काठमाडौं, ०७ माघ । लुम्बिनी प्रदेश अन्तरगत १२ जिल्ला मध्ये केही जिल्लामा ट्राफिक प्रहरीको कमाउ धन्धाको रहस्य खुलेको छ । लुम्बिनी प्रदेश अन्तरगत दांग र बाँके जिल्लामा रहेका ट्राफिक प्रहरीले टुरको नाममा भारतीय दुताबासबाट अनुमति लिई नेपाली नम्बरका बसले यात्रु ओसारपोसार गर्दा ठुलो रकम लिने गरेको रहस्य खुलेको छ ।
स्रोत भन्छ–‘लुम्बिनी प्रदेश ट्राफिक प्रहरी एसपी कृष्ण प्रसाईको कडा निर्देशनमा दाँग र बाँके जिल्लाका ट्राफिक प्रहरीले कमाउ धन्धालाई सक्रिय रुपमा अगाडी बढाएका छन् । यसैक्रममा टुरको नाममा भारतीय दुताबासबाट अनुमति लिई नेपाली नम्बरका बसले यात्रु ओसारपोसार गर्ने कार्य गरेका छन् ।’
ध्वनिखबरलाई प्राप्त अपुष्ट जानकारी अनुसार टुरको नाममा दांगबाट भारतको विभिन्न सहरमा यात्रु ओसारपोसार गर्ने क्रममा बस मालिकले दांग र बाँके ट्राफिक प्रहरीलाई प्रति बसको रु. ३० हजार र बाँके बोर्डर जमुनाहामा रहेका गुण्डा नाइके शनिश्चर गुण्डा कम्पनीलाई प्रति बस रु. १० हजार दिई सहज वातावरण बसको सेवा दिइरहेको बताइएको छ । यसैगरी दांग र प्यूठान गरी टुरको नाममा यात्रु बोक्ने यस्ता करिब ३० भन्दा बढी बस छन् । रु. ३० हजारको दरले मासिक करिब रु. १० लाख चोखो आम्दानी गरेको अनुमान लगाउन सकिन्छ ।
शनिबार ना ५ ख ५०४३ नम्बरको बसले दांगबाट भारत टुरको नाममा यात्रु लग्यो । ध्वनिखबरले बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई साँझ करिब ६ बजे तिर यसबारेमा जानकारी दियो । बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयले नाटक गर्दै बाँके कोहरपुरको चप्परगौढीमा फिल्डिंग लगाएको नाटक गर्दै फिल्डिंग नै रचायो । तर उक्त बस अगैयाबाट हुलाकी राजमार्ग हुँदै राती करिब ९.१५ बजे नेपालगन्ज बसपार्क पुग्यो । बसपार्कमा ड्यूटीमा बसेका ट्राफिक प्रहरीले बस रोक्यो । यात्रु सबैको अपराधी जस्तै मोवाइलबाट फोटो पनि खिज्दै सम्पूर्ण अधुरो कागजात हे¥यो ।

अपराधी सरह ट्राफिक प्रहरीले यात्रुहरुको
मोवाइलबाट फोटो खिचिएको छ ।
यो खबर जिल्ला प्रहरी कार्यालय, बाँकेलाई जानकारी गराउँदै यात्रु अलपत्र हुन्छ भनी बसलाई भारत पठाउने नाटक समेत रच्यो । साथै ट्राफिक प्रहरीले ध्वनिखबर मिडियोलाई राती ९.४५ बजे बसमा सबै टुरिष्ट रहेको जानकारी समेत गरायो । ना ५ ख ५०४३ नम्बरको बस जमुनाहा बोर्डरमा राती ९.५९ बजे पुग्यो, त्यहाँ पनि जमुनाहा इप्रकाले कागजात हे¥यो । तर त्यही बेला ध्वनिखबर मिडियाको इन्फर्मर (सुराकी) ले भिडियो मार्फत यथार्थ तथ्य बाहिर ल्याएको छ । ना ५ ख ५०४३ नम्बरको बसमा यात्रा गरीरहेका सबैले टुर होइन काममा भारततर्फ जान लागेको भनी भिडियोमा प्रस्ट बताएका छन् ।
यसरी यस्ता बसले टुरको नाममा दांग र प्यूठानका जनतालाई ठगेको प्रष्ट देखिन्छ अर्थात ट्राफिक प्रहरीसँगै हातेमालो गरी जनतालाई ठग्ने काम भइरहेको छ । साथै टुरको नाममा नेपाली जनतालाई लगेर भारतको विभिन्न सहरमा छोड्दा अलपत्र पर्दा नेपाल सरकारलाई जनताको यकिन विवरण थाहा नहुने हुँदा ट्राफिक प्रहरीको मिलेमतोमा बस मालिकले मानव तस्करी गरीरहेको कानुन व्यवसायीले बताएका छन् । कानुन व्यवसायीको भनाई अनुसार यस्ता बस कम्पनी वा मालिक र ट्राफिक प्रहरीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयले संलग्न व्यक्तिहरुलाई हिरासतमा राखी ठगी र मानव तस्करीको मुद्दा चलाउन सक्छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दांगमा छ भने दांगबाट यस्ता कार्य भइरहेको छ । हिजो अबेर रातीबाट यो विषयमा गृह मन्त्रालय, नेपाल प्रहरी आईजीपी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयदेखि सबैलाई जानकारी भइसकेको भएता पनि यस विषयमा कोही कसैबाट आधिकारिक अभिव्यक्ति भने बाहिर आएको छैन ।