काठमाडौं, १६ भाद्र । राजधानीमा ब्वाइलर कुखुराको मासु दिनप्रति दिन सस्तो हुने क्रम जारी भएपनि जिल्लाहरुमा भने बिचौलियाहरुले बढी फाइदाका लागि कुखुराको मासु प्रति किलो रु. ३ भन्दा कममा नआएको बताइएको छ ।
कुखुरा किसान भन्छन्–‘कुखुराको लागत प्रतिकिलो २ सय रूपैयाँभन्दा बढी पर्छ तर काठमाडौंमा १ सय ७० र तराईमा १ सय रूपैयाँ मात्र छ’ ।
हरियो तरिकारीको मूल्य आकाशिंदो भएपनि राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाउँदै अहिले प्रतिकिलो २ सय ४० रुपैयाँ सम्म पुर्याएको छ । राजधानीमा कुखुराको मूल्य प्रति किलो २ सय ४० रुपैयाँसम्म बिक्री वितरण हुँदा पनि बिक्री नभएको व्यवसायीहरुको गुनासो छ । राजधानीमा भइरहेको कडा लकडाउनको कारण विहान ९ बजे नै पसल बन्द गर्नु पर्ने बाध्यता र कुखुरा मासुको पसल अत्यधिक भएका कारण पनि बिक्री शून्य बराबर नै भएको कारण पसल भाडा तिर्न हम्मेहम्मे परेको अधिकांश कुखुरा व्यवसायीले बताएका छन् । कुखुराको मासुको बिक्री भएपनि लकडाउनको कारण बिक्री बढाउनको लागि भएपनि कुखुराको मासुमा अझै गिरावट हुन सक्ने बताइएको छ ।
कु्खुराको मासु सस्तो भएसँगै कुखुरा व्यवसाय गर्ने अधिकांश किसानहरु आफ्नो लागत पनि नउठ्ने बताएका छन् । जिउँदो कुखुरा तराईमा प्रतिकिलो १ सय ३५ रुपैयाँमै बिक्री भइरहेको छ । उपत्यकामा जिउँदो ब्रोइलर किलोको १ सय ७० रुपैयाँ तोकिए पनि किसानले करिब १ सय ५० रुपैयाँ मात्र पाएका छन् । राजधानीभन्दा तराई तर्फ कुखुरा सस्तो भएपनि मासु भने रु. ३ सयको हाराहारीमा बिक्री वितरण भइरहेको जनाइएको छ । लकडाउनको क्रममा तराई तथा तराई नजिकका पहाडी क्षेत्रमा कुखुराको मासु प्रति किलो रु. ५ सय देखि रु. ५ सय ५० सम्म बिक्री वितरण गरिएको थियो ।
बढ्दो कुखुराको मासुमा मूल्यमा कन्ट्रोल गर्नको लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय बाँकेले कुखुरा व्यवसायीसँग छलफल गरी प्रति केजीमा रु. ३ सय ५० मूल्य तोकिएपनि कुखुरा व्यवसायीहरुले ३ दिनसम्म विरोध स्वरुप पसल नै बन्द गरेका थिए । खरिद मूल्य नै महंगो परेकोले महंगोमा बिक्री वितरण गर्नु पर्ने माग राख्दै लुकीछिपी रु. ४ सयमा बिक्री वितरण गरेका थिए । तर अहिले तराई क्षेत्रमा जिउँदो कुखुराको मूल्य प्रति केजी सस्तो हुँदा पनि रु. ३ सयमा नै बिक्री वितरण भइरहेको छ ।
सर्लाहीमा एक किलो जिउँदो ब्रोइलर कुखुरा १ सय २५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । अहिले लागत नै बढी छ । कुखुरा बिक्री गरेर लागत खर्च पनि नउठ्ने किसानहरुको दुखेसो एकातिर छ भने बिचौलियाको कारण किसान र उपभोक्ताहरु अहिले दोहोरो मारमा परेको देखिएको छ ।
जिउँदो कुखुरा खरिद गरेर मासु बिक्री गर्दा प्रति किलोमा २५ प्रतिशत वेस्टेज अनुसार प्रति केजी रु. १ सय २५ का दरले वेस्टेज रु. ३१.२५ गरी मासु बिक्रेतालाई प्रति केजी खरिद मुल्य रु. १५६.२५ पर्न आउँछ भने २० प्रतिशत मुनाफा रु. ३१.२५ जोडियो भने उपभोक्तालाई बिक्री मुल्य प्रति केजी रु. १८७.५० हुनु पर्नेमा तराई क्षेत्रमा रु. ३ सय र राजधानीमा रु. २ सय ४० मा बिक्री गर्दा पनि बिचौलियाको अत्यधिक मुनाफा देखिएको उपभोक्ताको भनाई आएको छ ।
लकडाउनको कारण कुखुराको मासु बिक्रीमा ह्रास आएको, समयमा बिक्री नहुँदा कुखुराहरु मरेर जाने डरले पनि किसानहरुले बिचौलियाले तोके अनुसारको सस्तो मूल्यमा बिक्री वितरण गर्नु पर्ने बाध्यता रहेको अधिकांश किसानहरुको दुखेसो छ । अर्को शब्दमा भन्नु पर्दा कुखुरा व्यवसायी गर्ने अधिकांश किसानहरु लागत मूल्य आउनु भन्दापनि सबैले घाटा व्यहोर्दै बिक्री गर्नु परेको गुनासो गरेका छन् ।
सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे २ देखि ३ लाख किलो कुखुराको मासु बिक्री हुन्छ । निषेधाज्ञाका कारण करिब ३० प्रतिशत मात्रै खपत भएको जनाइएको छ । ‘चैतको लकडाउन खुलेपछि मासु क्षेत्रमा पुनः चहलपहल बढ्नुको साथै खपत पनि बढिरहेको थियो । कडा लकडाउनको कारण अहिले राजधानीका होटल, क्यान्टिन, क्याफेलगायत र होम डेलिभरी पनि पूर्ण रुपमा बन्द छ । त्यसैले बजारमा करिब ३० प्रतिशत मात्रै खपत भइरहेको व्यवसायी बताउँछन् ।