केन्द्र तातिंदा बाँके सुरक्षाफौज एक्शनमा तर सूचना लिक हुँदा अवैध ४० थान गोरु जंगलमा लुकाइयो

केन्द्र तातिंदा बाँके सुरक्षाफौज एक्शनमा तर सूचना लिक हुँदा अवैध ४० थान गोरु जंगलमा लुकाइयो

काठमाडौं, १९ माघ । बाँके जिल्लामा प्रहरी प्रशासनले चासो नदेखाउँदा नेपाल–भारत खुला सिमानाका कारण तस्करी लगायत अवैध रुपमा गोरुको कारोबार ह्वात्तै बढेको गुनासोसँगै केन्द्रिय स्तरको सुरक्षाफौजको कडा निर्देशनमा आइतबार राती करिब १० बजेबाट बाँकेका सुरक्षा फौज एक्शनमा आउँदा हातमा लाग्यो शून्य जस्तो भएको छ ।

भारतबाट अवैध रुपमा गोरु तस्करी गरी बाँकेको राप्ती पुल पारी राप्ती सोनारी गाउँपालिका वडा नं. ४ कम्दी क्षेत्रमा एक व्यापारीको जमीनमा ४० थान गोरु ल्याइएको खबर प्राप्त भएपछि आइतबार करिब ८.३० बजे बाँकेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी, सशस्त्र प्रहरी लुम्बिनी प्रदेश डिआइजी र सशस्त्र प्रहरी ३० नं. का एसपीको मोवाइल नउठेपछि सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी महानिरिक्षक र केन्द्रिय सचिवालय तथा नेपाल प्रहरी केन्द्रिय सचिवलायमा तस्करी भइरहेको जानकारी गराएपछि सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका डिआईजी लगायत बाँकेस्थित सशस्त्र प्रहरी तुरुन्त एक्शनमा आएको थियो ।


सशस्त्र प्रहरी ३० नं. एसपी अशोक बमको कडा निर्देशनमा एक टोली बाँकेको राप्ती पुल पारी राप्ती सोनारी गाउँपालिका वडा नं. ४ कम्दी क्षेत्रमा पुग्यो । रात भरी सर्च अभियान चलाए तर सशस्त्र प्रहरीको टोली उक्त क्षेत्रमा पुग्नु अगावै बिशेष व्यक्तिबाट सूचना लिक भएपछि गोरु तस्करीका नाइके अख्तर भन्नेले तत्कालै अवैध रुपमा ल्याइएको ४० थान गोरु नजिकको जंगलमा धपाएको स्रोतले दाबी गरेको छ । स्रोतले भन्यो –‘कम्दीको आसपासको जंगलमा अहिले पनि ४० थान गोरु छाडिएको छ, सुरक्षाफौजले सर्च अभियान चलायो भने ती अवैध गोरु भेटिन्छन् ।’ नाइके अख्तर भन्नेले अवैध रुपमा ४० थान गोरु कम्दीमा राखेर पुनः आइतबार राती नै थप १६ गोरु ल्याउने योजनामा रहेको भएपनि बाँकेमा सशस्त्र प्रहरी सक्रिय हुँदा थप गोरु नल्याएको जानकारी प्राप्त भएको छ ।


नेपाल–भारत खुला सिमाना भएको कारण खडैचा, फत्तेपुर लगायत स्थानमा गोरु ल्याउने गरेको बताइएको छ भने अहिले सिमा सुरक्षाको लागि सशस्त्र प्रहरीको विभिन्न स्थानमा विओपी र नेपाल प्रहरीको चौकीका बावजुद पनि गोरु तस्करी भने अहिलेसम्म रोकिएको छैन । गोरु तस्करीको नाइकेको रुपमा अगाडी रहेका अख्तर र एक जना कलम समाउनेको सक्रियता तथा मिलेमतोमा उक्त गोरुहरु आइतबार साँझ नै विभिन्न स्थानमा टेलिफोन गरी सहयोग गर्नको लागि अनुनयविनय गरेको स्रोतले बतायो ।


नेपाल प्रहरी र सशस्त्र प्रहरी केन्द्रस्तरबाट चासोका साथ कडा आदेश दिएपछि बाँकेस्थित सुरक्षाफौज एक्शनमा आउँदा पनि बिचमा को ले गोरु तस्करलाई सूचना लिक गराई अवैध गोरु जंगलमा लुकाउनमा मद्दत पु¥याउने विरुद्ध तथा विभिन्न स्थानमा सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको चौकी स्थापना भएपनि कसरी तस्करी हुन्छ भन्ने विषयमा केन्द्र स्तरबाट सुक्ष्म छानबिन हुन अति आवश्यक भएको स्थानिय विज्ञहरुको भनाई रहेको छ ।