काठमाडौं, २२ कात्तिक । पशुसेवा विभाग काठमाडौंका महानिर्देशक डा. बंशी शर्माले नेपालभित्र पशुचौपाया ओसारपोसार गर्न कानुनले दिएको अधिकारअनुसार व्यवसाय गर्न सक्ने भएको भएपनि यहाँ विभिन्न जिल्लाका प्रहरी प्रशासन र भन्सार कार्यालयले अनावश्यक दुख दिइरहेको गुनासो यथावत नै छ ।
चैत्र ११ गतेदेखि मुलुकमा लकडाउन भएयता भारतबाट पशुचौपाया नआएको स्थिती कायम रहेको र नेपालभित्र किसानहरुले उत्पादन गरेको पशुचौपाया बिक्री नहुँदा थप कठिनाई झेल्नु परेको एकातिर छ भने विभिन्न जिल्ला नाकाहरुमा यो व्यवसायलाई प्रहरी प्रशासनले अनावश्यक दुख दिई रहेको पाइएको छ ।
प्राय पशुचौपाया सुर्खेत, बर्दिया, बाँके र कैलाली लगायतका जिल्लाबाट लोड भई हेटौडा र काठमाडौं पुग्दासम्म बिचमा रहेका जिल्लाका नाकाहरुका प्रहरीले आफ्नै नियम बाँधेर दुख दिने गरेको व्यवसायीहरुको गुनासो गरेको पाइएको छ ।
तर महानिर्देशक डां बंशी भन्नुहुन्छ–‘नेपालभित्र जुन सुकै कुनाबाट पनि पशुचौपाया ओसारपोसार गर्न पाइन्छ । ओसारपोसार गर्दा सम्बन्धित वडा कार्यालयको सिफारिस र दर्ता भएको पशु क्वारेन्टाइनले निरोगी भएको प्रमाणको आधारमा बिच बाटोमा कसैले पनि रोक्न पाउँदैन ।’
व्यवसायी भन्छन्–‘विगतमा विभिन्न जिल्लाहरुमा प्रहरीबाट हुने गरेको परेशानीको कारण सर्वोच्च अदालतमा मुद्दा दर्ता भई व्यवसायीहरुको पक्षमा फैसला हुँदा पनि अहिलेसम्म प्रहरीहरुले पुरानै डर्राको शैली अपनाएका छन् ।’
अहिले पनि विभिन्न नाकाहरुमा प्रहरीले पशुचौपायाका ट्रक रोकी भन्सार कार्यालय बुझाउने धम्की सहित कार्य गर्दा व्यवसायीहरु थप मर्कामा परेको गुनासो गरेका छन् ।
प्रहरीले यसरी नै पटक पटक व्यवसायीहरुलाई दुख दियो भने पशु सेवा विभागले गृह मन्त्रालयमा पत्राचार गर्न बाध्य रहेको एक अधिकृतले ध्वनिखबरलाई बताए ।