काठमाडौं, ९ बैशाख । नेपालगन्ज नर्सिंग होम अर्थात संजिवनी अस्पतालमा भर्ना भएका विरामीलाई ललाईफकाई अनि यस्तो उस्तो हुन सक्छ भनी डराई केही फार्मेसी सक्रिय भई नेपाली विरामीलाई लखनउको नीजि अस्पतालमा पठाई मोटो कमिशन लिने गरेको चर्चासँगै आइतबार राती केही फार्मेसीले रुकुम जिल्ला निवासी विरामी लखनउ पठाउन गरिएको मोलमोलाई प्रमाण आएको छ ।
नेपालगन्ज नसिंग होम नजिक रहेका डिग्रेसाई कुमारी फार्मेसीमा सोही फार्मेसीका मालिक गणेश विक र मिडिल फार्मेसीका भीम भण्डारीले आइतबार करिब ९ बजेदेखि लखनउ अस्पतालसँग कुराकानी गरी इस्माईल फाउण्डेन एम्बुलेन्स चालक जान अली मार्फत विरामी पठाउन लागेको भनी मोलमोलाई गरेको प्राप्त आडियो भिडियो सरोकारवाला निकायलाई पठाउँदा पनि अहिलेसम्म छानबिन नभएको पाइएको छ ।
मेडिकल माफियालाई न्यूनिकरण हुने हेतुले सशस्त्र प्रहरी बल केन्द्रिय सचिवालयको आदेशमा नेपालगन्ज जमुनाहा नाकामा एम्बुलेन्स लखनउ जाँदा सम्पूर्ण विवरण लिई इन्ट्री गराउने गरिएको छ । आइतबार राती करिब १०.४५ बजे इस्माईल फाउण्डेशनको एम्बुलेन्समा विरामी राखी चालक जान अलीले लखनउ लगेको इन्ट्रीबाट खुलेको छ ।
स्मरण रहोस, बाँकेको खजुराको एक विरामीबाट मिडिल फार्मेसीका भीम भण्डारीले रु. ३ लाख ५० हजार कमिशन वापत लिइएको कमिशन ध्वनिखबर मिडियाको पहलमा भण्डारीले लिएको रु. ३ लाख ५० हजारको चेक विरामीको आफन्तलाई फिर्ता गरेको बयान सार्वजनिक भएको छ ।
हाइस बसबाट दुर्घटना भई नेपालगन्ज नर्सिंग होममा आइतबार दिउँसो भर्ना भएकोमा यी दुई फार्मेसीमा आबद्ध विक र भण्डारीले इमरजेन्सीमा कर्मचारी पठाई विरामीका आफन्तलाई लखनउ पठाए ठिक हुन्छ भने ललाईफकाई गरेको अस्पताल तथा अन्य फार्मेसी स्रोतले बतायो ।
नेपालगन्ज नर्सिंग होम अर्थात संजिवनीका अध्यक्ष खुमा अर्यालले मेडिकल माफियाले ठुलो जरो गाडेको स्वीकार्दै अस्पताल प्रशासनलाई कडा आदेश दिई इमरजेन्सीमा फार्मेसी र एम्बुलेन्स चालकलाई प्रवेश निषेध गराइएको बताएपनि त्यहाँ स्थित निजी कम्पनीका सेकुरेटी गार्डको मिलेमतोमा यी दुई फार्मेसीका कर्मचारीलाई कुनै रोकटोक नभएको अन्य फार्मेसीले गुनासो गरेका छन् ।
यस्तै एम्बुलेन्स संचालन निर्देशिका २०७८ अनुसार जुन एरियाको जनताको लागि एम्बुलेन्स दिइएको हो सोही एरियाको संस्थामा एम्बुलेन्स राखी संचालन गर्नु पर्ने उल्लेख भएपनि सबै एम्बुलेन्स नेपालगन्ज नर्सिंग होम नजिक अवैध रुपमा खोलिएको पार्किंगमा पार्क गर्दा पनि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले अहिलेसम्म कुनै महत्वपूर्ण भूमिका खेलेको छैन । यसैगरी एम्बुलेन्स संचालन निर्देशिका २०७८ अनुसार १० वर्ष पुरानो एम्बुलेन्स संचालन गर्न नदिने भनी उल्लेख भएपनि व्यवस्थापन समितिले कुनै चासो देखाएको भने छैन । एम्बुलेन्स चालक संघ बाँकेले बाँके जिल्लामा करिब ६० को हाराहारी एम्बुलेन्स संचालनमा रहेको तथा १० वर्ष पुरानो करिब १८–२० वटा एम्बुलेन्स रहेको बताएको छ ।