नेपालगन्ज, २१ कात्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य अर्थात सांसद पदको निर्वाचनमा बाँके क्षेत्र नं. २ मा अहिले ताजा अपडेट अनुसार नेपाली काँग्रेसको चुनाव चिन्ह रुखसँग जनता समाजवादी पार्टीको चुनाव चिन्ह छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलो झस्किएको अवस्थामा देखिएको छ ।
नेपाली काँग्रेस एउटा ठुलो राजनीतिक पार्टी भएको तथा टिकट वितरण पनि अन्तिम समयमा हुने भएकोले उम्मेदवारले पहिलेदेखि प्रचारप्रसार नगर्न सक्ने भएको कारण शुरुवाती दिनमा चर्चा कम हुने अनि विस्तारै ब्यापक चर्चामा आउनु पनि नेपाली काँग्रेसको गुण हो भन्दा अर्को अर्थ नलाग्ला । यसैगरी नोमिनेशन गर्ने दिन अर्थात कात्तिक २३ गते नेपाली काँग्रेस बाँकेको सांसद पदको लागि सुदिप नरसिंह राणालाई चयन गर्दै टिकट थमायो । बाँके काँग्रेसमा आपसी विवादलाई मिलाउन उम्मेदवार र पार्टीका बरिष्ठ नेताहरुलाई धौं–धौं भएता पनि अहिले नेपाली काँग्रेस एक ढिक्का भएर चुनावी मैदानमा होमिने वातावरण सृजना भएको महसुस गर्न थालिएको छ ।
मतदातामाझ नेपाली काँग्रेसको चुनाव चिन्ह रुख लिएर अगाडि बढेका सांसद पदका उम्मेदवार सुदिप नरसिंह राणाले नगरमात्र नभई गाउँघरमा समेत आफ्नो पहिचान बनाउन सफल देखिएका छन् ।
यसैबिच जसपाबाट उम्मेदवार भएका पुर्व मन्त्री मो. इस्तियाक राई र राप्रपाबाट उम्मेदवार भएका पुर्व मेयर डा. धवल सम्शेर राणाबिच विभिन्न सभा तथा कोण सभा होस वा सम्पर्क कार्यालय उद्घाटन नै किन नहोस एकले अर्कोलाई आरोप लगाउने भएका कारण बाँके क्षेत्र नं. २ का जनता अहिले रुखमा मतदान गर्ने सोच बनाएको पाइएको छ ।
जसपाबाट सांसद पदका उम्मेदवार मो. इस्तियाक राई दुई पटक सांसद पदमा विजयी भई तिन पटक मन्त्री बने भने राप्रपाबाट सांसद पदका उम्मेदवार डा. धवल सम्शेर राणा दुई पटक मेयर भएका थिए । मन्त्री र मेयर हुँदा भएका कमी कमजोरी अहिले मतदाताले सामाजिक संजाल रंगाएको तथा संचारकर्मी समेतले सामाजिक संजाल र समाचारबाट पुनः प्रकाशित गरेको पाइएको छ ।
प्रतिशतको हिसाबमा अन्य जिल्लाभन्दा बाँकेमा आचारसंहिता उल्लंघन कम भएता पनि आचारसंहिताको कुनै किसिमको अनुमगन भने गरेको देखिएको छैन । संचारकर्मीलाई लागु भएको आचारसंहिता अनुसार कुनै पनि उम्मेदवारको समर्थन र विरोध गर्न नपाइने उल्लेख भएपनि उम्मेदवारहरुबाट आचारसंहिता उल्लंघन भएको कारणबाट संचारकर्मीबाट आचारसंहिता पालना भएको भने पाइएको छैन । निर्वाचन आयोग काठमाडौं प्रवक्ता भन्नुहुन्छ–‘संचारकर्मीको लागि पनि आचारसंहिता छ, आयोगले संचारकर्मीको अनुगमनको जिम्मा प्रेस काउन्सिललाई दिएका छ । प्रेस काउन्सिलले अनुगमन गर्ने, स्पष्टीकरण सोध्ने जिम्मा उसैको हो । संचारकर्मीका हकमा अनुगमन गर्ने, रोक्ने तथा स्पष्टीकरण सोध्ने जिम्मा आयोगले जिल्लामा रहेका निर्वाचन कार्यालय, प्रहरी प्रशासनलाई दिएको छैन ।’