काठमाडौँ, १५ भाद्र — कोरोनाको आक्रमणपछि अस्पताल पुगेर उपचारपछि निको भई आउँदा पनि कोरोना पीडित हिजोआज डिप्रेसनमा जाने गरेको गुनासो क्रमिक रुपमा बढ्दो पाइएको छ ।
संक्रमणमुक्त भएर घर फर्किका एक जना व्यक्तिले एम्बुलेन्समा तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड–१९ डेडिकेटेड अस्पतालबाट कोरोनामुक्त भई भक्तपुर निवासी घर फर्केका एक व्यक्तिले एम्बुलेन्समा तोडफोड गरेका छन् । उनले आफूलाई अस्पतालबाट अपहरण गरी ल्याएको आरोप लगाउँदै एम्बुलेन्सको सिसा तोडफोड गरेका थिए ।
भदौ ४ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि केएमसी अस्पताल दुवाकोटमा आइसोलेसनमा राखिएको र त्यहाँ रहँदा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल सारिएको प्रहरी स्रोतले बतायो । अस्पताल स्रोतका अनुसार अस्पतालमा उपचारमा रहँदा उनलाई दुईपटक भेन्टिलेटरमा राखिएको तथा गम्भीर अवस्थामा पुगेर पनि बाँचेका ती संक्रमितलाई दुईपटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।
आइतबार राति डिस्चार्ज गरी घर पुर्याउन लाग्दा ती व्यक्तिले प्रदेश ३ – ०१००२ झ ५२३० नम्बरको एम्बुलेन्सको सिसा फोडेको प्रहरीले बताएको छ ।
सिसा तोडफोड गर्दै सडकमा निस्केपछि प्रहरी सहायक निरीक्षक मनोज साहको टोलीले सल्लाघारीबाट नियन्त्रणमा लिएको छ । त्यसपछि एम्बुलेन्स मर्मत गर्ने सर्तमा सशस्त्रकै चालकले उनलाई घर पुर्याएका थिए ।
बिरामीका आफन्त भन्छन्– अस्पतालबाट उपचार गरी फर्किएका उनमा चरम निराशाको साथै पारिवारिक तनाव पनि थियो । उहाँलाई घर आउन मन नलागेका कारण त्यसो गरेको बिरामीका परिवारले बताए । उनका परिवार भन्छन्–’अस्पतालमा भेन्टिलेटरमै राख्नुपरेको थियो । त्यसले गर्दा डिप्रेसन पनि भएको हुनसक्छ भन्ने लाग्छ,’ उनले भने, ’त्यस्तो ठूलो कुरा होइन । अहिले उहाँ घरमै हुनुहुन्छ ।’
यसैबीच उपचार पाएर निको भइसकेका व्यक्तिले नै भ्रामक आरोप लगाउँदै एम्बुलेन्स तोडफोड गर्नु दुःखद भएको सशस्त्र प्रहरीको भनाई रहेको छ । यस्ता किसिमका घटना अन्य ठाउँमा समेत दोहोरिन सक्ने भन्दै त्यसको जानकारी मन्त्रालयलाई गराइने बताइएको छ ।