एमसीसी जस्केलाबाट पारित गर्न खोजिएको छैन–प्रम ओली

काठमाडौं, ०६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट पारित गर्न नखोजिएको बताउनुभएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले एमसीसी पास गर्ने÷नगर्ने विषय अब संसदको भएको बताउनुभयो ।
जेठ २ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको ‘बुँदा नम्बर २ सय ११ मा लप्सीफेदी— रातमाटे—हेटौडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४ सय केभी ट्रान्समिसन लाईन’को विषय उल्लेख छ । सोही विषयमा सत्तारुढ दलकै सांसदहरुले एमसीसी जस्केलाबाट ल्याउन खोजिएको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले ट्रान्समिसन लाइन अनिवार्य ढंगले बनाउनुपर्ने कुरा भएकाले पछाडी ढोका नभइ अगाडीकै ढाकाबाट बनाइने बताउनुभयो । एमसीसी पास भए÷नभएपनि लप्सीफेदी—रातमाटे—हेटौडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४ सय केभी ट्रान्समिसन लाईन बनिछाड्ने प्रधानमन्त्री उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हाम्रो जलस्रोतको धनि देश । हामी बेसरी उत्पादन गर्दैछौँ र त्यसरी उत्पादन गरेको विजुलीका लागि ट्रान्समिसन लाइन चाहिएन ? त्यस कारण यो प्रश्न ट्रान्समिसन बनाउने भन्ने कुरा हो र ट्रान्समिसन लाइन अनिवार्य ढंगले बनाउन्छ । यो पछाडीको ढोकाबाट होइन अगाडीको ढोकाबाट । जस्केलाबाट होइन मुल बाटोबाट बनाइन्छ । एमसीसीले बनाउँछ भने एमसीसीले बनाउछ । त्यसले बनाउँदैन भने अरुले बनाउँछ । कसैले नभए हामीले बनाउँछौँ । तर यो बन्छ, बन्छ । बनाइन्छ बनाइन्छ ।’’
नेपालमा उत्पादन भएको विद्युत अन्य देशमा निर्यात गर्न पनि ट्रान्समिसन लाइनको आवश्यकता पर्ने उहाँले बताउनुभयो । ‘‘ठूलो लगानी गरेर उत्पादन भएको विद्युत कहाँ लाने ? डोकामा बोकेर लाने कुरा भएन् । केहीमा बोकेर लाने कुरा भएन् । त्यसकारण त्यसका लागि चाहिने ट्रान्समिसन लाइन त्यो अनिवार्य छ । हामी बनाउँछौँ ।’’
प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्ने÷नगर्ने कुराको निष्कर्ष सदनले निकाल्नुपर्ने बताउनुभयो । विगतको सरकारले गरेको सम्झौता अविच्छिन्न उत्तराधिकारको हैसियतले अहिलेको सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको उहाँले बताउनुभयो । अघिल्लो सरकारले गरेका सम्झौता पारित गर्दैनौ भन्न नमल्निे भन्दै ओलीले सम्झौताको परिपालना नभए कुटनीतिक विश्वसनियता, राज्यहरुका बीचमा गरेका सम्झौताहरुको विश्वसनियता र नीतिहरुको निर्णयहरुको स्थिरता तथा स्थायित्वको विश्वसनियतामाथि प्रश्न उठ्ने बताउनुभयो ।
दलहरुकाबीचमा छलफल गर्नुपर्ने भए छलफल गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘दलहरुभित्र छलफलका वा माननिय ज्युहरुबीचका छलफलका भिन्नताहरु हुन सक्छन् । त्यती बेलै प्रकट हुनुपर्ने थियो । तर सम्झौता हुनुभन्दा अगाडी भएन भने । अहिले पनि छलफल गर्न सकिन्छ त्यो आफ्नो ठाउँमा छ । त्यो छलफल गर्न सकिन्छ एमसीसी पास गर्ने भए गर्ने, नगर्ने भए नगर्ने सदनले निर्णय गर्न सक्छ । सभामुखको टेबुलमा आइसकेको छ । संसदले निर्णय गर्न सक्छ । त्यो भन्दा अगाडी दलहरुका बीचमा छलफल गर्नुछ दलका बीचमा कुनै कुराहरु छन् वा त्यस सम्झौताका कुरामा केही गर्नुपर्नेछन भने त्यो दलका कुरा भए । पास नगर्ने दलहरुका निष्कर्ष निस्किन्छन भने त्यस अनुसार ह्वीप जारी गर्नुप¥यो । फेल गर्नुप¥यो त्यो आफ्नो ठाउँमा छ । तर संसदको प्रोपर्टीका रुपमा आइसकेको छ संसदले निर्णय गुर्नपर्छ ।’’
ट्रान्समिसन लाइन बनाउने बुँदामा एमसीसी उल्लेख नभएको बताउँदै ओलीले सरकारले भोलीका लागि आज पेट काटेर, पटुका बाँधेर भएपनि बनाउने बताउनुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्युतको व्यापार गर्नका लागि यसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘लाइन नै नबनाइ विद्युत कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापार गर्ने ? बंगलादेशसँग व्यापार गर्ने भनेका छौँ । अनि के गर्छौ ? कसरी लिएर जान्छौँ ? ट्रकमा त जाँदैन विजुली, रेलबाट, पानी जहाजबाट पनि जाँदैन ट्रान्समिसन लाइन चाहिन्छ । त्यसैले लाइन बनाउछौँ भनेर भनिएको हो ।’’
सरकारका सम्बन्धमा
सरकारले नीति तथा कार्यक्रममा आफ्नो गुणगान मात्रै गाएको भन्ने जिज्ञासाको जवाफमा ओलीले स्थायी सरकारले भएकाले दिर्घकालिन योजनाहरु सञ्चालन गर्ने नीति लिएको बताउनुभयो । २ वर्षको अवधिमा सरकारले ३६ सय किलोमिटर बाटो निर्माण गरेको तथा ३ सय २५ पक्की पुल बनाएको उहाँले बताउनुभयो । यो भन्दा तिव्र गतिले काम अघि बढ्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले दिर्घकालिन योजना बनाएर अगाडी बढेको बताउनुभएको छ । अहिले कोरोना महामारीमा मात्रै केन्द्रीत नभएर भोलीका लागि पनि सरकारले योजनाहरु अघि सारेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘अहिले महाप्रलयको कल्पना गर्ने ? अब मावन जाति रहँदैन भन्ने कुरा गर्ने ? आशावादी बन्नु पर्छ । केही वर्षको कुरा हो कोरोना नियन्त्रण गर्छौ छोटो समयमा अनि नेपाल एउटा विकशित राष्ट्र हुने छ ।’’
प्रधानमन्त्री ओलीले उच्च मनोबलले सफलता प्राप्त हुने बताउनुभयो । तेह्रौँ सागमा ३ वटा स्वर्ण जितेको नेपालले १४ औं सागमा ५१ वटा स्वर्ण पदक जित्न सफल भएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘‘१३ औं सागमा तीनवटा स्वर्ण आएका थिए । भूकम्पले थिलथिल्याएको पूर्वाधार थिएन् । त्यस्तो अवस्थमा सरकारमा आएपछि पूर्वाधार विकास गरेर १४ औं सागमा ५०, ५१ वटा स्वर्ण पदक जित्यौँ । अघिल्लोमा ३ वटा, अर्को पाइला चाल्दा ५१ स्वर्ण पदक कस्तो हुन्छ मनोबल कस्तो हुन्छ उत्साह । हो त्यही उच्च मनोबल आत्मविश्वासका साथ सरकार अघि बढेको छ ।’’
प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुलाई काममा प्रतिपर्धा गर्न पनि आग्रह गर्नुभएको छ । सरकारलाई असफल बनाएर, अलोकप्रिय देखाएर जनतामा भ्रम फैलाउर सफलता नपाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभो, ‘‘आँप जति फलेपनि त्यसको रुखमा फलेन । त्यसको बोटा खाली नै छ छ्याकर्यक्क प¥यो । मर्न लाग्यो बोट आदि । जे भनेपनि तपाईले आफैले बोट लगाए त्यो भन्दा बढी फलाउनुभयो भने मान्छे पत्याउँछ । आँप फलेन भनेर क्रिटिसाइज गरेको भरमा, आँप पनि अलि चुच्चो चुच्चो परेको छ । गतिलो छैन भनेर आलोचना गरेका भरमा जनताले पत्याउँछ र अनि आकर्षित आफुतिर हुन्छ भन्ने भ्रम नपारौ । स्वच्छ प्रतिस्पर्धा गरौँ ।’’
प्रधानमन्त्री ओलीले अहिलेको सरकार अल्प अवधिको सरकार नभएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘यो सरकार अहिलेलाई ५ वर्षको हो । पछिको कुरा पछि गरौला । पछिको कुरा अहिले भनेर मान्छेलाई झस्काउने चस्काउने कन पार्ने ? त्यो नगरौँ अहिलेका लागि यो सरकार ५ वर्षको हो । ५ वर्षको अगाडी देखि पछाडीसम्मका योजना बनाएर अगाडी बढेको छ ।’’
कोरोना संक्रमण नियन्त्रणमा नेपालले गरिरहेका प्रयास सफल सावित भएको उहाँले बताउनुभयो । विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोनाका कारण २ जनाको मृत्यु भएको उल्लेख गर्दै उहाँले नेपालको अवस्था भयावह नरहेको बताउनुभयो ।
भूमि फिर्ता गर्न सक्छौँ
प्रधानमन्त्री ओलीले सरकारको निर्णयले नेपालको मानचित्रमा परिवर्तन आएको बताउनुभएको छ । नयाँ नक्सा जारी भएपनि भूमि फिर्ता ल्याउन सोचेजस्तो सजिलो नभएको उहाँले बताउनुभयो । संविधानमा नक्सा परिवर्तन भएपछि निशान छाप, विद्यालयका पाठ्यापुस्तक र सबै क्षेत्रमा लागु हुने उहाँले बताउनुभयो ।
भूमि फिर्ता गर्न सजिलो नभएपनि सत्यको जीत हुन्छ भन्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारतको एउटा प्रतिक चिह्न छ । त्यो भारत भनेर चिनिने अकोशाले स्थापना गरेको चारमुखे सिंह भारतको प्रतिक चिह्न छ । त्यसको मुनि सत्यमेव जयते लेख्या हुन्छ । सत्यमेव जयते भारतको चिह्न पनि छ विश्वास चाँही म गर्छु । म सोध्ने वाला छु भारतलाई सत्यमेव जयते की, सिंह जयते ? सिंहमेव जयते कि सत्यमेव जयते ? दुबै लेख्या छ । माथितिर चारमुखे सिंह तर तिर सत्यमेव जयते छ । त्यसैले म विश्वास गर्छु नेपाल विश्वास गर्छ । हामी सबै विश्वास गछौँ सत्यमेव जयते । त्यसकारण हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौँ किन की सत्यमेव जयते ।’’