काठमाडौं, १७ माघ । ध्वनिखबरको टिम नेपालगन्ज पुगेर मेडिकल स्टोरबाट अवैध रुपमा फुड प्रोडक्ट (न्यूट्रा) बिक्री तथा भन्सार राजस्वको विषयमा पर्दाफास गर्ने क्रममा मेडिकल स्टोरबाट अवैध रुपमा बिक्री गर्ने फुड प्रोडक्ट न्यूट्राका व्यवसायी समूहबाट शुरुमा धम्की र पछि आएर पत्रकारलाई अफर दिन थालिएको छ ।
ध्वनिखबरको कार्यालयमा सुरक्षित राखिएको ध्वाइस रिकर्ड अनुसार न्यूट्राका व्यवसायी समूहबाट शुरुका दिनमा धम्की दिएको तथा धम्कीले काम नगरेपछि रु. ५० हजारबाट अफरको बोली लगाएर अहिले रु. दुई लाख पर्ने क्यामराको अफर दिन थालिएको छ । ध्वनिखबरको टिमले मेडिकल स्टोरबाट अवैध रुपमा फुड प्रोडक्टको विषयमा पर्दाफास गर्न थालेपछि बाँकेस्थित अधिकांश चिकित्सकहरुले न्यूट्राका कुनै पनि प्रोडक्ट सिफारिस नगर्ने प्रतिबद्धता जनाएलगत्तै अहिले अधिकांश मेडिकल स्टोरले न्यूट्राका प्रोडक्ट हटाएको पाइएको छ ।
मेडिकल स्टोरबाट अवैध रुपमा फुड प्रोडक्ट न्यूट्राको व्यवसाय ओरालो लागेपछि न्यूट्राका व्यवसायी बिच हिजोआज दैनिक जसो बैठक बस्ने गरेको तथा पर्दाफास गर्ने पत्रकारलाई मिलाउन ठुलो अफर दिनु पर्ने लगायत अफर दिनको लागि व्यवसायीहरुबीच रकम संकलन गर्ने कार्य भईरहेको समेत स्रोतले दाबी गरेको छ ।
मेडिकल स्टोरबाट अवैध रुपमा फुड प्रोडक्टको व्यापार ह्वात्तै घटेपछि पत्रकारलाई थर्काई कल गर्ने व्यवसायी पनि बुटवलबाट नेपालगन्ज आएको स्रोतले बतायो । नेपालगन्जमा मेडिकल स्टोरबाट अवैध रुपमा फुड प्रोडक्टको बिक्री बन्द हुन थालेपछि यसको असर बुटवल भैरहवामा समेत पर्न गएकोले कसरी हुन्छ पत्रकारलाई रोक्नको लागि सबै हतकण्डा अपनाउन बुटवलबाट ती व्यापारी नेपालगन्ज आएको बुझिएको छ । स्रोतले दाबी गरे अनुसार न्यूट्राका ठुला व्यापारीहरु आज शनिबार बाँकेको गाभरमा बिशेष बैठक गर्ने भनी बताइएको छ ।

मेडिकल स्टोरबाट औषधी व्यवस्था विभागमा दर्ता नभएका कुनै पनि प्रोडक्ट बिक्री वितरण नगर्ने भनी नेपाल औषधी व्यवसायी संघ भेरी अञ्चल शाखा कार्यालयले समेत जानकारी गराई सबै मेडिकल स्टोरमा पत्राचार गरीसकेको भएपनि खुलेआम रुपमा नेपालगन्जस्थित अधिकांश मेडिकल स्टोरले मेडिकल स्टोरबाट अवैध रुपमा फुड प्रोडक्ट बिक्री वितरण गरेको पाइएको छ । नेपालगन्ज न्यूरोड स्थित औषधी व्यवस्था विभागमा दर्ता भएको एक फर्माले भर्खरै विल काटेर फुड प्रोडक्ट बिक्री गरेको प्रमाण ध्वनिखबर डटकममा सुरक्षित राखिएको छ ।

यसै गरी नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. मुक्ति राम श्रेष्ठले समेत सबै चिकित्सकहरुले औषधी व्यवस्था विभागमा दर्ता भएका मात्र औषधी सिफारसि गर्दा राम्रो हुने अभिव्यक्ति समेत दिनु भएको छ भने विरामीलाई दिइने सल्लाहमा शरीरलाई चाहिने पोषकतत्वको बारेमा जानकारी दिन मिल्ने बताउनु भएको छ ।

यता भन्सार विभागले सबै भन्सार कार्यालयलाई भन्सार विन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य घोषणा गर्ने विषयमा पत्राचार गर्दा पनि नेपालगन्ज भन्सार कार्यालय नाका हुँदै आयात हुने फुड प्रोडक्ट न्यूट्राको के कतिमा मूल्यांकन हुन्छ भन्ने विषयमा नेपालगन्ज भन्सार कार्यालयले मूल्यांकन देखाउन भने आलटाल गर्दा आशंका उत्पन्न हुन थालेको छ । न्यूट्राका व्यवसायीहरुले अधिकतम खुद्रा मूल्य आयात भई आएपछि आफैले नै प्रिन्ट गर्ने भएपछि मूल्यमा धेरै नै फरक पारी बिक्री हुने तथा विरामी ठगिएको भन्ने केहीले आरोप समेत लगाएको ध्वाइस रिकर्ड पनि सुरक्षित राखिएको छ । नेपालगन्ज भन्सार कार्यालय लगायत अन्य नाकाबाट आयात हुने यस्ता न्यूट्राका प्रोडक्टको विषयमा बजारमा उपलब्ध भएका प्रोडक्ट र भन्सारको मूल्यांकनबिचको अन्तर विषयमा सुक्ष्म छानबिन गर्दा ठगी गर्ने गिरोहको पर्दाफास हुने कुरामा केही औषधी बिक्रेताहरु एक मत देखिएका छन् ।