमिटर टाढा ढलैया खोलामा दिनदहाडै खोलामा जेसिभी राखी खोला दोहन भईरहेको विशेष स्रोतले जानकारी दिएसँगै सशस्त्र प्रहरी बल ३० नं. को बिशेष टोली पुग्ने क्रममा भागेको बताइएको छ ।
बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आएपछि अवैध क्रसर उद्योग र खोला दोहनमा बिशेष चासोका साथ हेरिएकोमा अहिले खुलेआम दिनदहाडै खोला दोहन कार्य भईरहेकोमा मौन देखिनुले आशंका समेत उत्पन्न हुन थालेको अधिकांश जनताको भनाई रहेको छ ।
आज करिब ११ बजेको आसपास ढलैया खोलामा जेसिभी लिएर खोला दोहन भईरहेको जानकारी आउनुको साथै सशस्त्र प्रहरीको विशेष टिमलाई समेत जानकारी आएको प्रमाण भेटिएको छ ।
सशस्त्र प्रहरीको उक्त बिशेष टिमले ध्वनिखबरसँग भन्यो–‘ढलैया खोलामा जेसिभीको सहायतामा खोला दोहन भइरहेको सुराकीले हामीलाई पनि जानकारी दिएको छ । हामी गयौं भने खोला वारी करिब २ किलोमिटरमा उनीहरुको मान्छेले जानकारी दिने र खोलाबाट जेसिभी हटाइहाल्छन् । ध्वनिखबरको अनुरोधमा हामी पुग्छौं, केही घण्टा बस्छौं । रंगेहात समाउन नसके खोला दोहन गर्ने गिरोहलाई भगाउँछौं ।’
खोला दोहन भइरहेको तथ्य एउटा सुरक्षा टिमलाई थाहा हुन्छ तर बाँके सिडियो कुरुम्बाङ भने यस तर्फ चासोका साथ कडाई गर्न नसकेको कम्दीका अधिकांशले बताए ।
उक्त एरियामा खोला दोहन कार्यमा गंगापुर क्षेत्रको नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथै कम्दी इलाका प्रहरी चौकीको समेत सलंग्नता रहेको भ्वाइस रिकर्ड समेत प्राप्त भएको छ । उक्त भ्वाइस रिकर्डमा बाँके जिल्लाको कम्दी नजिक राप्ती पुलको करिब ९ सय मिटरमा पर्ने होटलमा नेपालगन्जको एक जना पत्रकार समेत आइरहनुको साथै भेटघाट हुने गरेको उल्लेख छ ।
ध्वनिखबरको कार्यालयमा सुरक्षित राखिएको भ्वाइस रिकर्ड अनुसार खोला दोहनमा भित्री रुपमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत सव इन्सपेक्टरको संलग्नता देखिएको छ भने उक्त एरियाको सुरक्षाकर्मी र एक पत्रकारको संलग्नता रहेको प्रमाणित भएको छ ।
खोला दोहन गर्ने गिरोहको अनुरोधमा कम्दी क्षेत्रको एक व्यापारीले ध्वनिखबरमा टेलिफोन गर्दै भने –‘दाई यहाँ सबैको मिलेमतो छ । प्रहरी प्रशासन र एक पत्रकारको समेत सहयोग छ । तपाई पनि किन विरोध गर्नु हुन्छ । सबैले मिलीबाँटी खाऔं न ।’
यसैगरी बाँके जिल्लामा भईरहेका तथा हुने गरेका गलत कार्यको पर्दाफास गर्ने पत्रकारलाई विभिन्न बहानामा मानसिक तनाव दिनुको साथै बाँके प्रशासनले टार्गेटमा राखिएको भ्वाइस रिकर्ड पनि ध्वनिखबरको कार्यालयमा सुरक्षित राखिएको छ ।