रामदिन तेली
नेपालगन्ज, २३ असार । नेपालगन्जको संजिवनी अस्पताल अर्थात नर्सिंग होम आसपास क्षेत्रमा रहेका सुपा देउराली र पवनदुत फार्मेसीले लाइसेन्सवाहक बिना नै औषधी बिक्री गरेको पाइएको छ ।
ध्वनिखबर मिडियाको टिम सोमबार विहान ६ बजेदेखि ७.३० बजेसम्मको फिल्ड रिपोर्टिंग गर्ने क्रममा दिपेश श्रेष्ठको सुपा देउराली र धर्मबिर कहारको पवनदुत फार्मेसीमा लाइसेन्सवाहक बिना नै औषधी बिक्री गरेको पाइएको छ ।
फिल्ड रिपोर्टिंग गर्ने क्रममा औषधी व्यवस्था विभाग (डिडिए) नेपालगन्जका केही निरिक्षकलाई यी दुई फार्मेसीले खुशी पार्ने गरेको कारण दिपेश श्रेष्ठको सुपा देउराली र धर्मबिर कहारको पवनदुत फार्मेसीलाई अहिलेसम्म कुनै कारवाही नगरी जे गर्दा पनि बिशेष छुट हुने गरेको केही फार्मेसीले बताएका छन् । यस विषयमा डिडिए नेपालगन्जका प्रमुख निलु श्रेष्ठ भन्नुहुन्छ–‘डिडिए नेपालगन्जमा ४–५ जना निरीक्षकहरु हुनु हुन्छ, कोलाई बिश्वास गर्ने वा नगर्ने कुरा नै हुँदैन । यस्तो कुरा आएपछि म आफै नै अब निगरानी गर्छु ।’
यस विषयमा औषधी व्यवस्था विभाग काठमाडौंका महानिर्देशक नारायण ढकाल भन्नुहुन्छ–‘डिडिएका निरीक्षकलाई खुशी पारेर नियम विपरित काम हुन्छ भन्ने कुरामा बिश्वास लिन सकिन्न । तर विषय उठे पछि यस विषयमा मपनि आफ्नो स्तरबाट अनुसन्धान गर्छु । नियम मिच्ने कुनै पनि फार्मेसीलाई कारवाही हुन्छ सबै ढुक्क हुँदा हुन्छ ।’
दिपेश श्रेष्ठको सुपा देउराली र धर्मबिर कहारको पवनदुत फार्मेसी भने २४ घण्टा सेवा दिने भनी खोलिन्छ तर लाइसेन्स वाहक भने एक जनासँग मात्रै रहेको डिडिए नेपालगन्जबाट जानकारी पाइएको छ । डिडिए नेपालगन्ज भन्छ–‘२४ घण्टा फार्मेसी खोल्नको लागि ३ जना लाइसेन्स भएको व्यक्ति राख्नु पर्छ । साथै पवनदुत फार्मेसीलाई लाइसेन्स दिई सम्झौता गर्ने मधुसुदन चौधरीले आइतबार डिडिए नेपालगन्जमा लाइसेन्स झिकी पाउ भनी निवेदन दिइसकेका छन् भने अहिले पवनदुत फार्मेसीसँग औषधी बिक्री गर्ने लाइसेन्स वाहक नभएकोले औषधी बिक्री गर्न पाउने अधिकार नभएपनि खुलेआम फार्मेसी खोली औषधी बिक्री गर्दा पनि डिडिए नेपालगन्जको साँठगाँठ भएको कारण कुनै कदम भने चालिएको छैन ।
स्मरण रहोस डिडिए नेपालगन्जले छापा मार्दा दिपेश श्रेष्ठको सुपा देउरालीमा खरिद बिल नभएको शंकास्पद ३ थरीको औषधी र धर्मबिर कहारको पवनदुत फार्मेसीमा शंकास्पद ४ थरीको औषधी भेटिएको र अनुसन्धान भइरहेको डिडिए नेपालगन्जले जनाएको छ ।