रामेश्वर गौतम
नेपालगन्ज, २० जेठ । नेपालगन्ज वडा नं. २ स्थित डायमण्ड प्यालेस होटलले ४ वा ५ तारे होटलको अनुमति बैगर क्यासिनो संचालन गर्न नपाउने भनी पर्यटन विभाग काठमाडौंले बताएको छ ।
डायमण्ड प्यालेस होटलले क्यासिनोको लागि कर्मचारी आवश्यकता भनी सूचना जारी गरेपछि क्यासिनो खोल्ने अनुमतिको विषयमा जानकारी लिने क्रममा पर्यटन विभाग काठमाडौंका सूचना अधिकारी लिलाधर अवस्थी भन्नुहुन्छ–‘डायमण्ड प्यालेस होटलले ४ वा ५ तारे होटलको अनुमति लिएको विभागमा कुनै रिकर्ड छैन र देखिदैन । ४ वा ५ तारे होटलको अनुमति बिना कुनै पनि क्यासिनो संचालन गर्न पाइदैन, यो गैर कानुनी हो । अनुमति बिना क्यासिनो संचालन गर्छ भने स्थानिय प्रशासनले कानुनी कारवाही गर्नु पर्छ ।’

डायमण्ड प्यालेस होटलले क्यासिनो संचालन गर्ने अनुमति नपाउँदै खुलेआम कर्मचारी आवश्यकताको सुचना जारी गर्दा बाँके प्रशासनले भने अहिलेसम्म कुनै कदम चालेको भने देखिएको छैन । साथै डायमण्ड प्यालेस होटलमा कहिले काही क्यासिनो संचालन भएको खबर पाएको भन्दै पर्यटन विभाग काठमाडौंका सूचना अधिकारी लिलाधर अवस्थी अगाडी थप्नु हुन्छ–‘त्यो होटलमा गैर कानुनी रुपमा क्यासिनो संचालन हुने खबर हामीले पनि पाएका छौं । यस विषयमा बाँके जिल्लाका प्रहरी प्रशासनले कडा रुपमा निगरानी राख्नु पर्ने आवश्यकतासँगै कारवाही गर्नु पर्छ ।’
डायमण्ड प्यालेस होटलका मालिक सुरेन्द्र बहादुर सिंह सुदूरपश्चिमका बासिन्दा भएको र बाँके जिल्लाका केही अधिकारी हाकिम पनि सुदूरपश्चिमका भएकाले होटलका मालिक सिंहले जे जस्तो गैर कानुनी काम गर्दा पनि मौन बसेको हुन सक्ने स्थानिय जनताले आरोप लगाउन थालेका छन् ।
डायमण्ड प्यालेस होटलले जुंगे महादेवको १२ कठ्ठा र ऐलानी सरकारी ४ कठ्ठा जग्गा कब्जा गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राख्दा अनुमति बिना क्यासिनो संचालन गर्न प्रचारप्रसार गर्दा पनि बाँके प्रशासन लगायत सरोकार निकायले कुनै चासो नदेखाएकोले ठुलो रहस्य लुकेको स्थानिय जनताले आंकलन गरेको पाइएको छ ।
नेपालगन्ज न्यूरोड निबासी बागेश्वरी मन्दिरको सानो महन्त पदम गिरीको बुवा भोलानाथ गिरीले जुंगे महादेवको १२ कठ्ठा जग्गा अमात्य थर भएकोलाई उक्त जग्गा बिक्री गरेको तथा अमात्यले दिपु अग्रवाललाई बिक्री गरेको अपुष्ट खबर प्राप्त भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसलाई आधार मानी सुक्ष्म छानबिन गर्नु पर्नेमा स्थानिय जनता एक मत देखिएका छन् ।
उता क्यासिनो संचालन सम्बन्धी मापदण्ड अनुसार पनि डायमण्ड प्यालेस होटलले क्यासिनो संचालन गर्न कुनै पनि हालतमा अनुमति पाउन नसक्नेमा विभागका एक अधिकारीले बताएका छन् ।