काठमाडौं, २५ जेठ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन र आईजीपी सचिवालयले दिएको आदेशको ठाडो उल्लंघन गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सरंक्षणमा अधिकांश जिल्लामा घुमुवा प्रहरीबाट असुलीको धंधा मौलाएको विभिन्न जिल्लाबाट व्यापारीहरुको दुखेसो पोखेको पाइएको छ ।
नेपालभर घुमुवा प्रहरीको आंतकको गुनासो आएपछि उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेले घुमुवा प्रहरी नराख्ने कडा निर्देशन दिएसंगै आईजीपी सचिवालयबाट सात वटै प्रदेश प्रहरी कार्यालयलाई आदेश दिंदै घुमुवा नराख्ने भनी पत्राचार हुँदा समेत घुमुवा आंतक भने रोकिएको छैन ।

आईजीपी सचिवालयको पत्रसँंगै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले मातहतमा रहेका १२ वटा जिल्ला प्रहरी कार्यालयमा समेत घुमुवा नराख्ने भनी संचार समेत पठाएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले १२ वटा जिल्ला प्रहरी कार्यालयमा पठाएको संचारमा ‘तहाँ कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीहरुलाई (अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्यूटीको जिम्मेवारी दिई निजहरुको काम, कारवाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध’ उल्लेख गरिएको छ ।
उपप्रधान तथा गृह मन्त्रीको निर्देशन, आईजीपी सचिवालयको आदेश र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संचारमा जे जस्तो लेखिएको पनि व्यवहारमा असुलीको धन्धा मौलाएको एक पछि अर्को गुनासाहरु आएका छन् । जति गुनासो आएपनि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने कानमा तेल हालेर बसेको अधिकांशले गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको नेपालगन्ज वडा नं. २१ मा भएको हत्या घटनाको विषयमा ५ जनालाई अनुसन्धान गर्न भनी सादा पोशाकमा प्रहरीलाई खटायो । अनुसन्धानको नाममा नाकामा गएर रात दिन ड्यूटीमा लागेको जानकारी गराउँदा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी कुबेर कठायत रुखो स्वरमा भन्छन्–‘अनुसन्धान गर्न सादा पोशाकमा प्रहरी खटाएको हो र खटाउन पाइन्छ, यस विषयमा केन्द्रिय प्रवक्तालाई सोध ।’ तर गृह मन्त्रीको नीजि सचिवालय भन्छन्–‘सादा पोशाकमा प्रहरी राख्न पाइदैन ।’
नेपालगन्ज वडा नं. २१ मा भएको हत्या घटनाको विषय भने प्रहरीको अनुसन्धान करिब करिब सिधिएको अवस्था भएपनि विगत धेरै वर्षदेखि सादा पोशाक (घुमुवा) मा बसी खप्पिस भएकाहरु अहिले नाकामा ड्यूटी दिई जनता तथा व्यापारीहरुलाई आंतकित बनाएको गुनासो आउँदा पनि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी कुबेर कठायतले भने कुनै ठोस कदम चालेको भने देखिएको छैन ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, बाँके अन्तगत कोहलपुर इलाका प्रहरी कार्यालयले सईको कमाण्डमा सादा पोशाकमा घुमुवा राखेको तथ्य विभिन्न मिडियामा सार्वजनिक भईसकेको छ भने जिल्ला प्रहरी कार्यालय, बर्दियामा अघोषित रुपमा सादा पोशाकका प्रहरीहरु पनि नाकामा नै ड्यूटी गरेको त्यहाँका जनताहरु बताउँछन् ।
त्यस्तै पाल्पाका घुमुवाबाट गाई गोरु ओसारपोसारमा सेटिंग मिलाएको विषयमा जनताद्वारा लिखित उजुरी समेत परेको छ भने बर्दघाट नवलपरासी र रुपन्देहीमा समेत घुमुवाबाट असुली धन्धा मौलाएको अहिलेसम्म त्यहाँका स्थानिय जनताले जानकारी गराएका छन् ।
लुम्बिनी प्रदेशको अधिकांश जिल्लामा सादा (घुमुवा) पोशाकको प्रहरीको आंतक दिनानुदिन बढ्दै गर्दा उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेले के कस्तो कदम र कारवाही गर्न सक्छन् ? त्यो भने समयले बताउने छ ।