आउँदो मेयरको निर्वाचनमा बाँकेमा राप्रपाका अभय र काँग्रेसका उमाबीच कडा प्रतिस्पर्धा हुने निश्चित

आउँदो मेयरको निर्वाचनमा बाँकेमा राप्रपाका अभय र काँग्रेसका उमाबीच कडा प्रतिस्पर्धा हुने निश्चित

नेपालगन्ज, ०४ भदौ । करिब ६ महिना पश्चात हुने नेपालगन्ज उपमहानगरपालिकाको मेयर लगायत पदको निर्वाचनको लागि राप्रपाबाट अभय कुमार बस्नेत र नेपाली काँग्रेसबाट उमा थापा मगर (हाल उपमेयर) बिच मात्र कडा प्रतिस्पर्धा हुने आंकलन गर्न थालिएको छ । हुन त यी दुबैले टिकट भने पाइ नसकेको भएपनि स्थानिय नगरबासीमा यी दुई नामलाई सहज रुपमा स्वीकारेको पाइएको छ ।
मेयर पदको लागि यी दुई पार्टीमा इच्छा राख्ने करिब आधा दर्जनभन्दा बढीले आफ्नो कसरत शुरु गरेको भएपनि राप्रपा हाई कमाण्डबाट अभय कुमार बस्नेतको नाम भने सबैभन्दा पहिलो नम्बरमा राखिएको छ भने नेपाली काँग्रेसको हकमा बाँके सुशील कोइरालाको क्षेत्र भएको कारण संशाक कोइरालाको भागमा मेयर उपमेयरको टिकटको जिम्मेवारी दिने कुराकानी अगाडी बढेको स्रोतले बतायो । भागबण्डामा संशाक कोइरालाको भागमा नेपालगन्ज उपमहानगरपालिका प¥यो भने उमा थापा मगरले मेयरको टिकट पाउने करिब करिब पक्का जस्तै भएको छ । साथै मेयरको लागि तयारी शुरु गर्ने भनी हाई कमाण्डबाट आदेश समेत भइसकेको जानकारीमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकामा उपमेयरको हैसियत काम गरीरहनु भएको उमा थापा मगरलाई मेयरको टिकट दिइयो भने पार्टीभित्र गुट उपगुटको षडयन्त्रपूर्ण राजनीति पनि समाप्त भएर जानेमा अधिकांश स्थानिय नेता कार्यकर्ताबीच कुराकानीको प्रमुख विषय समेत बन्न थालेको छ ।
यता राप्रपा बाँकेमा मेयरको टिकट वितरण विषयमा आन्तरिक वादविवाद शुरु भएको पाइएको छ । मेयर पदको लागि अन्य पार्टीका व्यापारिक नेतालाई राप्रपा बाँकेमा पार्टी प्रवेश गराई मेयर टिकट दिने जिल्लाका हाई कमाण्डको सोच भएको कारण अहिले पार्टीभित्र विवाद शुरु भएको बताइएको छ । यस विषयमा भने केन्द्रिय हाई कमाण्डहरुले सफा शब्दमा भनेका छन् ‘आफ्नो व्यक्तिगत स्वार्थको लागि अन्य पार्टीका नेतालाई पार्टी प्रवेश गराई मेयरको टिकट दिने सोच राख्नु एकदमै गलत मानसिकता हो । पार्टीभित्र लगानी गरेका जिल्लामा थुप्रा नेताहरु छन् । जिल्लामा रहेका पुराना नेताहरुलाई बाईपास गर्ने सोच त्याग्नु पर्छ । मेयर उपमेयरको टिकट दिने नदिने केन्द्रिय कार्यसमितिले निर्णय गर्छ, जिल्लाका हाई कमाण्ड भनाउँदाहरुले ध्वाँस नदेखाए हुन्छ ।’
यसैगरी हिजो राती करिब १०.३० बजे केन्द्रिय अध्यक्ष कमल थापाका एकदमै निकट नेताले फेसबुक मेसेन्जरमा भ्वाइस टक मार्फत कुरा गर्दै भने ‘बाँके जिल्लामा मेयर पदको लागि इच्छा राख्ने करिब आधा दर्जनको नाम आएको भएपनि सबैभन्दा चर्चित र बलियो उम्मेदवारको नाममा अभय कुमार बस्नेतको नाम छ । मेयरको टिकट दिने अहिले निश्चित भएको छैन तर चर्चित र बलियोलाई मात्र टिकट दिने हो । कसैले भन्दै वा कसैको सिफारिसमा टिकट वितरण गरिने छैन । कोही राप्रपामा पार्टी प्रवेश गर्छ भने स्वागत छ, पार्टी प्रवेश गर्ने वित्तिकै टिकट दिनु नै पर्छ भन्ने मानसिकता सबैले त्यागे हुन्छ ।’
राप्रपा बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरको इच्छा व्यक्त गरेका अभय कुमार बस्नेत भने नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचित पश्चात प्रवक्ताको हैसियतमा काम गरेको, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको बरिष्ठ उपाध्यक्षमा कार्यरत, खेलतर्फपनि प्रमुख पद लिई कार्य गर्नुको साथै विभिन्न सामाजिक संघसंस्थामा निस्वार्थ सेवा गरीरहेकोले चर्चित अनुहारमा रहेको पाइएको छ ।