नेपालगन्ज, १२ साउन । यहाँस्थित कृष्णा होटल हाल होटल डायमण्ड प्यालेसले सम्मानित बाँके जिल्ला अदालतको मिति २०८१/१/२० गते आदेशको अवहेलना गरी ह्याप्पी आवर क्यासिनोको बोर्ड राखी क्यासिनो संचालन गर्ने तयारी गरीरहेकोले सम्मानित अदालतको ठाडो अवहेलना गरेको देखिएको छ । यस विषयमा नेपाल प्रहरीका आईजिपी दिपक थापाले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मार्फत बाँके प्रहरीलाई छानबिन गरी बोर्ड हटाई संचालन रोक्न आदेश दिएकोमा जिल्ला प्रशासन कार्यालयका सिडियो धर्मराज जोशी मौन बस्दा बाँके प्रहरीले आईजीपीको आदेश समेत पालना गरेको पाइएको छैन ।

मिति २०८१/१/२० गते सम्मानित बाँके जिल्ला अदालतको आदेशमा ‘सम्झौतामा उल्लेख गरेबमोजिमको क्यासिनो भवन हाल यथास्थितिमा राखि सो स्थान र भवन अन्य तेस्रो पक्षलाई भाडामा दिने तथा क्यासिनो संचालन गर्न दिने समेतका कुनै काम नगर्नु नगराउनु भनि प्रतिवादीहरुका नाममा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६(२) बमोजिम प्रस्तुत आदेश गरिदिएको छ ।’ उल्लेख गरिएको छ ।

नेपाल राजपत्रमा २०८२ असार ३० गते क्यासिनोको विषयमा ‘परिच्छेद–४ क्यासिनो व्यवस्थापन तथा संचालन ११ क्यासिनोको संचालन (१) मा यो नियमावली प्रारम्भ हुँदाका बखत एकभन्दा बढी क्यासिनो संचालन गरिरहेको कम्पनीले ऐनको दफा ४५ज. को उपदफा (४) बमोजिम सम्बत् २०८२ साल असार मसान्तभित्र कुनै एक क्यासिनो मात्र संचालन गर्न विभागमा निवेदन दिनु पर्नेछ’ उल्लेख छ ।
नेपाल राजपत्रमा क्यासिनो सम्बन्धी नेपाल सरकारको निर्णयसँगै २०८२ साउन १ गते प्रहरी पुगी यहाँस्थित ड्रिमल्याण्ड होटलमा संचालनमा रहेको ह्याप्पी आवर क्यासिनो बन्द गराएको थियो । केही समय शान्त भएकोमा कुनै पनि स्टार सुविधा नपाएको होटल डायमण्ड प्यालेसमा ह्याप्पी आवर क्यासिनोको बोर्ड लगाएलगत्तै ध्वनिखबर मिडियाले प्रत्यक्ष प्रशारण गरी समाचार प्रकाशित गरेपछि नेपाल प्रहरी आईजीपी दिपक थापाले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मार्फत बाँके प्रहरीसम्म आदेश पुगेपछि बन्द गराउन पुगेको प्रहरी टोलीलाई क्यासिनोका संचालकले ठाउँसारीको निवेदन दिएको भन्दै प्रहरीलाई फिर्ता पठायो । यसविषयमा पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी भन्नुहुन्छ–‘ह्याप्पी आवर क्यासिनोलाई ठाउँसारीको अनुमति दिएका छैनौं । नेपाल राजपत्रमा क्यासिनोको विषयमा प्रकाशित भएबमोजिम ह्याप्पी आवर क्यासिनोले नेपालगन्जमा क्यासिनो संचालन गर्न पाउँदैन ।’
बाँके प्रहरी एक पटक ह्याप्पी आवर क्यासिनोमा पुग्यो तर बाँके सिडियो धर्मराज जोशी भने यस विषयमा केही नबोली मौन बसेकोले बाँके प्रहरी अगाडि बढ्न डराएको खबर प्राप्त भएको छ । ह्याप्पी आवर क्यासिनोका मालिक र बाँके सिडियो धर्मराज जोशी सुदूरपश्चिमका परेकाले सम्मानित अदालतको आदेशको अवहेलना हुँदा पनि सरोकारवाला निकाय भने मौन बसेको देखिएको छ । प्रहरी स्रोत भन्छ–‘बाँके सिडियोले मुल्याँकनमा नम्बर दिने भएकाले बाँके सिडियोको आदेश बिना अगाडी बढ्यो भने जागीरे जीवनमा धक्का लाग्ने भएकोले बाँके एसपी बाध्यताका साथ मौन बस्नु परेको हो ।’
होटल डायमण्ड प्यालेसले जुंगे महादेवको १२ कठ्ठा र ऐलानी ४ कठ्ठाको विषयमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा उजुरी पर्नु को साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरीरहेको अवस्थामा उक्त होटललाई पर्यटन विभागले कुनै पनि स्टारको सुविधा नदिएको बताइएको छ ।
नेपाल राजपत्र विपरित र सम्मानित बाँके जिल्ला अदालतको आदेशको अवहेलना हुँदा पनि बाँके सिडियो धर्मराज जोशीको कारण होटल डायमण्ड प्यालेसमा कुनै कानुनी कारवाहीको लागि कदम भने चालिएको छैन ।