विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन सरकारले ठोस योजना नबनाएको सांसदहरुको आरोप

विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन सरकारले ठोस योजना नबनाएको सांसदहरुको आरोप

काठमाडौं, ०४ जेठ । विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको आरोप सांसदहरुले लगाएका छन् ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि अधिकांश मुलुकहरुले लकडाउन गरेपछि समस्यामा परेका नेपालीहरुलाई ठोस योजना सहित नेपाल ल्याउन सरकारले कुनै पहल नगरेको आरोप सांसदहरुले लगाएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका सांसदहरुले सरकारले कोरोना नियन्त्रणका लागि कोष खडा गर्ने तर खर्च नगर्ने तथा विदेशबाट आउन चाहेका नेपालीहरुलाई ल्याउनै हुन्न भन्ने किसिमले व्यवहार गरेको बताएका हुन् । उनीहरुले कोषमा जम्मा भएको रकम खर्च गरी समस्यामा परेका सबैको व्यवस्थापन गर्न समेत माग गरेका छन् । भारत तर्फको सीमा सम्म मानिसहरु आफै आइसकेको अवस्थामा सरकारले स्वास्थ्य परीक्षण र उपयुक्त क्वारेनटाइनको व्यवस्था गरी नेपाल ल्याउनुपर्ने माग सांसदहरुले गरेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने भारत तर्फको सिमामा आएर बसेका नेपालीहरु, विदेशमा समस्यामा परेका नेपालीहरु र घर फर्कन चाहने नेपालीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । त्यसका लागि सरकारले कसरी काम गरिरहेको छ भन्ने विषयमा समितिले जानकारी लिएर आवश्यक निर्देशन दिनुपर्ने नेपालले बताउनुभयो । उहाँले अति समस्यामा परेका नेपालीहरु, समस्या नभएपनि घर फर्कन चाहेका नेपालीहरु, भारत तर्फको सिमामा आइसकेका नेपालीहरु सबैलाई वर्गिकरण गरी अति समस्यमा परेकालाई पहिलो प्राथमिकता दिएर उद्धार गर्नका लागि सरकारले जानकारी लिने काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैभन्दा पहिलो चासो हामीलाई भारतसँगको सीमा खुला भएको हुनाले भारतमा रहेका नेपालीहरु, सिमामा आइसकेका नेपालीहरु, र आआफ्नो ठाउँबाट नेपालमा छिटो फर्कन चाहने नेपालीहरु त्यो अहिलेको निम्ति समस्याको पाटो छ । त्यसको निम्तिपनि गम्भिरताका साथ सरकारले सबै काम गर्न सकेको छ कि छैन ? त्यसपछि बाहिर बसेकाहरु मध्येपनि विभिन्न क्याटोगरिकाहरुका छन् । त्यस मध्ये सारै बिजोग भएर निकै ठूलो समस्यामा परेर चाहे त्यो यौन शोषण जस्तो कुरा होस, चाहे अरु किसिमको यातना जस्तो कुरा होस त्यस्तो बिजोग भएर बसेको अवस्थामा नेपालीहरु कहिं छन कि छैनन? सरकारलाई त्यसको जानकारी, एम्बेसीहरुलाई त्यसको जानकारी छ कि छैन ?’
भारतीय सिमामा आएर नेपाल भित्र प्रवेश गर्न नपाएका सबै नेपालीलाई परीक्षण गरी नेपाल भित्र्याउनु पर्ने सांसद प्रकाशमान सिंहले बताउनुभयो । उहाँले कोरोना भाइरस नियन्त्रण एवं रोकथामका लागि काम गर्न स्थानीय सरकारलाई अधिकार र बजेट दुवै दिनुपर्ने बताउनुभयो । संघीय सरकारले निर्देशन दिने तर बजेट नदिएको प्रति आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारले विपद् व्यवस्थापन कोष खडा गरेर तयार गरेको कोषको रकम खर्च नगरेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय सरकारहरुको नेतृत्व गरेकाहरुको अन्तरवार्ता सुन्दाखेरी के भइरहेको छ भन्दाखेरी केन्द्रबाट निर्देशन आउँछ सुको एक पैसा दिएको छैन हामीले प्रथम चरणको राहतमा करोडौं बाँडीसक्यौं अब हामीले के गर्ने ? सरकारले त गर्नुप¥यो नी त । यो कोष पनि त छ त्यो कोष के को लागि हो ?’ उहाँले विदेशमा समस्यामा परेर बसेका नेपालीहरु रुदै अन्तरवार्ता दिएको देख्दा समेत सरकारले नसुनेको भन्दै तत्काल सबैलाई नेपाल ल्याई व्यवस्थित गर्नुपर्ने बतउनुभयो ।
सांसद पुष्पा भुसालले चुनावमा भोट हाल्नका लागि विदेशमा रहेका नेपालीहरुलाई देश फर्कन आह्वान गर्न सक्ने सरकारले अहिले विपद्को अवस्थामा उतै बस भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजोको दिनमा चुनावमा लडदैजाँदा खेरी विदेशमा भएका मतदातालाई ल्याउनको लागि हामीले अभिलेखहरु राख्ने, विदेशबाट आउनलाई पत्र पठाउने, भारतमा रहेका लाखौं हाम्रा मतदातालाई हरेक पार्टीले मत दिनको लागि हामी माननिय हुनको लागि भोट हाल्नको लागि पत्र पठाउन मिल्ने अहिले विदेशमा अलपत्रमा रहेका नेपालीहरु र भारतमा रहेका नेपालीहरु हामी हाम्रो देश फर्किन चाहन्छौं हामीलाई जीवन रक्षा गर्नुप¥यो, हामीलाई सुरक्षाको अनुभुति दिनु प¥यो भन्दै गर्दा सरकारले के हेरेर बसेको ।’ उहाँले कुवेत लागयतका देशबाट रुदै जीवन रक्षाको माग गरेको अवस्थामा पनि सरकारले वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो ‘कुवेतबाट महिलाहरुको चित्कार सुनेको छ कि छैन ? तीन दिन भइसक्यो हामीलाई यहाँ छोडनुपर्छ भनिराखेको छ भने यो सरकारले डिप्लोम्याट्सहरु राखेको छ राजदूतावास राखेको छ उनीहरुले त्यसको अभिलेख राखेर त्यहाँको उद्धारको लागि र नेपालमा ल्याएर पीसीआर र क्वारेन्टाइनको व्यवस्थाको लागि यो सरकारसँग रकम छैन् । ढुकुटी छैन कसले पत्याउँछ ।’
सांसद दिव्यमणि राजभण्डारीले बोर्डरमा रहेका नेपाली नागरिकहरु र विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार नगरेर सरकारले लाचारी पन देखाएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुले नै पठाएको रेमिट्यान्सले थामेको देशको सरकारले उनीहरुलाई समस्या पर्दा सहयोग नगर्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जो सुकै होस चाहे भारतमा होस, चाहे विदेशमा होस उनीहरुले कमाएर ल्याएको पैसाले उनीहरुको रेमिट्यान्सले राज्यलाई कति थामिरहेको थियो । हामीले पनि कति खाइरहेका थियौं । त आज उनीहरुलाई आवस्यकता पर्दा हामीले के गर्न सक्यौं । लाचारी छौं हामी । किनभने हाम्रो चाहना हुँदाहुँदै हाम्रो उनीहरुप्रति करुणा हुँदाहुँदै सरकारको कुनै यसमा इनिसेटिभ नै छैन । सरकारले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा उनीहरुको केही पनि देखिदैन् । यो दुर्भाग्य हो ।’
सांसद भिमबहादुर रावलले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा विभिन्न छ वटा उपायहरु प्रस्तुत गर्नुभयो । विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरुको सम्बन्धमा सरकारको स्पस्ट नीति हुनुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई वर्गिकरण गरी नेपाल ल्याउने र स्वास्थ्य उपचार तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, आफ्नै खर्चमा आउन सक्ने र बेखर्ची भई अलपत्र परेका नेपालीहरुको विवरण तयार गरी उद्धार गर्ने, भारतसँगको सिमामा आइसकेकाहरुको लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गर्ने र क्वारेन्टाइनको व्यवस्था गरी तत्काल देशभित्र ल्याउने, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरु रहेका देशका सरकारसँग वार्ता गरी नेपालको ठोस प्रस्ताव पठाउने, नेपाल नल्याउँदा सम्मका लागि सम्बन्धित देशले खाने बस्ने र स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने र प्रवासमा रहेका नेपालीहरुको नियमित जानकारी लिन छुट्टै निकाय निर्माण गर्नुपर्ने बताउनुभयो । सांसद रावलले विदेशमा रहेका नेपालीहरुले गुनासो राख्ने ठाउँसमेत नरहेको बताउनुभयो । उहाँले परराष्ट्रय मन्त्रालय र श्रम मन्त्रालयका संयन्त्रहरु भएपनि गुनासो नसुन्ने भएकाले नेपालीहरु अलपत्र परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विदेशमा रहेका नेपालीहरुले गुनासो राख्ने ठाउँपनि छैन् । त्यो कुरालाई अनुगमन गर्ने ठाउँपनि छैन् । परराष्ट्र मन्त्रालय भनेर विदेश मामला हेर्ने भन्ने त छ तर त्यसले विशेष रुपमा केही पनि हेर्दैन् । श्रम मन्त्रालयले पनि केही पनि हेर्दैन् । अव यस्तो अवस्था भइरहयो भने यसले नेपालको अन्तर्राष्ट्रिय क्षवि विगार्नुका साथसाथै भोली एकैचोटी नेपालीहरु खासगरी भारत प्रवासबाट लाखौंको संख्यामा सिमानामा आए भने यसले अत्यन्तै ठूलो संकट हाम्रा सामु उपस्थित हुन्छ ।’
सांसद सुरेन्द्र कुमार कार्कीले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई ल्याउन सरकारले कुनै पहल नगरिरहेको अवस्थामा समितिले ठोस नतिजा आउने गरी निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले समस्यामा भएका नेपालीलाई ल्याउनका लागि सबै देशलाई परीक्षण गराउन पत्राचार गर्ने र देशहरुलाई वर्गिकरण गरी प्राथमिकताका आधारमा ल्याउने व्यवस्था मलाउने गरी सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘क्याटेगोरिकल्ली यति दिन भित्रमा चिठिपत्र लेख्ने, अव सात दिन भित्रमा चिठि लेख्दा भइहाल्यो, सबै देशलाई की तपाइहरुले परीक्षण गराईदिनुस हाम्रो मान्छेलाई भनेर । कुनकुन देश रातो सेतो छ भनेर यहि बसेर गर्न सकिन्छ अहिले गुगलमा हेरेर । तेस्रो हाम्रा मान्छेको क्याटागोरी कसलाई सबैभन्दा अर्जेन्ट ल्याउनु परेको छ त्यो मान्छेको क्याटोगराइज गरौं । यता आन्तरिक रुपमा क्वारेन्टाइनहरु विस्तार गर्ने, त्यो क्वारेन्टाइनसँग हस्पिटललाई लिंक गर्ने, र त्यसलाई सहयोग गर्ने, त्यसको अवलोकन गर्ने, त्यसको अध्ययन गर्ने गरौं ।’
सरकारले विदेशमा रहेका र भारतसँगको सिमामा आएर बसेका नेपालीहरुलाई सम्बन्धित देशले नै व्यवस्थापन गर्ने बताउँदै आएको छ । तर नेपालीहरुले भने आफुहरु विदेशमा निकै समस्यामा भएको, खाने बस्ने व्यवस्था राम्रो नभएको र अमानविय व्यवहार भइरहेको भन्दै सरकारसाग देश फिर्ता आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यसै सम्बन्धमा अन्तराष्ट्रिय सम्बन्ध समितिमा रहेका सांदहरुले सरकारलाई ठोस योजना सहित समस्यामा परेका नेपालीहरुलाई ल्याउन माग गरेका हुन् ।