काठमाडौं, २१ माघ । नेपाल मेडिकल काउन्सिलले दिएको अभिब्यक्ति विरुद्ध नेपाल मेडिकल काउन्सिलले नै नेपालगन्ज मेडिकल कलेजलाई भारतीय डाक्टरबाट ओपिडी संचालन गर्न अनुमति दिएको विषयमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा उजुरी गएको छ ।
नेपालगन्ज मेडिकल कलेजले मेडिकल काउन्सिलबाट अनुमति पाउनु पुर्व भारतीय डाक्टरबाट ओपिडी संचालन हुने भनी अवैध रुपमा बोर्ड झुण्डाएकोमा मिडियाबाट पर्दाफाश हुँदा नेपाल मेडिकल काउन्सिल रजिष्टार डा. विश्व दवाडीले अनुमति नपाउने भनी उक्त अवैध बोर्ड हटाउन लगाएका थिए ।
नेपाल मेडिकल काउन्सिल रजिष्टार डा. विश्व दवाडीले ध्वनिखबर मिडियासँग (ध्वनिखबर मिडियामा भ्वाइस रिकर्ड सार्वजनिक भइसकेको छ ।) भनेका थिए–‘दुरदराज पहाडी क्षेत्रमा मात्रै कुनै पनि भारत तथा विदेशी डाक्टरले निःशुल्क सेवा गर्न चाहेमा काउन्सिलबाट एनएमसी नम्बर र अनुमति लिई निश्चित समयको लागि विरामी चेकजाँच गर्न पाउँछन् । नेपाली विरामी लुट्न ठग्न दिनौं । काउन्सिलले कसैलाई अनुमति दिदैन ।’
नेपाल मेडिकल काउन्सिलले नेपालगन्ज मेडिकल कलेजलाई कुनै पनि हालतमा अनुमति दिनौं भन्दाभन्दै अन्तत अनुमति दिएकोमा ठुलो रकमको चलखेल भएको आशंकामा सुक्ष्म छानबिन र कारवाहीको लागि अख्तियार र सिआईबीमा उजुरी निवेदन पुगेको हो । सिआईबी स्रोत भन्छ–‘गलत गर्ने चौधरी समूहलाई त छोडिएन भने नेपाल मेडिकल काउन्सिल र नेपालगन्ज मेडिकल कलेजमा कुनै कैफियत देखियो भने कानुनको दायरामा ल्याइने छ ।’
उजुरी निवेदनमा नेपाल मेडिकल काउन्सिलले कुन कानुन अन्तरगत नेपालगन्ज मेडिकल कलेजको ओपिडीमा कार्यरत भारतीय डाक्टरसँग कहिले परीक्षा लियो तथा उनीहरुलाई एनएमसी नम्बर किन दिएन भन्ने उल्लेख गरिएको छ ।
सामान्यतया नेपाली विद्यार्थीले भारत चाइना लगायत देशबाट चिकित्सक विषयमा उत्तीर्ण गरेर नेपाल आएपछि नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरी एनएमसी नम्बर प्राप्त गरेपछि मात्र विरामी चेकजाँच गर्ने कानुन छ ।