काठमाडौं, ०४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउन बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषदले जेठ २० गतेसम्म कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लक डाउन थप कडाई गर्न सरकारलाई सिफारिस गरेको हो । लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो । बजेट छुट्याएरै भएपनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । उहाँले भन्नुभयो, ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खवरपनि आएका छन् । लक डाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लक डाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’’
सरकारले कडाईका साथै जेठ २० गतेसम्म लकडाउन लम्बाएता पनि अहिले राजधानी लगायतका जिल्लाहरुमा लकडाउनको नीति नियम भने पूर्ण रुपमा भने पालना गराउन नसकेको देखिएको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचनाको बुँदाहरुलाई राजधानी लगायतका जिल्ला प्रशासन र प्रहरीले पूर्ण रुपमा पालना गर्न नसकेको कारण कोरोनाको विरामी अझै बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।