– दीप श्रेष्ठ
मुलुकमा आज मात्र नभई सदियौंदेखि चल्दै आएको सिस्टम हो, नातावाद, कृपावाद र परिवारवाद । यही वादमा अहिले मुलुक अडिएको छ, दिनचर्या कायम रहेको पाइन्छ । मुलुकमा भर्खर मात्र लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि राणाकालिन शासनमा चल्दै आएको यो वादको कारण मुलुकमात्र नभई नेपाली जनता पनि खोक्रो भइसकेको अवस्था देखा पर्न थालेको छ ।
पंचायती व्यवस्थामा प्रहरीको ठूलो भूमिका मानिन्थ्यो । एउटा प्रहरी जवानले एउटा गाउँमा आफ्नो हुकुमत चलाएको सर्ववितितै नै छ । जसको फलस्वरुप मुलुकमा माओवादीको जन्म भयो । नयाँ नेपालको सपना देखाई सत्ता आफ्नो कब्जामा लिई पुनः त्यही नातावाद, कृपावाद र परिवारवाद नै दोहराइयो । लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै प्रहरी कमजोर भए तर अहिले भने प्रहरीको हुकुमीशासन पुनः पुरानै डर्रामा शुरु हुन थालेको महसुस गर्न थालिएको छ ।
मुलुकको अन्य जिल्लाको तुलनामा राजधानी ठुलो छ, यहाँ जनताले प्रहरीलाई वास्ता गरेको देखिदैन भने प्रहरीले पनि आफ्नै र्वाफमा जनतामाथि कानुनको नीति नियम लाद्ने गरेको पनि पाइन्छ । यहाँ शक्ति हुनेहरुलाई अहिले पनि प्रहरीले सलाम ठोक्ने पुरानै डर्राको शैली कायमै छ ।
मेरो करिब ३ वर्षको खोजी कार्यमा यहाँ जसको शक्ति उसको भक्ति नै भएको पाए । राजधानीमा प्रहरी बस्न मन नपराउने र जिल्ला–जिल्ला अर्थात भारतीय सिमामा जोडिएका जिल्ला जान पाए दक्षिणा चढाउने परम्परा पनि कायम देखिन्छ । तराई अर्थात भारतसँग जोडिएको जिल्लामा सरुवा भई जाने प्रहरी जवानदेखि हाकिमको र्वाफ नै बेग्लै देखिन्छ । प्रहरी जवान होस वा सब इन्सपेक्टर नै किन नहोस, बोर्डरको चौकीमा बस्नेहरुले तलदेखि माथिल्लो आफ्ना हाकिमहरुलाई खुशी पार्ने बाध्यता भएको सुनिनमा आउँदा चेसको खेलमा प्रधानमन्त्रीले दिएको आदेश पालना गर्नु पर्ने बाध्यता अनि सोही अनुसार हाकिमको विशेष पात्र भई ड्यूटी गर्नु पर्ने आफ्नै बाध्यता ।
हुन त हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले भ्रष्टाचारीलाई मुख नहेरी कारवाही गरिने अभिव्यक्ति दिएको धेरै सुनिन्छ तर कारवाहीमा भने एउटा पनि नपर्नु पनि बिडम्बना नै हो । कारवाहीको शिलशिला शुरु हुन लाग्दा फेरी गुञ्जमान हुन्छ नातावाद, कृपावाद र परिवारवाद । कृपावादको आशिर्वाद पाएकालाई कारवाही कसले गर्ने एउटा गम्भिर विषय बनेको पनि छ ।
यहाँ प्रहरी मात्र नभई हरेक क्षेत्रमा नातावाद, कृपावाद र परिवारवादले बाक्लो जरा गाडेको छ । प्रहरी मात्र नभई जनसम्पर्कमा आउने नेपाल सरकारको कुनै पनि कार्यालय किन नहोस्, मनपरीतन्त्रले जरा गाडेको भेटिन्छ । यहाँ भ्रष्टाचारलाई निर्मुल पार्न गठन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अछुतो छैन । प्रयाप्त प्रमाण हुँदाहुँदै यहाँ पनि राजनीतिक पार्टीको झोलेहरुको फाइललाई तामेलीमा राखिन्छ । किनभने सबैलाई आफ्नो जागिर प्यारो हुन्छ । तर अहिले हालसालै भएको नेपाल प्रहरीको महानिरिक्षक र अतिरिक्त महानिरिक्षकको बढुवामा सुटकेश बोक्ने परम्परालाई त्यागेको देख्दा पनि माथिल्लो स्तरमा इमानदारिता छ है भन्ने कुरा पनि आउँछ ।
तिहार लगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले एसपीहरुलाई एसएसपी बनाउने बढुवाको लागि होमवर्क गर्दैछ । तर उही पुरानै डर्राको शैलीमा प्रहरी भित्र पनि षडयन्त्रका ध्वनि पनि गुञ्जमान भइरहेको विभिन्न मिडियाबाट सुनिन थालेको छ । ‘तलाई वा यसलाई पछार्न पाए भोलिको आईजी म पक्का’ यो नीतिको कारण भोलि राजनीति हावी नहोला भन्न पनि सकिन्न । अहिले मिडियाबाजी हुन थालेको छ भने भोलि चाकडीबाजी अनि सुटकेशबाजी नहोला भन्न पनि सकिन्न होला ।
हामी सरकारको हाँगाको लहरामाथि आरोप लगाउनु भन्दा हामी जस्तो कलम समाउनेहरु पनि यो रोगबाट अछुतो छैनौं । हामी पनि कुनै न कुनै राजनीतिक पार्टीसँग आवद्ध छौं । पार्टीका हाईकमाण्डको आदेशानुसार हामी पनि आफ्नो कलम चलाउन बाध्य छौं । जिल्ला–जिल्लामा सरुवा भई जाने सिडियो र एसपीसँग पनि बलियो सम्बन्ध बनाइ हाल्छौं । अनि हामी कहिले पनि उनीहरुको विरोध पनि गर्दैनौं । उनीहरु पनि के कम नी, उनीहरुले हामीहरुलाई प्रयोग गरी आफ्नै प्रसंशायुक्त समाचार र लेख लेख्न मिठो शब्दमा अनुरोध गर्छन र हामी पनि प्रकाशित गर्छौं । हामीले पनि अरुलाई चाहे त्यो भ्रष्टाचारी होस वा तस्कर कसैलाई औंला देखाउने हाम्रो हैसियत नै छैन । हामी सिडियो र एसपीसँग नजिक हुन्छौं, हामी मध्ये कोही कोही तस्करसँग पनि नजिक हुन्छौं । हामी आफैले समाचार र लेखमा ब्यालेन्स मिलाउनु पर्ने हाम्रो बाध्यता हुन्छ । तलब कम हुन्छ तर आफ्नो र परिवारको पेट पाल्न हामी पनि बाध्य भएर आदेशानुसार कलम चलाउनु पर्ने हाम्रै बाध्यता नै छ, हुन्छ र भोलिका दिनमा पनि हुनेछ ।
आजभोलि कलम समाउनेको भीडमा आफु पनि कलम समाउने भनी चिनाउन निकै सजिलो पनि छ । तर स्वतन्त्र कलम समाउनेको यहाँ कुनै हैसियत नै हुँदैन । आजभोलि कलम समाउनको लागि सर्वप्रथम कुनै पनि बलियो राजनीतिक पार्टीको सदस्य लिन अनिवार्य र साथमा रु. ५० हजार भयो भने अनलाइन पत्रकारको मोहर तुरुन्तै लाग्छ । अनि आफुसँग भएको मोवाइलको क्यामरा अन गर्यो, अलि अलि बोल्न आए दुई महिनामैं बरिष्ठको उपाधी पाइन्छ ।
हुन त लोकतान्त्रिक गणतन्त्रमा पुर्व राजाको गन्ध पनि आउन थालेको पाइन्छ । तर पुर्व राजाको समर्थनमा निर्माण भएको राजनीतिक पार्टी पनि एकआपसमा पदको लडाईको कारण अहिले दिनप्रति दिन खस्किदो अवस्थामा नै छ । कोरोनाको कहरको कारण पनि मुलुकभरीको प्राय मठ मन्दिर बन्द रहेको अवस्था हुनुको साथै पुर्व राजाको दर्शनको यात्रामा पनि ब्रेक लागेकोले पनि राजाभक्ति पनि सेलाएको जस्तो देखिएको छ ।
हुन त मुलुकमा राजनीतिक जोड घटाउ गर्न नेपालका विशेलषकहरुलाई अति नै कठिन छ । यहाँ आशिर्वादमा राजनीतिक बाटो तय गरिन्छ । एकातिर भारत छ भने अर्को चिन, उनीहरुको इशारामा सत्तामा पुग्न सफल हुने र उनीहरुको इच्छा अनुसार नै मुलुकमा शासन व्यवस्था कायम हुने गरेको पाइन्छ ।
हामी नेपाली हौं भनेर गर्व गर्छौं । भन्नलाई निकै सजिलो छ । म पनि भन्ने गर्छु की म नेपाली भएको गर्व गर्छु भनेर । तर एकान्तमा म आफै सोच्छु की म कस्तो खाले नेपाली हो ? कसको ईशाराबाट चल्ने नेपाली रोबट हुँ । लोकतान्त्रिक गणतन्त्र स्थापना भएको मुलुकमा म खुलेर बोल्न पाउँदैन । नेपाल आमालाई टुक्रा टुक्रा पार्न खोज्नेका विरुद्ध आवाज बुलन्द गर्न सक्दैन ? प्रहरीको लाठीको चोट अनि फोहरी खोरमा बस्न कोलाई रहर हुन्छ र ? आज हाम्रो नेपाल आमालाई टुक्रा टुक्रा पारिँदै छ, हामी चुप लागेका छौं, भोलि भौगोलिक हिसाबले र जातीय हिसाबले हामी बिच भाडभैलो नमचाउलान भन्ने पनि छैन । तसर्थ हामी आजको होइन हामी नेपाली हुँ भनेर गर्व गर्नेहरुले भोलिका दिनमा हुन सक्ने खतरालाई मनन् गरौं । नातावाद, कृपावाद र परिवारवादलाई त्यागेर हामी आफ्नो नेपाललाई समृद्ध बनाउनको लागि एक जुट हुन आवश्यक छ ।