काठमाडौं, २९ असोज । राजधानीमा रात्रीकालिन व्यवसायीहरुबाट प्रहरीले बोक्ने संचार सेट र प्रहरी पोशाकको प्रयोगमा ल्याई ठगी कार्यमा संलग्न नक्कली प्रहरीलाई आज महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ ।
रामेछाप जिल्ला खाडोदेबि गाउँपालिका वडा नं. ६ निबासी हाल काठमाडौं बानियाटार बसोबास गर्ने २८ वर्षीय गोबिन्द खड्कालाई आज विहान करिब ७ बजे टोखा बानियाटारबाट महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी अनुसन्धान टोलीले पक्राउ गर्न सफल भएको हो ।
ट्राफिक प्रहरीको पोशाक रेन कोट, प्रहरीको टिसर्ट, नेम प्लेट र हातमा संचार सेट (वाकीटाकी) बोकी राजधानीको विभिन्न रात्रीकालिन व्यवसाय संचालन गर्ने स्थानमा विभिन्न व्यक्तिहरुलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको गुनासो आएपछि महानगरीय अपराध महाशाखाले बिशेष टोली परिचालन गरी नक्कली प्रहरीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाएको छ । प्रहरीको अनुसन्धानको क्रममा नक्कली प्रहरी खड्का भने हार्डवेयर सामान डेलिभरी गर्ने व्यक्ति रहेको बुझिएको छ ।

नक्कली प्रहरी खड्काबाट केनउड लेखिएको १४४ मेगाहर्जको संचार सेट–१ थान, जापानी एलिन्को कम्पनीको संचार सेट–१ थान, गोबिन्द खड्का लेखिएको नेम प्लेट–१ थान, नेपाल प्रहरीले प्रयोग गर्ने गरेको पोशाकहरु, सुरक्षाकर्मीले लगाउने बुट–२ जोर, मतदाता परिचयपत्र–१ थान, सिठि– २ थान, बा७८प १६२ नम्बरको मोटरसाइकल–१ थान, सवारी चालक अनुमति पत्र–१ थान, विभिन्न ब्राण्डको मोवाइल–४ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

महानगरी अपराध महाशाखको अनुसन्धानको क्रममा पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिइएकोमा २ वर्ष अगाडिबाट उक्त सेटहरु दुरुपयोग गरेको देखिएको जानकारीमा आएको छ ।

यसैगरी अनुसन्धानको क्रममा प्रहरीले बरामद गरेको संचार सेटले नेपालमा रहेका अन्य संचार सेटको फ्रिक्योन्सी टिप्ने गरेको, प्रहरीको संचार सेट आदीको आवाज रिसिभ हुने तर ट्रान्समिट नहुनेको साथै प्रहरीको पोशाक दुरुपयोग गरी सुरक्षा निकायको कर्मचारी हुँ भनी विभिन्न व्यक्तिहरुलाई प्रभावमा पार्ने गरेको भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नक्कली प्रहरी खड्काबाट कोही कसैलाई विभिन्न प्रभाव पारी ठगी गरेको भएमा अपराध महाशाखामा सम्पर्क गर्नको लागि आह्वान समेत गरेको छ ।