नेपालगन्जको जुवाडे पक्राउले राजधानीमा तरंग : प्रहरी संगठनभित्र एसपी रानाको वाहीवाही

नेपालगन्जको जुवाडे पक्राउले राजधानीमा तरंग : प्रहरी संगठनभित्र एसपी रानाको वाहीवाही

काठमाडौं, १४ कात्तिक । नेपालगन्ज बसपार्क क्षेत्र नजिक नेपाल प्रहरीको पुर्व असईको घरमा एसपी ओम बहादुर राना लगायतको टिमले छापा मार्दा करिब ३० लाख नगद सहित १० जना करोडपति जुवाडे पक्राउ पछि अहिले राजधानीस्थित नेपाल प्रहरी संगठनभित्र निकै चर्चा पाएको छ ।
राजधानीको नेपाल प्रहरी प्रधान कार्यालय र मेट्रो अन्तरगतका सबै युनिटहरुमा नेपालगन्जका जुवाको विषयमा चर्चा हुने गरेको पाइएको छ । हुन त अहिलेसम्मको नेपालगन्जको इतिहासमा यति ठुलो रकमसहित जुवाडे पक्राउ परेको सम्भवत पहिलो नै मानिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपीको सेटिंगमा नेपालगन्जमा खुलेआम जुवा हुने गरेको मिथ्या आरोप लगाई विभिन्न मिडियाले समाचारबाजी गरेपछि एसपी रानाले विभिन्न गणहरुबाट विशेष टोलीलाई सहरभित्र हुने जुवाहरुको बारेमा सुराकी गर्न छाडेको र उनीहरुले दिएको सूचनाको आधारमा जुवा अड्डामा छापा मारिएको स्रोतले बतायो ।
जुवा अड्डामा पक्राउ परेका १० जना करोडपति जुवाडेहरुलाई पहिलो रात जुमनाहा इलाका प्रहरी कार्यालयमा राखिएकोमा एसपी रानामाथि विभिन्न च्यानलबाट ज्याक लगाई दबाव आउनुको साथै जुवाडेहरुलाई भेट्न मेला लागेको जस्तो भएर बिहिबार साँझ जिल्ला प्रहरी कार्यालयको पुरानो महिला सेलमा राखिएको छ ।
बिहिबार साँझ जिल्ला प्रहरी कार्यालय, बाँकेमा जुवाडेहरुलाई सारिएपछि अहिले जुवाडेहरुलाई भेट्न पूर्ण रुपमा बन्देज लगाइएको छ भने जुवाडेहरुका आफन्तहरुले ल्याएको नास्ता खाना समेत दिनमा रोक लगाइएको छ ।
हुन त भित्री रुपमा १० जना जुवाडेहरुको बयान लिने कार्य सिधिएको भएपनि बाहिरी रुपमा प्रहरीले बयान र अनुसन्धान कार्य जारी रहेको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेबाट ७ दिनको म्याद थपेको छ ।
करोडपति जुवाडे पक्राउ भएपछि नेपालगन्ज आसपासका जिल्लादेखि राजधानीसम्म व्यापक चर्चा पाएको छ भने उनीहरुलाई छिट्टै छाडिए विवादमा पर्न सक्ने आशंका व्यक्त गर्दै एसपी रानाले विशेष अनुसन्धानपछि मात्र फाइल सरकारी वकिल कार्यालयमा पठाउने सोचमा रहेको भित्री स्रोतले बतायो ।
नेपालगन्जमा जुवा खालबाट अहिलेसम्म कै ठुलो रकम बरामद भएपछि यत्रो रकम कहाँबाट आएको भन्ने प्रश्नवाचक चिन्ह खडा भएको छ । प्रहरीले सम्पत्ति शुद्धिकरणको विषयमा अनुसन्धान गर्न नमिल्ने तर बयान अनुसार सम्पत्ति शुद्धिकरणको लागि माग गर्दै सिफारिस गर्न सक्ने एक प्रहरीले बताए । तर सम्पत्ति शुद्धिकरणको लागि भने सरकारी वकिल कार्यालयले सरोकारवाला निकायलाई सिफारिससहित अनुसन्धानको लागि पत्राचार गर्न सकिने बताइएको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार केही नभएका व्यक्तिहरु १ वर्षमैं अहिले व्यापार संचालनमा ल्याउनुको साथै अलिशान घर निर्माण समेत गरिएको छ भने वर्षेनी जुवा खेलाउने कार्यमा संलग्न रहेको समेत बताइएको छ । यसैगरी गहुँमा घुन पिसिएजस्तै दसैंमा रमाइलोको लागि साथीभाईको लहैलहमा लागी मेरिज खेल्न पुगेको समेत जानकारीमा आएको छ ।
१० जना करोडपति जुवाडीहरुलाई रिहा गराउने र कानुन अनुसार कडा कारवाहीको लागि राजनीति समेत हाबी हुन थालेको नेपालगन्जमा चर्चा पाएको छ । कुनै राजनीतिक पार्टी भने कानुन अनुसार कारवाही गरिनु पर्नेमा बाँके सिडियो र एसपीलाई दबाव दिइरहेको तथा आप्mनै पार्टीभित्र रुष्ट भएका नेता कार्यकर्ताहरुले कानुन अनुसार कारवाही अगाडि बढाउनु पर्नेमा जोड दिइएको विषयमा नेपालगन्ज बजारमा चर्चाको विषय बन्न पुगेको छ ।