काठमाडौं, ५ बैशाख । भारतसँगको खुला सिमानाका कारण तराई क्षेत्रका अधिकांश जिल्लाहरुमा भैंसी लगायत पशुको तस्करी हुने गरेको गुनासोसँगै ढुवानीमा मुलुकका विभिन्न नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकीको सेटिंगमा ब्रम्हलुट भएको खुलासा भएको छ ।
पशु सेवा विभागले पशु ढुवानीको लागि पश्ु ढुवानी मापदण्ड–२०६४ तयार पारेको भएपनि अहिलेसम्म सो मापदण्ड अनुसार काम भने नभएको पाइएको छ । पशु सेवा विभागले सबै जिल्लाहरुमा कार्यालय स्थापना गरेपनि मापदण्ड लागु भए नभएको विषयमा अहिलेसम्म आवाज निकाल्न समेत नसकेको भएपनि सुरक्षाकर्मीहरुको दायित्व रहेको भनी आफु पन्छिने कार्य मात्र गरेको देखिएको छ ।
यस विषयमा पशु सेवा विभागका महानिर्देशक डा. सम्झना कुमारी काफ्ले पाण्डे भन्नुहुन्छ–‘हाम्रो सबै जिल्लाहरुमा कार्यालयहरु छन् तर सडकमा पशु लोड गरी गुढ्ने ट्रकहरुमा चेकजाँच गर्ने प्रयाप्त मात्रामा कर्मचारीहरु छैनन् । यस विषयमा जिल्लाहरुमा रहेका सुरक्षा निकायले चासो देखाई कडा रुपमा चेकजाँच गर्नु पर्ने हो ।’
पशु ढुवानी मापदण्ड विपरित विभिन्न जिल्लाहरुबाट राजधानी छिरे पनि अहिलेसम्म पशु सेवा विभागबाट राजधानी छिर्ने चेकप्वाइन्ट नागढुंगा र थानकोट क्षेत्रमा छड्के चेकजाँचको लागि गएको भने छैन ।
पशुलाई सास्ती नहोस भनी पशु सेवा विभागले २०६४ नामकरण गरी मापदण्ड निर्माण गर्यो तर १४ वर्षसम्म त्यो मापदण्ड भने लागू भएको छैन ।
पशु ढुवानी मापदण्ड–२०६४ मा उल्लेख भएको केही बुँदामा ‘शारिरीक बनोट फरक फरक हुने विभिन्न जातका पशुलाई एउटै गाडिमा राखेर ढुवानी गर्नु हुंदैन, गाडीको अग्र भागतर्फ मुख फर्कने गरी गाडीमा चढाएर पशुको ढुवानी गर्नु पर्नेछ, साना चौपायाको तल्ला बनाइ ढुवानी गर्न सकिने छ । तर ठूला चौपायालाइ तल्ला बनाइ ढुवानी गर्न पाइने छैन, ढुवानी गर्ने गाडीमा पशुलाई अस्वाभाविक रुपमा शरीर, नाके डोरी, पुच्छर वा खुट्टा बाध्नु हुदैन, यातायातका साधनको भुई वा सतहमा ढुवानी गरीने पशु नचिप्लीने गरी करिब छ इन्च बाक्लो बालुवा, भुस वा पराल लगायतका उपयुक्त सामग्रीको सोत्तर हालेको हुनु पर्नेछ, चोट नलाग्ने गरी नरम वस्तु सहितको भित्ता आदिको व्यवस्था भएको हुनु पर्नेछ, पशु ढुवानी गर्दा गाडीमा जबरजस्ति कोचेर राख्नु हुंदैन ।’ स्पष्ट लेखिएको छ ।
यसैगरी पशु चौपाया अनुसारको ढुवानी गर्दाको साइज समेत उल्लेख गरिएको छ । ट्रकमा पशु चौपाया लोड गर्दाको साइज अनुसार गाई, भैंसी ०.८४ देखि १.२७ (वर्ग मिटर), पाडा बाच्छा ०.३ देखि ०.४ (वर्ग मिटर), सुँगुर–बंगुर ०.३ देखि ०.४ (वर्ग मिटर), भेडा बाख्रा ०.२ देखि ०.३ (वर्ग मिटर) हुनु पर्ने मापदण्ड छ ।
विभिन्न जिल्लाहरुबाट राजधानी छिर्ने भैसीको लागि १.२७ वर्ग मिटर तोकिएको अर्थात ४ वर्ग फुट हुन्छ । प्राय ट्रकहरुको साइज अनुसार एउटा ट्रकमा ४ देखि ८ थान मात्र ढुवानी गर्न सकिन्छ भने एउटा सामान्य ट्रकमा १८ देखि २४ थान भैसी लोड हुनुको साथै भैसीको नाक, पुच्छर, खुट्टामा डोरीले बाँधेर खुलेआम ढुवानी गर्दा पनि पशु सेवा विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न चेकप्वाइन्टले अहिलेसम्म कुनै वास्ता भने गरेको देखिंदैन । बाँके जिल्लाबाट राजधानी भैसी लोड गर्दा ट्रकको साइज अनुसार न्यूनतम ५० हजारदेखि ६५ हजार ट्रक भाडा तिर्नु पर्ने भएकोले एउटा ट्रकमा कोचाकोच लोड गरी विभिन्न चेकप्वाइन्टमा खर्चपानी दिएर मिलाउने गरेको एक ट्रकका चालकले ध्वनिखबरलाई बताए ।
यसैगरी बाँके जिल्लाबाट कोचाकोच गरी एउटा ट्रकमा २२ देखि ३० थान भैंसी लोड गरी दैनिक ५ देखि ८ ट्रक भैसी राजधानी आउने गरेको बाँके स्थित कुसुम क्षेत्रका युवाहरुले टेलिफोन गरी जानकारी दिएका छन् । दैनिक करिब २ सयको हाराहारीमा भैंसी बाँकेबाट राजधानी छिर्छ तर बाँके जिल्लामा यत्रो संख्यामा दैनिक भैसी उत्पादन भने नहुने कृषकहरुले ठोकुवा गरी बताउँछन् । खुला सिमाना हुँदै भारतबाट तस्करी हुँदै बाँकेको हवलदारपुर र जोगा गाउँ नजिकको भैसी बजार पुग्ने गरेको बताइएको छ ।
यसैगरी पशु सेवा विभागको पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ परिच्छेद ३ को १४ (१) (क) मा निकासी गर्न लागेको पशुको किसिम, जाति, प्रजाति र संख्याको विवरण सहित निकासी गरिने नाका सहित सम्भावित मिति बारे सम्बन्धित क्वारेन्टाइन अधिकृतलाई तीस दिन अगावै सूचना दिनु पर्ने उल्लेख भएपनि मिलेमतोमा आजको आजै भेटनरी अधिकृतबाट निरोगिताको प्रमाणपत्र दिएको समेत बाँके जिल्लाबाट अधिकांशको गुनासो रहेको छ ।