काठमाडौं, ०९ कात्तिक । बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरिक्षक ओमबहादुर रानालाई १ नम्बरमा एसएसपी बढुवा हुन नदिन प्रहरी भित्र र बाँके जिल्लाबाट भगाउनको लागि राजनीतिक व्यक्तिहरुको आशिर्वादमा रहेका बाँकेका केही ठुला झोले तस्करहरुको गिरोह लागेको बुझिन आएको छ ।
बाँके जिल्लामा अहिले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरीका एसपी ओमबहादुर राना सरुवा भएलगत्तै भन्सार छली गरी सामान ल्याउने, खोला दोहन, काठ तस्करी लगायत भूमाफियाहरुमाथि लगाम लगाएपछि करोडौंको घाटा व्यहोर्नु परेको कारण जिल्लाबाट एसपी रानाको सरुवाको लागि रकमको ठुलो बिटो लिई काठमाडौंसम्म धाएको समेत स्रोतले बतायो ।

ध्वनिखबर डट कमको टिमले प्रहरी प्रशासनमाथि निगरानी राख्दै नेपाल सरकारको नीति नियम अनुसारको कार्यको लागि घचघच्याउने कार्य गरीरहे अनुसार बाँकेका सिडियो कुरुम्बाङ र एसपी रानाको टिमले २४ वटा अवैध क्रसर उद्योग बन्द गराउनुको साथै भूमाफियाको लागि छानबिन प्रक्रिया समेत अघि बढाएका थिए । यसैगरी खोला दोहन रोक्नको लागि सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयले समेत बाँकेको ३० नम्बर गणलाई विशेष कडाईका साथ आदेश समेत दिएको कारण पनि बाँकेस्थित सशस्त्र प्रहरी गणको टोली र सशस्त्र प्रहरीको केन्द्रिय ब्यूरो ‘इन्ट’ टिमले समेत गिद्दे नजर राखेको अवस्थामा एसपी रानाको एकल निर्णयमा खोला दोहनमा प्रति ट्रिपर रकम लेनदेन गर्न सकिने दिवास्वप्न भएपनि कपोकल्पित र सुनियोजित समाचारहरु एकपछि एक गर्दै बाहिर प्रकाशित गरी बदनाम गराउने असफल प्रयास गरीरहेको बुझिएको छ ।
यसैगरी करिब करिब तिहार लगत्तै एसपीहरुको बढुवाको लागि नेपाल प्रहरी प्रधान कार्यालय तयार रहेको अवस्था तथा एसपी भई सकेपछि एसपी रानाको छबी राम्रो हुँदै जानुको साथै राम्रो कार्य गरेवापत प्रदेश नं. ५ अर्थात लुम्बिनी प्रदेशमैं एक नम्बरको सम्मान पाएपछि प्रहरीभित्र उनलाई गिराउन तस्करहरुसँग मिलेमतोमा प्रहरीभित्रबाट नै विभिन्न मिडियाबाजी भइरहेको विषयमा प्रहरीभित्र नै अहिले व्यापक चर्चा चल्न थालेको छ ।

तस्करहरुको गिरोहसँग होस्टेमा हैसै गर्दै प्रहरी भित्रको संयुक्त प्रयासमा अहिले दैनिक जस्तो एसपी रानालाई कहिले जुवा अड्डा र कहिले खोला दोहन लगायत विभिन्न घटनामा कपोकल्पित रुपमा नाम जोड्दै बदनाम गराउन असफल प्रयास गरिएको समेत बुझिन आएको छ ।
बाँकेका सिडियो कुरुम्बाङ, एसपी राना र सशस्त्र प्रहरी ३० नं. गणको सक्रियता भएको कारण अहिले नेपालगन्ज भन्सार कार्यालयले ३ महिनामैं लक्ष्यभन्दा करिब डेढ सय करोड रकम संकलन गर्न सफल भएको पनि देखिएको छ । बाँके जिल्लामा सिडियो कुरुम्बाङ र एसपी रानाको आगमनसँगै गरेको कार्यहरुको स्थानिय जनताले सम्मान गरीरहेको अवस्थामा प्रहरीभित्र र तस्करहरुको लस्कर पावर र पैसाको बलमा एसपी रानाको छबी बिगार्न सक्रिय रुपमा लागेको बुझिएको छ । यस विषयमा एसपी राना विरुद्ध प्रहरीभित्र बढुवाको चलखेलमा लागेका टिम र झोले तस्करहरुको खोजी गरी नेपाल प्रहरी प्रधान कार्यालयले तत्काल सुक्ष्म छानबिन गर्न आवश्यक समेत देखिएको छ ।