नेपालगन्ज, ०५ असोज । हालै मात्र नेपाल सरकार सडक विभागको नाममा लगत कट्टा गरिएको सडक दायाँबायाँको जमिनमा नेपालगन्ज उपमहानगरपालिकाले गैर कानुनी रुपमा टेण्डर आह्वान गरी ठेक्का खोलेको छ । लगत कट्टा नगरिएको बेला नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज जमुनाहा स्थित वडा नं. १६ भन्सार कार्यालय अगाडिको सडकसँग जोडिएको जमिनमा बार्षिक करिब रु. ६६ हजारमा ठेक्का दिँदै आएको थियो ।
यता भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज, बाँकेले २०७९/०१/१२ गते ज.ध. दर्ता श्रेस्ता कायम गरी लगत कट्टा गरी सडक डिभिजन नेपालगन्जलाई पत्राचार समेत गरेको छ । सडक डिभिजन भन्छ–‘जमुनाहादेखि भुजई गाउँ भाटभटेनीसम्म सडकको दायाँबायाँ २५–२५ मिटर लगत कट्टा भईसकेको छ ।’

भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज, बाँकेले लगत कट्टा गरीसकेको उक्त जग्गामा जबरजस्ती पाराले नेपालगन्ज उपमहानगरपालिकाले असोज १ गते मूल्य अभिबृद्धि कर बाहेक रु. ५ लाखमा २ वर्षको लागि टेण्डर आह्वान गरेको छ । टेण्डर आह्वान वा ठेक्का प्रणाली एक–एक वर्षको हुनु पर्नेमा नेपालगन्ज उपमहानगरपालिकाले हचुवाको तालमा २ वर्षको गरेको अधिकांश बुद्धिजीविको भनाई रहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राई जनता समाजवादी पार्टीको केन्द्रिय नेता तथा नेपालगन्ज उपमहानगरपालिकाको राजस्व परामर्श समितिमा जसपाको बलियो पकड भएको कारण संघिय सरकार अर्थात नेपाल सरकारको नीति नियम कानुनलाई बेवास्ता गर्दै नेपाल सरकार सडक विभागको नाममा लगत कट्टा भएको जमिनमा बलजफ्ती टेण्डर आह्वान गरिएको आशंका गर्न थालिएको छ ।
नेपाल सरकार सडक विभागको नाममा लगत कट्टा भएको जमिनमा कोही कसैले आम्दानीमूलक कार्यको लागि प्रयोग गर्न नपाउने भन्दै
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी गुरु प्रसाद अधिकारी भन्नुहुन्छ–‘लगत कट्टा भएको जमिनमा कोही कसैले आम्दानीमूलक कार्यमा प्रयोगमा ल्याउन पाउँदैन । बस बिसौनीको लागि सडक विभागले निशुल्क अनुमति दिन सक्छ । यदि कोही कसैले जबरजस्ती अवैध रुपमा प्रयोग गरेमा कानुन अनुसार कारवाही हुन्छ ।’
मंसिर ४ गते निर्वाचन मिति तोकिएसँगै भौतिक पुर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राई सांसद पदको लागि उम्मेदवार हुन । यता भने आफ्नै पार्टीको बचश्र्व भएको नेपालगन्ज उपमहानगरपालिकाको राजस्व परामर्श समितिको निर्णयको विषयमा अहिलेसम्म केही बोल्नु भएको छैन ।
मन्त्री राई दोधारमा : नेपाल सरकार सडक विभागको नाममा लगत कट्टा भएको जमिनको विषयमा मन्त्रालयकै सूचना अधिकारी गुरु प्रसाद अधिकारीले दिनु भएको अभिव्यक्ति अनुसार नेपालगन्ज उपमहानगरपालिका विरुद्ध एक्शनमा आउनु पर्नेमा आफ्नै पार्टीका नेता र कार्यकर्ता भएको कारण भौतिक पुर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राई अहिलेसम्म मौन बस्नु भएको छ । तत्कालिन मेयर डा. धवल सम्शेर राणाले गरेको हरेक क्रियाकलापको विषयमा आफ्नो अभिव्यक्ति दिने मन्त्री राई भने अहिले आफ्नै पार्टीका नेता र कार्यकर्ताको लागि मौन बसेको अधिकांशमा टिकाटिप्पणी हुन थालेको छ ।
पहिलो गाँसमा ढुंगा : हालै मात्र सरुवा भई आउनु भएका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाल रिजाललाई लगत कट्टा भईसकेको जमिनमा टेण्डन आह्वान गर्न नहुने थाहा हुँदाहुँदै आफैले हस्ताक्षर गरी टेण्डन आह्वानको सूचना समेत प्रकाशित गरेका छन् । सरुवा भई नेपालगन्ज आएकै बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईको नेपालगन्जस्थित निवासमा आशिर्वाद लिन समेत पुगेका थिए ।