नेपालगन्ज, १० भदौं । भदौं ७ गते करिब ९–१० बजेको आसपासमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय वालिकाको मृत्युपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाको ग्राम निकै तल झरेको पाइएको छ । विकास प्रेमी नेता भन्न रुचाउने तथा आसेपासे झोलेबाट आफुलाई विकास प्रेमी नेता भन्न मन पराउने मेयर डा. धवल सम्शेर राणाले त्रिभुवन चोकमा जडान भएको सिसि क्यामराको विषयमा वास्ता नराख्दा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय वालिकाको मृत्यु हुनुको साथै सिसि क्यामरा बिग्रीएको कारण मोटरसाइकल चलाउनेको बारेमा अहिलेसम्म कुनै अत्तोपत्तो नभएकोले स्थानीय जनताले विरोध जनाएका छन् ।
त्रिभुवन चोकमा सिसि क्यामरा जडान गर्दा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले भब्यताका साथै उद्घाटन गरेका थिए भने अब चोक चोकमा हुने गरेको कुनै पनि घटना दुर्घटनाको विषयमा कन्ट्रोल रुमबाट थाहा हुने बताएपनि सिसि क्यामरा जडानपछि मेयर डा. धवलले कुनै वास्ता नै नराख्दा अहिले मोटरसाइकलको ठक्करबाट ३ वर्षीय वालिकाको मृत्यु हुँदा पनि दोषीको पहिचान समेत हुन नसकेको स्थिती छ ।
यसैविषयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खाँले मेयर डा. धवलले यसको जिम्मेवारी लिनु पर्ने बताएका छन् । उनले भने–‘यो घटनाको सम्पूर्ण जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले लिनु पर्छ । उहाँले सिसि क्यामराको विषयमा वास्ता नगर्दा अहिले दोषीको पहिचान हुन सकेको छैन । मेयर डा. राणाको साथै वडा नं. ८ र ११ का वडा अध्यक्षका साथै नेपालगन्ज उद्योग वाणिज्य संघले समेत जिम्मेवारी लिनु पर्छ ।’
दुर्घटना ७ गते भयो तर अहिलेसम्म अपांग भई बिग्रीएर झुण्डिएको सिसि क्यामराबारे मेयर डा. धवल सम्शेर राणाले कुनै वास्ता नदेखाएको कारण पनि जनताबीच आक्रोश बढेको पाइएको छ । जनताको आक्रोश पोख्दै भन्छन्–‘दोषी पत्ता नलाग्दा मृत्यु भएकी ३ वर्षीय वालिकाको आत्मा रोई रहेको छ । वालिकाले न्याय मागी रहेको छ । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणालाई कुनै चासो नै छैन । यस्ता नेतालाई अब आउँदा निर्वाचनमा कुनै पनि हालतमा सहयोग गर्दैनौं ।’