रोयल काठ फर्निचर उद्योगमा राजस्व अनुसन्धानको छापा

रोयल काठ फर्निचर उद्योगमा राजस्व अनुसन्धानको छापा
रोयल काठ फर्निचर उद्योगका संचालक मो. कफिल हलुवाई

नेपालगन्ज, २१ चैत्र । नेपालगन्ज वडा नं. १ खजुरा रोड स्थित रोयल काठ फर्निचर उद्योगमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरको छापा मारेको छ ।
राजस्व अनुसन्धान विभाग काठमाडौंका महानिर्देशक नारायण प्रसाद सापकोटाको कडा आदेश पछि कोहलपुर स्थित राजस्व अनुसन्धान कार्यालयले उक्त फर्निचर उद्योगमा छापा मारेको हो ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरले छापा मार्नु अघि आन्तरिक राजस्व कार्यालयबाट सबै विवरण लिनुको साथै कारोबारको डाटा लिएपछि शंकास्पद लागेपछि बैशाख २० गते बुधबार साँझ छापा मारेको छ । सशस्त्र प्रहरी बलसहित राजस्व अनुसन्धान कार्यालय कोहलपुरको एक टोली रोयल काठ फर्निचर उद्योगमा गई छापा मार्ने क्रममा फर्निचर उद्योगमा रहेको खरिद बिक्री स्टक खाताको साथै कारोबारमा प्रयोग हुने बैंकका चेक बुक नियन्त्रणमा लिएको छ । साथै फर्निचर पसलमा रहेका सामानको स्टक समेत टिपोट गरी लगेको स्रोतले बतायो ।
खरिद बिक्री खाता अनुसारको खरिद बिक्री नभेटिए २०० प्रतिशत जरिवाना लगाउनुको साथै बैंकिंग कारोबार, अडिट रिपोर्ट लगायतको सुक्ष्म अनुसन्धान हुने राजस्व अनुसन्धान कार्यालय कोहलपुर स्रोतले बताएको छ ।
बैशाख २० गते बुधबार उक्त फर्निचरको सबै फाइल लगेतापनि आइतबारबाट फाइल खोल्दै सुक्ष्म अनुसन्धान अगाडि बढाइने बताइएको छ । साथै जरिवानाको रकम अत्यधिक हुन पुग्यो भने फर्निचर उद्योग नै सिज हुने समेत स्रोतले दाबी गर्दै बतायो ।
राजस्व अनुसन्धान विभाग काठमाडौंका महानिर्देशकको कडा आदेशपश्चात मारिएको छापा भएकोले कोही कसैले कही कतै मिल्ने मिलाउने तथा कार्यालयले नबोलाएसम्म फर्निचर उद्योग तथा उनका सिफारिसकर्ताहरु कोहीसंग भेटघाट नहुने बताइएको छ । प्रधानमन्त्रीको कार्यालयले राजस्व अनुसन्धान विभाग हेर्ने भएकोले कोही कसैको सिफारिस मान्य नहुने तथा राजस्व अनुसन्धान विभाग काठमाडौंका महानिर्देशक नारायण प्रसाद सापकोटाद्वारा पटक पटक आफ्नो मातहतका कर्मचारीलाई कडा निर्देशन दिइरहने भएकोले अहिले सबै राजस्व अनुसन्धान कार्यालयका शाखामा इमानदारिता समेत देखिएको छ भने राजस्व अनुसन्धान कार्यालय कोहलपुर शाखामा समेत काम बिशेष नपर्दासम्म कुनै पनि व्यापारीलाई नबोलाउँदासम्म कार्यालयभित्र भेटघाटलाई पूर्ण रुपमा बन्द गरेको छ ।