काठमाडौं, १५ माघ – ध्वनिखबर डटकमको टिम नेपालगन्ज पुगी उठाएको विषयमा नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. मुक्ति राम श्रेष्ठले समेत मेडिकल स्टोरले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधी मात्र बिक्री गर्नु पर्छ भन्ने विषयमा आफ्नो तर्क दिनु भएको छ ।
ध्वनिखबर डटकमको टिम माघ ४ गते नेपालगन्ज पुगी माघ ५ गतेबाट मेडिकल स्टोरले औषधी व्यवस्था विभागमा दर्ता नभएका कुनै पनि प्रोडक्ट बिक्री भएनभएको विषयमा अनुसन्धान र प्रमाण जुटाउने क्रममा नेपालगन्जका केही मेडिकल स्टोरले विल काटेर खुलेआम फुड प्रोडक्ट बिक्री गरेको पाइनुको साथै चिकित्सकले समेत त्यस्ता भिटामिन औषधी सरह सिफारिस गरेको प्रमाण समेत भेटिएको छ ।
चिकित्सकले फुड प्रोडक्टका भिटामिन लगायत सिफारिस गर्ने विषयमा नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. श्रेष्ठ भन्नुहुन्छ–‘चिकित्सकले विरामीलाई खसीको सुप, हरियो सागपात खानु पर्छ भनेर औषधीको रुपमा नभई सल्लाहको रुपमा लेख्न सक्छन् । खाद्य विभागमा दर्ता भएको प्रोडक्टको विषयमा ३–४ चरणमा छलफल भएको हो तर आधिकारिक रुपमा भने नेपाल सरकारको नीति अहिलेसम्म बाहिर आएको छैन । मेडिकल स्टोरले त्यस्ता प्रोडक्ट बिक्री गर्छन भने सम्बन्धित निकायले अनुमगन र कारवाही गर्नुपर्छ । चिकित्सकले सल्लाह दिएअनुसारको केही पनि सामाग्री मेडिकल स्टोर नपाए अन्य स्टोरबाट लिन सक्छन् । हरलिक्स जस्ता कुराहरु बाहिर स्टोरमा बिक्री हुन्छ भने अन्य पनि बिक्री हुन सक्छ । तर चिकित्सकले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधी मात्र सिफारिस गर्दा राम्रो हुन्छ ।’
चिकित्सक अन्यौलमा : औषधी व्यवस्था विभागमा दर्ता भएनभएको औषधी बारे पूर्ण जानकारी नहुँदा नेपालगन्जका अधिकांश चिकित्सक अन्यौलमा परेको भनाई आएको छ । तर अधिकांश चिकित्सकहरुले औषधी व्यवस्था विभागमा दर्ता भएका मात्र औषधी मेडिकल स्टोरले बिक्री गर्नु पर्ने भनाई भेटिएको छ ।
नेपालगन्जमा औषधी व्यवस्था विभागमा दर्ता नभएका फुड प्रोडक्टका भिटामिन लगायतका विषयमा समाचार संकलन र प्रमाण जुटाउने कार्य गर्दा ध्रम्कीको साथै अफरको ओइरो समेत लागेको छ । धम्की र अफरका बावजुद अवैध कार्यको पर्दाफास हुने खालको स्टाटस र समाचारको कारण अहिले औषधी व्यवस्था विभागमा दर्ता नभएका फुड प्रोडक्ट बिक्री गर्ने समूहहरुको दैनिक विहान र साँझ बैठक हुनेगरेको स्रोतले दाबी गर्दै भन्यो –‘हाम्रो व्यवसाय विरुद्ध बोल्ने र लेख्ने पत्रकार विरुद्ध प्रहरीमा उजुरी दिने, प्रेस काउन्सिलमा निवेदन पठाउने र अदालतमा मुद्दा दिने विषयमा बैठकमा छलफल भईरहेको छ ।’

ध्वनिखबर डटकमसँग औषधी व्यवस्था विभागमा दर्ता नभएको फुड प्रोडक्ट बिक्री गरेको विल प्रमाण सुरक्षित राख्नुको साथै नेपाल सरकारको नीति नियम विरुद्ध कार्य गर्नेमाथि नेपालगन्जस्थित सम्बन्धित निकायले छानबिन र कारवाही नगरे त्यस्ता मेडिकल स्टोरको दर्ता खारेजीको लागि औषधी व्यवस्था विभागमा प्रमाणसहित निवेदन दिने तयारी भइरहेको बताइएको छ ।