काठमाडौं, २५ मंसिर । नेपालगन्जमा एम्बुलेन्सले नेपाली विरामीलाई भारत लखनउको क्रिसेन अस्पतालले दिने कमिशनको लालचमा अधिकांश नेपाली विरामी ठगिंदाको विषय उठानपश्चात प्रधानमन्त्री कार्यालयको हेलो सरकार र गृह मन्त्रालयले बाँके प्रशासनको नाममा पठाएको पत्रको बेवास्ता गर्दै कुनै ठोस कदम अहिलेसम्म चालेको छैन ।
लखनउस्थित क्रिसेन अस्पतालले नर्सिंग होमको आसपास र कोहलपुर मेडिकल कलेजको आसपासको फार्मेसीलाई मोटो कमिशन दिने गरेकोले नेपाली विरामीलाई झुक्काई पठाउने गरेको तथा अधिकांश ठगिने गरेको गुनासोहरु पर्दाफास हुँदा पनि बाँके प्रशासनले कुनै वास्ता गरेको भेटिएको छ ।
यस विषयमा हेलो सरकारले शनिबार र गृह मन्त्रालयले आइतबार बाँके प्रशासनलाई पत्र पठाउँदा आज मंगलबारसम्ममा पनि बाँके प्रशासनले अटेर गरी लखनउस्थित क्रिसेन अस्पतालबाट मोटो कमिशन खाने फार्मेसी र एम्बुलेन्स माफियाको समर्थन गरी कुनै कदम चालेको देखिएको छ ।
कमिशनमा विरामी पठाउँदा ती फार्मेसीले सुर्खेत, दांग, बर्दिया, बाँकेको राप्ती सोनारी, खजुरा, नरैनापुर लगायतको एम्बुलेन्स भाडामा लिई नेपाली विरामीलाई लखनउको क्रिसेन अस्पताल पठाई कमाउ धन्धामा लागेको भेटिएको छ ।


नेपाल सरकार तथा भारतीय दुतावासले निश्चित क्षेत्रको समुदायका जनतालाई एम्बुलेन्स सुविधा दिएकोमा यी फार्मेसीहरुले कमिशनको लालचमा निश्चित क्षेत्रको जनतालाई एम्बुलेन्सबाट बञ्चित गराएका छन् ।
यस विषयमा बाँके ट्राफिक प्रहरीले बाहिरबाट ठेक्कामा ल्याई संचालनमा रहेको नरहेको विषयमा चेकजाँच गर्ने क्रममा बाँके प्रशासनले टेलिफोन गरी ठाडो आदेश दिई चेकजाँचमा रोक लगाएको चर्चा र बाँके प्रशासन मौन रहनु रहस्यमय मानिएको छ ।
यसैगरी नेपालगन्ज नर्सिंग होम आसपास क्षेत्रमा दर्ता नभएको औषधी र नेपाली विरामी लखनउ पठाई ठग्ने गिरोह सक्रिय भएको विषयमा स्वास्थ्य मन्त्रालयलाई सबै थाहा हुँदाहुँदै पनि अहिले सम्म कुनै कदम भने चालेको छैन ।