काठमाडौं, २० मार्ग । बाँके जिल्लामा नेपाल कानुनको नीति नियम र मापदण्ड विपरित कार्य हुँदा पनि सम्बन्धित निकायहरु शित निन्द्रामा भएको अधिकांश जनताले बताउन थालेका छन् ।
गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयले प्रष्टका साथ क्रसर उद्योग र खोलामा जेसिभीको प्रयोग अवैध भनी अभिव्यक्ति दिँदा पनि बाँकेस्थित प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेवास्ता गरेको कारण जिल्लामा अवैध कार्यहरु दिनप्रति दिन बढ्दो क्रममा भईरहेको अधिकांश जनताले ठोकुवा समेत गरेका छन् ।
बाँकेको ढलैया खोलामा मापदण्ड विपरित जेसिभी डोजरको प्रयोग भई खोला दोहन भइरहेको विषयमा व्यापक रुपमा मिडियाले समाचार प्रकाशित गरेपछि गृह मन्त्रालयले खोला उत्खनन रोकेको थियो भने अहिले अनुमगन समितिको रिपोर्टको आधारमा शुक्रबारबाट खोलाबाट नदीजन्य पदार्थ निकाल्न आदेश दिइएको छ । खोलाबाट नदी जन्य पदार्थ निकाल्ने आदेश दिएसँगै मापदण्ड विपरित शुक्रबार राती १२ बजेदेखि विहान ६.२५ बजेसम्म ढलैया खोलामा जेसिभी प्रयोग गरी खोला दोहन कार्य भइरहेको त्यहाँका स्थानियले ध्वनिखबरलाई जानकारी गराएका छन् ।

ढलैया खोला नजिक नेपाल प्रहरीको चौकी हुनुको साथै सशस्त्र प्रहरीको विओपी छ तर नेपाल प्रहरी र सशस्त्र प्रहरीको अगाडि नै खुलेआम तरिकाले खोला दोहन हुँदा पनि कुनै पनि माथिल्लो निकायहरु शित निन्द्रामा बसे झैं मौन देखिनु अहिले रहस्यमय बन्दै गएको छ ।
सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल लुम्बिनी प्रदेश अन्तरगतको बाँके र बर्दियाको दौरामा भएपनि सशस्त्र प्रहरीले बाँकेमा आफुले निभाउनु पर्ने कार्य अर्थात अवैध रुपमा संचालित क्रसर उद्योग र खोला दोहन जस्तो अवैध कार्य रोक्नमा कुनै चासो देखाएको भने देखिएको छैन ।
यसैगरी बाँकेमा संघीय मामिला मन्त्रालयको मापदण्ड विपरित संचालित क्रसर उद्योगहरु संचालनमा रहेको पाइनुको साथै कुनै पनि निकायले कुनै चासो भने देखाएको देखिएको छैन । मापदण्ड विपरित संचालनमा आएका प्राय सबै क्रसर उद्योग संचालित नै रहेको पाइएको छ ।
यसैगरी भारतमा चल्ने बसहरुको नेपालगन्ज नगरमा खुलेआम अवैध बस टिकट काउण्टरबाट टिकट काट्ने र पहाडी क्षेत्रबाट आउने नेपाली यात्रुलाई खुलेआम लुट्दा पनि प्रहरी प्रशासन मौन नै देखिएको छ । यस विषयमा अवैध रुपमा टिकट बिक्री नगर्ने भनी जिल्ला प्रहरी कार्यालय, बाँकेमा लिखित कागज गरेपनि खुलेआम अवैध बस टिकट काउण्टरबाट टिकट काट्ने र यात्रुहरुलाई लुट्ने कार्य यथावत नै पाइएको छ ।
सिमा पारीको बजार रुपैडियाबाट गुजरातसम्मको लागि भारु दुई हजार टिकट दर भएपनि अवैध रुपमा संचालित बस टिकट काउण्टर ज्योति सिम्ताली टुर्स एण्ड ट्राभलले नेपाली यात्रुसँग रु. २ हजार ३ सय लिएको बताएका छन् । नेपाली यात्रुहरु लुटिएको र अवैध टिकट काउण्टरबाट टिकट बिक्री गरिएको जानकारी पाएको जमुनाहा इलाका प्रहरी कार्यालय पनि अहिले मौन जस्तो देखिएको छ ।



नेपालगन्जमा खुलेका टुर्स एण्ड ट्राभलले नेपाली यात्रुहरुलाई पठाउन मिल्छ भनी प्रहरीलाई तर्क दिएको भन्ने विषयमा एक प्रहरीले ‘खोई के गर्ने’ जवाब पनि दिए । तर यातायात व्यवस्था विभागका महानिर्देशकले भने भारतमा चल्ने बसहरुको टिकटको सन्दर्भमा नेपालमा कुनै पनि ट्राभल एण्ड टुर्सलाई इजाजत नदिएको तथा यस्ता गलत कार्यलाई सम्बन्धित जिल्लामा प्रहरी निकायले कडा कदम चाल्नु पर्ने समेत अभिव्यक्ति दिइसकेका छन् । नेपालमा खोलिएका टुर्स एण्ड ट्राभलले भारत वा कुनै पनि विदेशमा यात्रु पठाउन सक्ने तथा रामबहादुर भन्ने व्यक्तिलाई पठाउँछ भने रामबहादुर भन्ने व्यक्ति नै आउनु पर्ने नियम हुनुको साथै यस्तो प्याकेजमा पठाउने यात्रुहरुको टिकट पनि काट्नु अवैध कार्य भएको यातायात व्यवस्था विभागका एक उच्च स्तरीय अधिकृतले बताए ।