सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक

सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक

काठमाडौं, ०८ चैत्र । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाईरस संक्रमणको विषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको भन्दै खण्डन गरेको छ ।
शनिबार विहानै देखि फेसबुक लगायत समाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड १९ का विरामी भेटिएको भन्ने भ्रामक र झुटा सूचना प्रेषित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पतालले संकटका बेला भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
विश्व समुदायको नै चुनौति बनेको कोरोना भाईरसको संक्रमण भित्रन नदिने राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपुर्ण भएको भन्दै भ्रम फैलानेलाई कारवाही गर्न पनि माग गरेको छ ।
अस्पतालका नायव महाप्रबन्धक एवं प्रवक्ता आर पी मैनालीले कुरा गर्दै उपचाररत कुनै पनि विरामीमा कोरोना भाईरसको लक्षण नदेखिएको स्पष्ट पार्नुभयो । उहाँले अस्पतालले कोरोना संक्रमणको जोखिमबाट बच्च र बचाउनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको स्पष्ट पार्नुभयो । सरकारले अनुमति दिएको अवस्थामा कोरोना संक्रमणको परीक्षण गर्न सक्ने गरि तयारी अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले सामान्य ज्वरो आएका विरामीलाई राख्ने गरि छुट्टै व्यवस्था गरेको छ ।
शनिबार विहानैदेखि फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड १९ का विरामी भेटिएको सूचना प्रकाशित भएपछि अस्पतालले त्यस्ता विरामी फेला नपरेको भन्दै प्रेस विज्ञप्ती नै जारी गरेको छ ।