बर्दियादेखि बर्दघाटसम्म गाई गोरुको तस्करी अत्यधिक : पशु विभागले गृह प्रशासनको कमजोरी देखायो (भिडियो सहित)

बर्दियादेखि बर्दघाटसम्म गाई गोरुको तस्करी अत्यधिक : पशु विभागले गृह प्रशासनको कमजोरी देखायो (भिडियो सहित)

काठमाडौं, ०९ कात्तिक । ८१ प्रतिशतभन्दा बढीको संख्यामा हिन्दु धर्ममा आस्था राख्ने भएपनि नेपालमा अहिले अत्यधिक रुपमा गाई गोरुको तस्करी अत्यधिक भईरहेको जनगुनासो आएको छ । बर्दियादेखि बर्दघाटसम्म गाई गोरु संकलन गरी पुर्वको झापासम्म लैजाने र झापाबाट भारत हुँदै बंगलादेश पु¥याई मोटो रकम आम्दानी गर्ने भएकाले अत्यधिक रुपमा गाई गोरुको तस्करी भइरहेको जनाइएको छ ।
ध्वनिखबर डटकमको पहलमा बिहीबार राती बर्दघाटले गाई गोरु लोड गरिएको ५ ट्रक फिर्ता पठायो भने बर्दघाट एसपी ज्ञानेन्द्र फुयाल भन्नुहुन्छ–‘हामीले जानकारी पाएसम्म गाई गोरु फिर्ता पठाउँछौं । क्वारेन्टाइनले कागज दिन्छ र त्यही लिएर गाई गोरु ल्याउने कार्य भईरहेको छ ।’
गाई गोरुको तस्करी भइरहेको विषयमा पशु विभागका महानिर्देशक डा. उमेश दहाल भन्नुहुन्छ–‘क्वारेन्टाइनले बदमासी गरेको रिपोर्ट आए तत्काल कारवाही गछौं । यसमा गृह प्रशासनले सहयोग नगरेको देखिएको हो । गृह प्रशासनले सक्रिय रुपमा सहयोग गरे गाई गोरुको तस्करी राकिन्छ ।’
यसैविषयमा ध्वनिखबर डटकमसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी भन्नुभयो –‘गाई गोरुको तस्करीको विषयमा सबै निकायलाई सजगता अपनाउन र कारवाहीको लागि पत्राचार गरिने छ । ढुक्क रहनोस, गाई गोरु तस्करी पूर्ण रुपमा रोकिने छ ।’
यसैगरी सशस्त्र प्रहरी बल आईजीपी राजु अर्यालले सम्बन्धित बाहिनी र गणहरुलाई कडा निर्देशन दिने प्रतिबद्धता सहित निर्देशन पुगी सकेको जानकारी गराइएको छ ।

बर्दियादेखि बर्दघाटसम्म हुने गाई गोरुको विषयमा बाँके एसपी तुलबहादुर कार्की र दांग एसपीले आफ्ना सबै युनिटलाई आज नै निर्देशन दिई गाई गोरु तस्करी रोकिने कुरामा प्रतिबद्धता जनाउनु भएको छ ।
बर्दघाट स्थानियले ध्वनिखबर डटकमलाई मेसेज गरी प्रमाण अनुसार गाई गोरुको तस्करीमा रोशन डल्लाकोटी, निरज सिंह, नुनु मुसलमान, कान्छा लाल तामांग र प्रमोद यादव भन्ने व्यक्ति मुख्य नाइके रहेको जनाएको छ ।
नेपालका विभिन्न स्थानमा यतिको संख्यामा गाई गोरु उत्पादन नहुने तथा भारतबाट तस्करी गरी नेपाल भित्राउने र सम्बन्धित वडा कार्यालयबाट सेटिंगमा आफ्नै क्षेत्रमा उत्पादन भएको सिफारिस दिने र यसैगरी सेटिंगमा नै क्वारेन्टाइनले सिफारिस दिने गरेको पाइएको छ । सोही अनुसार विभिन्न हाई वे मा रहेका प्रहरी चौकीले मिलेमतोमा छाड्ने गरेको समेत पाइएको छ ।
गाई गोरु तस्करीमा अत्यधिक फाइदा हुने हुँदो सबै निकायलाई भनेकोभन्दा बढी रकम दिने गरेकोले यस विषयमा सिआईबी र अख्तियारले विशेष रुपमा पहल गरी मिलेमतो गर्ने सम्बन्धित अधिकारीको छानबिन र सम्पत्ति शुद्दिकरण गर्नु पर्ने स्थानिय जनताबाट माग समेत बढेको पाइएको छ ।
पशु विभागको ऐन नियम मापदण्ड अनुसार विधिवत रुपमा नेपालको कुनै स्थानमा उत्पादन भएका गाई गोरु ओसारपोसार गर्न पाइन्छ तर नेपालमा संचालनमा रहेका ठुलो ट्रकमा चार वटाभन्दा बढीको संख्यामा लोड गर्न पाइदैन ।