विवेक गाहा (सम्वाददाता)
झापा, ०९ भाद्र । ध्वनिखबर डटकमबाट स्थलगत रिपोर्टिंगपश्चात सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालय हल चोकले छानबिन समिति गठन गरी छानबिन गरी रहेको अवस्थामा पनि झापाबाट गोरु तस्करी नरोकिएको जानकारीमा आएको छ । झापाको विभिन्न स्थानमा गोरुको भण्डारण गरेको स्थानबाट राती १२ देखि ३ बजेसम्म गोरु तस्करी हुने गरेकोमा अहिले खुलेआम दिउँसै गोरु तस्करी भइरहेको तथ्य बाहिर आएको छ ।
रातीको समयमा गोरु तस्करी हुँदा चर्चाको विषय बनेपछि अहिले गाउँलेहरुबाट गोरु डोराउँदै नाका कटाउने तथा सानो गाडीबाट सेटिंगमा दिउँसै हाकाहाकी गोरु तस्करी भइरहेको प्रमाण फेला परेका छ । यस विषयमा भद्रपुर सशस्त्र प्रहरी एसपी कविन्द्र राईले खुला नाका भएकोले गोरु जान सक्ने गैर जिम्मेवारी जवाब समेत दिनु भएको छ ।
झापाको खुल्ला सिमानाकाहरु नक्कल बन्द बाहुनडागी ज्यामिरेगढी कचनकवलबाट तस्करी धन्दा मौलाएकामा अहिले घैला डुब्बा मा रहेका गाई गोरु राजगढ हुँदै जनता बजार भित्री भागबाट पिकअप गाडीमा र डोराएर लैजाने गरेको पाइएको छ । यसरी गाईगोरु तस्करी ले केचनाबाट तस्करी धन्दा दिउँसै १ बजेदेखि ३ बजेसम्म गाईगोरु तस्करी धन्दा चलाउने गर्ने गरेको पाइएको छ । गोरु तस्करी हुनेबाट करिब १०० मिटर दुरीमा सशस्त्र प्रहरी बल भागुडुब्बा र प्रहरी चौकी घेराबारी रहेका छन भने यी दुवै पक्षले रमिता हेर्नबाहेक अरु केही देखिँदैन ।
गोरु तस्करी भएको विषयमा स्थानियले नजिकको सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जानकारी गराउँदा सुरक्षामा खटिनुभएका प्रहरी चौकी घेराबारी र सशस्त्र प्रहरी बल भएको भागुडुब्बा मौन रहेको जानकारी दिएका छन भने केही व्यक्तिहरूले गाली गर्ने र यो कुरा कहीँ कसैलाई भनिस भने तँलाई के गर्नुपर्ने हो हामी गर्छौं भन्ने धम्की दिने गरेको गाउँलेले ध्वनि खबरलाई जानकारी गराएका छन । सुनसरी सशस्त्र प्रहरी बल बाहिनी अड्डा १ गण डीआइजी शम्भु सुवेदीको गाईगोरु तस्करीमा नाम मुच्छिरहेको छ । गोरु तस्करीसँग साँठगाँठ मिलाउनकै लागि डीआइजीका पिए भनिने भुवन खड्काले तस्करसँग मिलेर गाई गोरु भारत पठाउने गरेको पाइएको छ । यता भने डिआइजी शम्भु सुवेदीका विश्वासका पात्र भनेर चिनिने डीआइजी शम्भु सुवेदीका पिए भुवन खड्का र झापा सशस्त्र प्रहरी बल २ नम्बर गण इन्सपेक्टर भीष्म सापकोटा, सुजन श्रेष्ठ रहेका छन भने तस्करी धन्दाका मुख्य भूमिका नाइके जीवन कार्की रहेका छन ।
तस्करसँग वातावरण मिलाउन सशस्त्र प्रहरी बल काकटभिट्टाका इन्स्पेक्टर भीष्म सापकोटाको कमाण्डमा असई रामकुमार म्याङ्गबो, अर्जुन कार्की, रामबहादुर कार्की र श्याम चौधरी रहेका छन । तस्करी धन्दाको विषयमा सुनसरीका सशस्त्र प्रहरी बल बाहिनी अड्डा १ नं गण डिआइजी शम्भु सुवेदीसँग यस विषयमा बुझ्न खोज्दा एसएसपी मनिष थापाले फोन उठाउने गरेका छन । उनले सधै एउटै जवाब ‘डिआइजी साब बिदामा हुनुहुन्छ उहाँको आफ्नै समस्या परेर बिदामा हुनुहुन्छ कहिले आउनुहुन्छ हामीलाई थाहा छैन’ दिने गरेको पाइएको छ । यता भने गाईगोरु तस्करी नाइकेहरुमा राम गुरुङ, नन्दु थापा ,गणेश लिम्बु, विशाल लिम्बु रहेका छन भने तस्करी धन्दाका मुख्य भुमिका नाइके जीवन कार्की रहेका छन ।