काठमाडौं, १५ कात्तिक । बाँके जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र प्रहरी उपरिक्षक ओमबहादुर राना दिनप्रति दिन गलत कार्य गर्ने समूहहरुबीच फलामे चिउरा सावित भएका छन् ।यी दुई जनाको संयुक्त टिम बाँकेमा सरुवा भई आएपछि अवैध क्रसर उद्योग, भूमाफिया, फरार अपराधी पक्राउ, तस्करी र जुवा अड्डा तहसनहस लगायतको कार्यबाट अहिले बाँके जिल्लामा अवैध र गलत कार्य गर्नेबीच त्राही त्राही मचिएको अधिकांशको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी रानाको अगुवाईमा नेपालगन्जको इतिहासमैं पहिलो पटक करिब ३० लाख नगदसहित १० जना करोडपति जुवाडेहरु पक्राउ भएपछि अहिले देशव्यापी रुपमा चर्चाको विषय बन्न पुगेको छ ।
प्रहरीले करोडपति जुवाडेहरुको साथ करिब ३० लाख नगद रंगेहात पक्राउ गरेपछि ‘त्यत्रो रकम कहाँबाट आयो’ अहिले अधिकांशले सम्पत्ति शुद्धिकरणको माग अघि सारेका छन् ।
१० करोडपति जुवाडे पक्राउ पर्नासाथ विभिन्न च्यानलबाट बाँकेका सिडियो कुरुम्बाङ र एसपी रानालाई सिफारिस पनि आयो । उनीहरुलाई रिहा गराउन विभिन्न च्यानल अहिले पनि सक्रिय भएको स्रोतको भनाई रहेका छ ।
जस्तो सुकै च्यानलको सिफारिस आएपनि अहिले बाँकेका सिडियो कुरुम्बाङ र एसपी राना टसमस समेत गरेका छैनन् । सिफारिसको क्रम आउने सँगै पक्राउ परेका जुवाडेहरुलाई थप कडा निगरानीमा राखिएको छ । जुवाडेहरुलाई बाहिरी कोहीले पनि भेट्न नपाउने र खाना पनि प्रहरीको क्यान्टिनबाट नै उपलब्ध गराइएको छ । तर फाटफुटमा भने स्थानिय केही नेताले पक्राउ परेको जुवाडेहरुलाई भने भेट्न पाएको स्रोतले बतायो ।
प्रहरीले १० करोडपति जुवाडेहरुलाई पक्राउ गरेको आज ३ रात बितिसक्यो । प्रहरीले बयान लिने कार्य र अनुसन्धान जारी नै राखेको छ । प्रहरीको अनुसन्धानको क्रममा ठुलो रकम बरामद भएपछि त्यत्रो रकम कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान गरीरहनुको साथै १० मध्ये केहीको सम्पत्ति शुद्धिकरण आयोगमा थप अनुसन्धानको लागि सिफारिस गर्ने योजनामा रहेको स्रोतले बतायो । साथै भित्री रुपमा बाँकेका सिडियो कुरुम्बाङ र एसपी राना पक्राउ परेका जुवाडेहरुलाई सम्पत्ति शुद्धिकरणको अनुसन्धान हुनु पर्ने पक्षमा रहेको स्रोतले बतायो ।

यता सम्पत्ति शुद्धिकरण आयोगका सुचना अधिकारी विनोद लामिछानेले ध्वनिखबरसँग कुरा गर्दै भन्नुभयो– “जुवा खालबाट ठुलो रकम बरामद हुनु अनुसन्धान कै विषय हो । आयोग आफैले पनि छानबिन गर्न सक्छ । प्रहरी वा सरकारी वकिल कार्यालय अथवा प्रहरी र सरकारी वकिल कार्यालयबाट सिफारिससहित संयुक्त रिपोर्ट आयो भने १०० प्रतिशत छानबिन हुन्छ । आयोगको अनुसन्धान शुरु हुन्छ । दोषी ठहर भएमा सम्पत्ति जफत, जफत गरिएको सम्पत्तिको डबल जरिवाना र १० वर्षको कैद सजायसम्म हुन्छ ।”
प्रहरीले पक्राउ गरेका १० जना करोडपति जुवाडे भनाउनेहरुमध्ये केहीले जुवामा आफ्नो सम्पत्ति लुटाएको, केही दसैंको अवसरमा साथीभाईसँग रमाइलो गर्न गएको बताइएको छ । केही पेशेवर नै हुनुको साथै जुवाबाट व्यापार र अलिशान घर निर्माण गरेको कुरा प्रहरीको अनुसन्धानमा रहेका स्रोतले बतायो ।
सामान्य जुवा खालबाट पक्राउ परेकाहरुलाई प्रहरीबाट कडाई नहुनेमा अहिले प्रहरीको रवैया भने कडाईमा परिवर्तन भएको छ । प्रहरीको कडाई निगरानीको कारण अहिले १० करोडपति जुवाडेहरुको हरिबिजोक समेत भएको बताइएको छ । प्रहरीले आफ्नो अधिकार क्षेत्रमा रही अनुसन्धान गर्ने कार्यलाई तीब्रता दिएको छ भने अनुसन्धानकै क्रममा पेशेवर जुवाडे नभएकाहरुको मिसिल फाइल सरकारी वकिल कार्यालय पठाउनु पर्ने र अनुसन्धानको क्रममा जुवाबाट नै करोडपति र अर्बपति हुनेमाथि थप अनुसन्धान गरी कानुन अनुसार कारवाही हुनु पर्नेमा बाँकेका जनता एक मत देखिएका छन् ।