काठमाडौं, १८ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाँकेले मलमपट्टी मर्निंग वाक ग्रुपको समूहले जिल्ला प्रशासन कार्यालय, बाँकेमा एनजिओ अन्तरगत बैकुण्ठधाम सिधनियाघाटको नाममा दर्ता गर्दा अवैध रुपमा भएको अहिले जिल्लाभर चर्चाको विषय बनेको छ ।
बाँके प्रशासनले एनजिओमा दर्ता गर्दा बैकुण्ठधाम सिधनियाघाटमा आवद्ध पदाधिकारी र सदस्यहरुको विषयमा छानबिन गरी संस्था अन्तरगत दर्ता गर्नु पर्नेमा सिफारिसको भरमा नीति नियम मापदण्डलाई लत्याई अवैध रुपमा दर्ता गरेको विषयमा नगरमा टिकाटिप्पणी र चर्चाको विषय बन्न पुगेको छ ।

बैकुण्ठधाम सिधनियाघाट एनजिओको तदर्थ समिति सदस्यद्वय भेरी अस्पताल (सरकारी) मा कार्यरत डा. बद्री चापागाई (नागकिता नं. २६००९/पर्वत) र डा. कीर्तिपाल सुवेदी (नागरिकता नं. ७३०/दांग) रहेको उल्लेख गरिएको छ । नेपाल सरकारको नीति नियम मापदण्ड अनुसार कुनै सरकारी कर्मचारी भने कुनै पनि एनजिओमा संलग्न हुन नपाउने कानुनी प्रावधान भएपनि बाँके प्रशासनले बैकुण्ठधाम सिधनियाघाटलाई एनजिओमा दर्ता गर्दा कुनै छानबिन नै नगरी दर्ता गरिएको चर्चा हुन आएको हो ।
यसविषयमा भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिजाल (प्रमाण सुरक्षित) ले भेरी अस्पताल सरकारी संस्था हो, सरकारी जागिरे डाक्टर भएपनि एनजिओमा पद लिई प्रत्यक्ष रुपमा काम गर्न नपाउने व्यवस्था रहेको बताउनु भएको छ । तर अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समिति भने मुखमा दही जमाएर विभागीय कारवाहीको लागि स्वास्थ्य विभाग र मन्त्रालयमा कुनै पनि किसिमको पत्राचार भने नगरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
डा. बद्री चापागाईको मलमपट्टी रेष्टुरेण्टमा बाँके सिडियो, सशस्त्र प्रहरी बल ३० नं. गणका एसपी विमल डाँगी र मेयर प्रशान्त विष्टको धेरै नै उठबस हुने गरेकोले सरकारी डाक्टरको नाम एनजिओमा हुँदा पनि बाँके प्रशासनले कुनै छानबिन र वास्ता नगरी बैकुण्ठधाम सिधनियाघाटलाई एनजिओमा दर्ता गरेको अधिकांशको भनाई रहेको छ ।
बैकुण्ठधाम सिधनियाघाट एनजिओमा एक समूहको काँग्रेस र एमालेको राजनीति भागबण्डा :
नेपाली काँग्रेसका स्थानिय नेता मानिने डा. सुरेश कुमार कनोडिया बैकुण्ठधाम सिधनियाघाट एनजिओ तदर्थ समितिका अध्यक्ष हुन । नेपाली काँग्रेसको तर्फबाट टिकट पाई मेयरको निर्वाचनमा पराजित भएपछि राजनीति जीवन सुधार्न २०८४ मा सांसद पदमा टिकट लिई निर्वाचनमा आउने चर्चा छ भने यसैगरी नेपाली काँग्रेस पार्टीभित्र नगर अध्यक्षको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका वर्तमान मेयर प्रशान्त बिष्टसँग भारी मतले पराजित भएकी पुर्व उपमेयर तथा बैकुण्ठधाम सिधनियाघाट तदर्थ समितिका सहसचिव उमा थापा मगर भने विधायकको तयारी गरीरहेको काँग्रेस निकटले बताएका छन् ।
यसैगरी एमालेभित्रको एक गुटमध्ये व्यापारी तथा बैकुण्ठधाम सिधनियाघाट तदर्थ समितिका कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको पद ताकेका छन् भने इन्सेक बाँकेका प्रमुख एवम् बैकुण्ठधाम सिधनियाघाट तदर्थ समितिका उपाध्यक्ष भोलानाथ महत क्षेत्रीले आफ्नो श्रीमती तथा एमाले बाँके जिल्ला कार्यसमिति सदस्य अनिता महतलाई नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदको लागि तयारी गरी रहेकोले आफु सक्रिय रुपमा लागेको बताइएको छ । यस्तै बैकुण्ठधाम सिधनियाघाट तदर्थ समितिका अन्य पदाधिकारीहरुमध्ये केही अस्पताल व्यवसाय तथा केही जग्गा कारोबारमा संलग्न रहेकोले आफ्नो दुनो सोझ्याउन लागेको अधिकांशले बताएका छन् ।