नेपालगन्ज भन्सार सुचारु : भन्सार एजेन्टसामु प्रहरी प्रशासन झुक्यो : गलत गर्ने बाँके घुमुवा प्रहरीलाई कारवाहीको पर्खाईमा व्यापारी

नेपालगन्ज भन्सार सुचारु : भन्सार एजेन्टसामु प्रहरी प्रशासन झुक्यो : गलत गर्ने बाँके घुमुवा प्रहरीलाई कारवाहीको पर्खाईमा व्यापारी

काठमाडौं, १ कात्तिक । बाँके जिल्ला प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले बर्दीको आडमा ऐनभन्दा बाहिर गई भन्सार बुझाई प्रज्ञापन पत्र लिई आएको माल वाहक ट्रकलाई जबरजस्ती आफ्नो कब्जामा लिएको विषयमा विवाद उत्पन्न भई नेपालगन्ज भन्सार कार्यालयका भन्सार एजेन्टले शुक्रबारदेखि पेन डाउन विरोध गरेपछि अवरुद्ध भएको भन्सार आजबाट सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत घुमुवा प्रहरीको समूहले स्थानिय न्यूरोड स्थित सामान अनलोड गर्ने क्रममा भन्सार राजस्व बुझाएको प्रज्ञापन पत्र हुँदाहुदै पनि ट्रक नं. UP40T 8926 नम्बरको ट्रकमा आफ्नो कब्जामा लिनुका साथै ट्रक चालक र अन्य दुई जनालाई हथकडी लगाई जिल्ला प्रहरी कार्यालयमा रातभर राखी भोलि पल्ट मात्र राजस्व अनुसन्धान कार्यालय, बाँकेको कोहलपुरमा बुझाएपछि नेपालगन्ज भन्सार कार्यालयका भन्सार एजेन्टले बाँके प्रहरीको ज्यादती भएको भन्दै नाराबाजी ‘प्रहरी प्रशासन मुर्दाबाद’का साथ सम्पूर्ण काम बन्द गराएका थिए ।
कम मूल्यांकन भएको आरोप लगाई बाँके घुमुवा प्रहरीले जबरजस्ती सामान लोड गरिएको एक थान ट्रकसहित ३ जनालाई रातभर कैदी जस्तो राख्नुको साथै ट्रकमा भएको सामान समेत खोतल्ने कार्य गरेको आरोप लगाइएको छ ।
बर्दीको आडमा जबरजस्ती कब्जामा लिएको एउटा ट्रक जिल्ला प्रहरी कार्यालयमा लगिएकोमा राजस्व अनुसन्धान कार्यालयमा बुझाउँदा दुई ट्रकमा सामान पठाएको कुराले स्थानिय लगायत भन्सार एजेन्टहरु आक्रोशित भएका थिए ।
बाँके जिल्ला प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले स्थानिय व्यापारीलाई विभिन्न निहुँमा दुःख दिने गरेको समेत स्थानिय व्यापारीहरुले आरोप लगाएको पाइएको छ ।
नेपालगन्ज भन्सार कार्यालय ठप्प हुँदा दैनिक करोडौंको राजस्व घाटा हुने भएपछि राजधानीबाट दबावमूलक फोनकल गएपछि स्थानिय प्रहरी प्रशासन तातिएर भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाको अध्यक्षता र सहायक सिडियो दीर्घराज उपाध्यायको उपस्थितीमा भन्सार एजेन्टले अघि सारेका ३ मागलाई सम्बोधन गरिएपछि ठप्प भएको नेपालगन्ज भन्सार कार्यालय सुचारु भएको हो ।

आज भएको बिशेष बैठकको माइनुटमा बुँदा नं. १ मा अब उप्रान्त भन्सार ऐन २०६४ को दफा ३३ को प्रावधानलाई सुरक्षा निकायले अक्षरस परिपालन गर्ने सर्वसम्मत निर्णय गरिएको उल्ल्ेख छ भने बुंदा नं. २ मा मिति २०७७/६/२७ गते नेपाल प्रहरीले सुचनाको आधारमा नियन्त्रणमा लिएको UP40T 8926 को मालवाहक गाडी र सोमा लोड भएको मालवस्तु तुरुन्त राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने र सम्बन्धित निकायले प्रचलित कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर आवश्यक कारवाही गर्ने निर्णय गरिएको छ ।
आज भएको माइनुट अनुसार बर्दीको आडमा सामानको भन्सार भएको गाडीलाई जबरजस्ती कब्जामा लिने बाँके घुमुवा प्रहरीलाई सरोकारवाला निकायले कहिले कारवाही गर्छ भन्ने विषयमा स्थानिय व्यापारीहरु पर्खाईमा रहेको बताएका छन् ।
ध्वनिखबर डटकमले केही दिन पुर्व यस विषयमा लाइभ प्रशारण गर्ने क्रममा अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले भन्नु भएको थियो–‘भन्सार बुझाई प्रज्ञापन पत्र लिई आउने मालवाहक गाडीलाई नेपाल प्रहरीले चेकजाँच र कब्जामा लिन सक्दैन । भन्सार चोरी गरी ल्याएको सामान छ भने मात्र नेपाल प्रहरीले चेकजाँच र कारवाही गर्न सक्छ ।’