जुवाडेलाई म्याद थप्दै बार्गेनिङको चलखेलको चर्चा ?

जुवाडेलाई म्याद थप्दै बार्गेनिङको चलखेलको चर्चा ?

काठमाडौं, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी ओमबहादुर रानाको अगुवाई र कमाण्डमा गत बुधबार करिब ३० लाख सहित जुवा खेली रहेको अवस्थामा १० जना जुवाडे पक्राउपछि बाँके जिल्ला मात्र नभई देशब्यापी रुपमा चर्चा पायो । बुधबार राती करिब ८.३० बजे प्रहरीले पक्राउपछि ठुला ठुला शक्तिको सिफारिस र दबावका बावजुद आज १२ दिन पुग्दासम्म बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एपसी राना टसमस नभई कानुनन् अगाडि बढ्दै गएको कारण ठुला शक्तिहरु भने अहिले मौन जस्तो देखिएका छन् ।
हुन त बाँके जिल्लामा ठुलो रकम पक्राउ सहित रंगेहात पक्राउ परेको सम्भवत यो पहिलो घटना हो । साथै विगतका दिनहरुमा जुवाडेहरुलाई पक्राउ गर्ने काम हुनुको साथै अधिकतम ५ दिनभित्र प्रहरीले मिसिल सरकारी वकिल कार्यालयमा बुझाउने गरेको पनि थियो । तर अहिलेको यो घटनामा दुई पटक म्याद थपिनु तथा आज करिब १२ दिनसम्म प्रहरी खोरमा जुवाडेहरुलाई राखिनुले विभिन्न खाले टिकाटिप्पणी हुन थालेको छ ।
हिन्दुहरुको दोसो महान चाड दिपावली नजिकिंदै गरेको अवस्थामा बाँके प्रहरी प्रशासनले उनीहरुको पुनः तेस्रो पटक म्याद थप गर्ने सोचमा रहेको स्रोतले बतायो । स्रोत भन्छन–‘खोरमा रहेका जुवाडेहरुलाई तिहारमा पनि खोरमा राखिने बाँके प्रहरी प्रशासनको सोच रहेको छ । विभिन्न मिडियाहरुले विभिन्न खाले टिकाटिप्पणीसहितका समाचार प्रकाशित गरेपछि बाँके प्रहरी प्रशासन अझै कडा रुपमा प्रस्तुत भएको छ ।’
बाँके प्रहरीले पक्राउ गरेका सबै जुवाडेहरुको बयान लिने र अनुसन्धान गर्ने कार्य सिधिएपनि अझै डोकुमेन्ट तयार हुँदैछ भन्दै ती जुवाडेहरुलाई खोरमा राखिएको छ भने जुवाडेहरुसँग बार्गेनिङ हुने कार्य जारी रहेको र बार्गेनिङको निश्चित बिन्दुसम्म नआएकोले जुवाडेहरुको फाइल सरकारी वकिल कार्यालयमा नपठाएको आरोप समेत अहिले जिल्लामा व्यापक रुपमा चर्चा पाएको छ । यहाँसम्म की जुवाडेहरुसँग ठुलो शक्ति केन्द्रले बार्गेनिङ गरी रहेको र अहिलेसम्म बार्गेनिङ नमिलेको कारण बाँके प्रहरी प्रशासनलाई खोरमैं राख्नु भन्ने दबावमूलक आदेशको कारण पनि जुवाडेहरु अहिलेसम्म खोरमा रहेको चर्चा पनि चलेको पाइएको छ ।
जुवाडेहरुको घटनालाई लिई विभिन्न एंगलबाट बाँके जिल्लामा केही दर्ता नभएका अवैध अनलाइनले समेत प्रहरी प्रशासन विरुद्ध कपोकल्पित र टेबुलमा बसी समाचार प्रकाशित गरी चरित्र हत्या गरेको समाचारले समेत मिडियाप्रति जनता र प्रहरी प्रशासनको विश्वास गुम्दै गएको समेत पाइएको छ । दर्ता नभएका अनलाइनको बिषयमा प्रेस काउन्सिल नेपालले महानगरीय अपराध महाशाखा काठमाडौंमा समेत पत्राचार गरेको बताइएको छ । यस्ता अनलाइन मिडियाले नेपाल कानुन अनुसार दर्ता नगरी समाचार सम्प्रेषण गर्न हुँदैन भन्दै कानुनी कारवाहीको लागि कदम चालिने महानगरीय अपराध महाशाखाले बताएको छ ।


साथै बाँके प्रहरी प्रशासनले जुवाडेहरुलाई तारिखमा तारिख थप्ने नीतिका कारण पनि दिनप्रति दिन विश्वास गुम्न थालेका स्थानिय जनताको भनाई समेत रहेको छ । अधिकांश जनता भन्छन्–‘दसैं तिहारमा सामान्य रुपमा जुवा खेल हुन्छ । हुन त यो गलत कार्य हो । गलत गरेपछि जुवाडेहरुले कानुनन् सजायँ पनि पाए, शायद विस्तारै जिल्लाभित्र जुवा कम होला । बाँके प्रहरी प्रशासनले गरेको यस्ता कार्यबाट भने अधिकांश जनता खुशी नै छन् । तर सामान्य जुवा खेलमा जघन्य अपराध जस्तै बाँके प्रहरी प्रशासनबाट गरिएको यस्तो व्यवहार कदापी राम्रो चाहि होइन ।’