काठमाडौं, १५ जेठ । नेपाल प्रहरीका पुर्व डिएसपी राजकुमार खिउजु आफु कार्यरत हुँदा ललितपुरको ठुलादुर्लुङका करिब २२ वर्षीय एक युवतीलाई जबरजस्ती करणी गरेको ध्वनिखबर अनलाइन टिभीले पर्दाफास गरेपछि पीडित महिलाले ललितपुर महानगरीय प्रहरी कार्यालयमा हदैसम्म कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेकी थिइन ।
ध्वनिखबर अनलाइन टिभीले पीडित पक्षसँग कुराकानी गरी पर्दाफास गरेपछि माथिल्लो निकायको दबावमा २०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप आएपछि गत पुसमै राजीनामा दिएका थिए ।
पीडित महिलाको जाहेरी दर्तापछि पुर्व डिएसपी खिउजु गत फागुन २१ गते भक्तपुरबाट पक्राउ परेका थिए । उनीविरुद्ध बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा गत माघ २३ गते किटानी जाहेरी दर्ता भएको थियो ।
बिहिबार बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वडिएसपी खिउजू पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जनाएको छ । उनीमाथि ललितपुरको ठुलादुर्लुङका एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
न्यायाधीश चुडामणि खड्काको एकल इजलासले खिउजूलाई पुर्पक्षका लागि कारागार पठाउने बिहीबार आदेश गरेको हो ।
सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी थिइन् । चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन् ।
बिहिबार अदालतको आदेश आएपछि ध्वनिखबर अनलाइन टिभीसँग खुशी मुद्रामा टेलिफोनमा कुरा गर्दै पीडित महिलाले भनिन्–‘हाम्रो मुलुकमा ठिलोचाडो न्याय पाउने कुरामा म ढुक्क भए । मैले न्याय पाएँ । विशेष गरेर ध्वनिखबर अनलाइन टिभीलाई मुरी मुरी धन्यवाद । मलाई जस्तै अन्य पीडित महिलाहरुलाई ध्वनिखबर अनलाइन टिभीले साथ दिनको लागि पनि अन्ुरोध गर्दछु ।’